लोप्साङ लामा समातिएपछि खुलेको ‘हाइप्रोफाइल मर्डर’को नालीबेली (भिडियोसहित)

–रुपक कुलाल
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या प्रकरणमासंलग्न मुख्य ३ सुटर एक वर्षपछि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरी फरार सार्प सुटर अम्बरबहादुर राना मगर, लोप्साङ राई र रोशन बुढाथोकीलाई झापाको काँकडभिट्टाबाट पक्राउ गरेको हो ।

२०७४ असोज २३ गते सोमबार नयाँ बानेश्वरस्थित ठूलो खरिबोटमा गौचनमाथि गोली प्रहारमा तीनै जना संलग्न भएको प्रहरीको दाबी छ । बानेश्वरको प्रयाग चोकमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई गोली प्रहार गरिएको थियो । पक्राउ परेका तीनै जनालाई महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

अमरबहादुर राना सेनाका भगौडा हुन् । आपराधिक समूहमा सामेल भएपछि उनी सार्प सुटर बनेका थिए । २०७३ पुस ४ गते युवा संघ नेपालका रुपन्देही जिल्लाका कार्यबाहक अध्यक्ष दुर्गा तिवारी हत्या, यस्तै गौरीघाटमा गुन्डा नाइके दावा लामालाई घाइते हुने गरी गोली प्रहार र गौचनको हत्यामा राना संलग्न रहेको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।

लोप्साङ लामासहित तीन सार्प सुटर समातिएको घटनासहित जनता टेलिभिजनको कार्यक्रम ‘सिएमडब्लु’ को यो एपिसोड हेर्नुहोस्ः

यसरी विस्तार भएको रहेछ समीरमान बस्नेतको नेक्सस
प्रहरीले पक्राउ परेका तीनै जना गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगी भएको जनाएको छ । उनीहरु समिरमानकै निर्देशनमा आपराधिक काममा संलग्न रहँदै आएको प्रहरीको दाबी छ । तीन जनामध्ये अम्बर बहादुर राना गुन्डा नाइके समिरमान सिंह बस्नेतका विश्वासपात्र भएको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ गरेका लोप्साङ भनिने झापा बिर्तामोडका सोम तामाङ पनि समीरमान बस्नेत समूहका सार्प सुटर हुन् । लोप्साङ विदेशमा बसेर नेपालमा रहेका व्यक्तिलाई फोनमार्फत् फिरौती माग्थे । तिवारी हत्या प्रकरणदेखि गुन्डा नाइके लामासम्मलाई गोली हानिएको जिम्मेवारी फोनमा लिने लोप्साङ नै थिए ।

प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन र समीरमानसिंह बस्नेतको मुख्य योजनामा गौचनमाथि गोली प्रहार भएको थियो । गौचन हत्यामा बस्नेतसहित राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकी पक्राउ परिसकेका छन् ।

चरी, राधे, दाबा पनि समीरकै टार्गेटमा
गौचन हत्या आरोपमा कात्तिक १२ गते पक्राउ परेका अभियुक्तहरुले एकपछि अर्को गर्दै हाइप्रोफाइल मर्डर रहस्य खोलेका छन् । पक्राउ परेका रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामाको बयानपछि हत्याकाण्डका रहस्य एकपछि अर्को गर्दै खोलेका हुन् । उनीहरुको बयानलाइ आधार मान्ने हो भने समीरमान, कुमार घैंटे, चरी पहिला एउटै समूहमा रहेर गुण्डागर्दी गर्थे । लेनदेन विवाद र चरीको रवाफ बढ्न थालेपछि समीरमानले चरीलाई साइजमा ल्याउन गोली हान्ने योजना बनाएका थिए । गोली हान्न तयार पारिएको थियो अम्बरबहादुर रानामगरलाई । जसलाई गौचन हत्यामा अपराध महाशाखाले पक्राउ गरिसकेको छ । त्यसबेला उनी बहालवाल सेना थिए । अम्बरले बयानमा भनेका छन्, चरीलाई समीरकै योजनामा मैले गोली हानेको हुँ । राधेलाई आर्थिक प्रलोभन देखाएर समीरले आत्मसमर्पण गर्न लगाएका थिए । बहालवाल सेनामै रहेकाले पक्राउ पर्ने र सबै पोल खुल्ने डरले चलाखीपूर्ण तरिकाले राधेलाई समीरमानले आत्मसमर्पण गर्न लगाएको अनुसन्धानबाट खुलेको छ ।

चौथो प्रयासमा मारिए गौचन
अपराध महाशाखाले चार जनालाई पक्राउ गरेपछि गौचन हत्याको पर्दा पनि खुल्दै गएको छ । अनुसन्धानअनुसार चार पटकसम्म गौचन हत्या प्रयास भएको थियो । समीरको समूहलाई जसरी पनि आतंक सिर्जना गरेर पैसा असल्नु थियो । समीरको समूहले त्यसपछि टार्गेटमा मिलन चक्रेदेखि गुण्डा नाइके दावा लामासम्म थिए । उनीहरुलाइ मार्ने प्रयास पटकपटक असफल भएको थियो । गुण्डानाइके दावा लामामाथि दिव्य पार्टी प्यालेस एन्ड हस्पिटालिटी गौरीघाटमा जिम गर्न जाँदै गर्दा २०७३ चैत २९ गते गेटमै गोली हानियो ।

दावा घाइते भएपछि ‘घाइते बाघ’लाई राख्नु हुँदैन–सिध्याउनुपर्छ भन्दै फेरि उनैलाई टार्गेट बनाइयो । त्यसको डेढ महिनापछि अम्बरलाई नै दावाको रेकी गर्न पठाइयो । दावा देशबाहिर भएको थाहा पाएपछि योजना सफल हुन सकेन ।

राजदरबारको पेस्तोल गुण्डाको हातमा !
समीरकै योजनामा गौचनलाई अम्बरले गोली प्रहार गरेका थिए । गौचनलाई मारे बोराका बोरा पैसा आउँछ भन्दै समीरले आफूलाई गोली हान्न लगाएको अम्बरले स्वीकारेका छन् । गौचन हत्यामा संलग्न अजय थापा र गंगा लिङ्देन अझै फरार छन् । सीआइबीले पक्राउ गरेर सार्वजनिक गर्दा पनि मुख्य योजनाकार समीरले गौचनसँगको लेनदेनको विवाद भएपछि हत्या गरेको बताएका थिए । गौचनको हत्यामा समीरले अम्बरलाई पेस्तोल उपलब्ध गराएका थिए । अर्को पेस्तोल भने भारतबाट ल्याइएको थियो । समीरले उपलब्ध गराएको ९ एमएमको पेस्तोल भने राजदरबारको भएको प्रहरी स्रोतको दाबी छ । दरबारको पेस्तोल कसरी समीरको हातमा पुग्यो भन्ने चाहिँ खुलिसकेको छैन ।

गौचनमाथि तीन गोली प्रहार
२०७४ असोज २३ गते सोमबार दिउँसो ३ नबज्दैको घटना हो । बा १३ च ४९४८ नम्वरको गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन शान्तिनगरस्थित घरबाट निस्किए । घरबाट निस्केर ३०० मिटर अगाडि बढेका उनको गाडीमा अचानक कसैले ईँट प्रहार ग¥यो । त्यसपछि गाडि रोकियो, त्यसपछि एक जनाले गौचनमाथि गोली प्रहार गरे । गौचनको छाति र पेटमा तीन गोली लागेको थियो । गोली लागेपछि अचेत गौचनलाई मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगियो । अस्पताल लगिएको केहीबेरमै डाक्टरले गौचनको मृत्यु भइसकेको घोषणा गरे । यता गौचनको घरपरिवार घरमुलीको मृत्युको खबरले भावविहल बने । घटनालगत्तै प्रहरीले चारैतिर चेकजाँच शुरु ग¥यो । काठमाडौंबाट बाहिरिने सबै नाकामा चेकजाँच शुरु भयो । प्रहरीले गोलीप्रहार भएको घरनजिकैको सिसी टिभी फुटेज केलाउन थाल्यो । सिसीटिभी फुटेजमा हत्यारा भाग्दै गरेको देखियो ।

समातिए समीरमान
प्रहरीले घटनाका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतलाइ २०७४ मंसिर १६ गते चितवनबाट पक्राउ ग¥यो । उनलाइ गौचन र दुर्गा तिवारीको हत्याको प्रमुख योजनाकार भएको प्रहरीले जनाएको थियो । दुवैको हत्या योजना आफूले बनाएको र गोली हान्ने लोप्साङ लामा भएको बयान दिएका थिए ।

गौचन मारिनुका चार कारण
प्रहरीले समीरमानसिंह बस्नेतले गौचन हत्या गर्नुको चार कारण खुलाएको थियो । प्रारम्भिक अनुसन्धानक्रममा मृतक शरदकुमार गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनी गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ घैँटेमार्फत २ करोड ५० लाख रुपैयाँ लिएको खुलेको थियो । घैँटेबाट गौचनले लिएको साढे २ करोडमा समीरमानको १ करोड रुपैयाँ थियो । घैँटेको मृत्युपछि गौचनलाइ समीरमानले आफ्नो पैसा दिन माग गरेका थिए । तर गौचनले दिएनन् । त्यसपछि उनीहरुबीच विवाद बढ्दै गएको थियो । यस्तै उनीहरुबीच विवाद बढ्नुमा हुलाकी राजमार्गको ठेक्का पनि थियो । पटकपटक पैसाको मागसहित ज्यान मार्ने धम्की आउँदासमेत बेवास्ता गरेका कारण उनले ज्यान गुमाउनु परेको थियो ।

शरदकुमार गौचन हत्या प्रकरणमा जनता टेलिभिजनको कार्यक्रम बाइलाइनमा प्रसारित यी सामग्रीहरु पनि हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…