छठ महिमा र विधिविधान

समाजमा भाइचारा, प्रेम र सहिष्णुता अभिवृद्धिको द्योतक महान छठ पर्वको रौनक तराईमा शुरु भएको छ । एक दशकअघिसम्म तराईमा मात्र हर्षोल्लासका साथ मनाइने छठ देशका विभिन्न भागमा मनाउन थालिएको छ । श्रद्धा र निष्ठासहित गरिने सूर्य पूजाको सांस्कृतिक पर्व छठ विभिन्न समुदायले विधिविधान पालन गरी मनाउँछन् ।

कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा मनाइने छठको विधिविधान ४ दिनको हुन्छ । पहिलो दिन ‘अरवा अरबाइन वा नाहाईखाई’ भनिन्छ । दोश्रो दिन ‘खरना’ हुन्छ । तेश्रो दिन मुख्य उपासना र पूजाका दिनलाई ‘सन्ध्या अघ्र्य’ र चौथौ दिनलाई ‘पारन’ भनिन्छ । छठको मुख्य व्रत बस्ने दिन २४ घण्टासम्म निराहार बसेर उपासना गर्ने व्यक्तिले पहिलो दिनदेखि नै नियम निष्ठा पालन गर्नुपर्छ । छठमा पवित्रता र चोखोनितोलाई अति महत्व दिइन्छ । चतुर्थीकै दिन व्रतालुले संकल्पसहित उपलब्ध भएसम्म नदी, पोखरी, तलाउजस्ता जलाशयमा अन्यथा इनार वा अन्य पानीपधेँरोमा स्नान गरी शुद्ध हुनुपर्छ । व्रत बस्ने संकल्प लिएकाले त्यस दिन उसिना चामल, माछामासु, लसुन, प्याज र कोदो जस्ता खाद्य पदार्थ खान हुँदैन । कसैको जुठो खान हुँदैन । शुद्ध, चोखो र सात्विक र निरामिष भोजन खानु पर्छ ।

दोश्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘खरना’ भनिन्छ । खरना छठको अघिल्लो दिन गरिने विधिविधान हो । ‘खरना’का दिन व्रतालुहरु सूर्योदयदखि सूर्यास्तसम्म निर्जल व्रत बस्छन् । सन्ध्याकालमा नुहाएर पवित्र हुन्छन् । घरको पूजाकोठामा माटोको नयाँ चुल्हो बनाइन्छ । चुल्होमा ‘प्रसाद’ बनाइन्छ । ‘प्रसाद’ का रुपमा विशेष गरी केरा, सख्खर र दूधबाट बनाइएको ‘खीर’ पकाइन्छ । गाईको गोबरले लिपपोत गरी ‘पिठार’ ( अलुवा चामल पिसेर बनाइएको पिठोको घोल) ले भूमि पवित्र बनाइन्छ । तत्पश्चात चन्द्रमालाई खीरको अघ्र्य दिएर प्रसाद ग्रहण गरिन्छ ।

तेश्रो दिन छठ उपासना तथा व्रत बस्ने मुख्य दिन हो । यो दिन व्रतालुले पूर्ण व्रत लिन्छन् । षष्ठी तिथिका दिन सूर्योदयदेखि सप्तमीको उदायाचल सूर्यलाई अघ्र्य नदिएसम्म व्रतालुले पानी पनि मुखमा हाल्नु हुँदैन । कुनै प्रकारले शरीर, मन र वचन अपवित्र हुने कार्य गर्नु हुँदैन । छठका लागि जोहो गरिएका सरसामान छुट्टै पवित्र तरिकाले राख्नु पर्छ । षष्ठीका दिन अस्तयाचल सूर्यलाई जलाशयको घाटमा गएर अघ्र्य दिनुपर्छ । त्यसका लागि धेरै प्रकारका नैवेद्य तयार पारिन्छ । छठको नैवेद्य तयार पार्ने कोठा लिपपोत गरी पवित्र बनाइएको हुन्छ । माटोको चुल्हो नयाँ बनाइन्छ । नैवेद्य र पकवान तयार पार्ने भान्से पनि शुद्ध र पवित्र बन्नुपर्छ । छठका लागि बनाइने पकवान र नैवेद्यमा मुख्य ‘ठकुवा’ र ‘भुसवा’(कसार) हो । गहुँ वा चामलको पिठोबाट बनाइने ठकुवा र भुसुवा बनाउने पिठो ढिकी जाँतोमै कुटिए–पिसिएको हुनुपर्छ । छठको नैवेद्य वा अन्य पूजासामग्री तयार पार्दा विशेष चनाखो रहनुपर्छ । पूजासामग्री जुठो वा अपवित्र हुन गए कुष्ठरोग, चर्मरोग हुने वा अन्य अनिष्ट हुने जनविश्वास छ । ‘केरवा जे फरल घउरसे वहि पर सुगा मडराय, मारबौ रे सुगवा धनुषसे सुगा गिरे मुरझाय…’

‘छठ’लाई चढाउने केरा बोटमै हुँदा पनि सुगा वा अन्य कुनै पशुपंक्षीले नखाऊन् भन्ने मान्यता छ । त्यसकारण गीतबाटै पशुपंक्षीलाई समेत सचेत गराउन खोजिएको छ । शुद्धता र चोखोनितो छठको मुख्य विशेषता हो । त्यसकारण छठ पर्वलाई कठोर पर्व पनि भनिन्छ । विधिविधानमा भुलचुक गर्ने गुञ्जाइसलाई छुट दिइँदैन । छठ श्रद्धा र भक्तिपूर्वक आराधना गरिने पर्व हो । यो पर्वको विधिविधान मूलतः प्रकृतिसँग पनि एकठ्ठा छ । छठमा मौसमअनुसार फुल्ने–फल्ने धेरै चिजबिज चढाइन्छ । पकाएर चढाइने नैवेद्यमा मुख्य ठकुवा, भुसवा, पेरुकिया र खजुरी हो । फलफूलमा मुख्य केरा हो । सक्नेले सिङ्गै घरी केरा, नसक्नेले एक काइँयोसम्म चढाउँछन् । नरिवल, उखु, बोटसहितको बेसार, भोगटे, मुला, स्याउ, सुन्तला, ज्यामिर र गाजरसहितका मौसमी फलफूल चढाइन्छ । लारा कचरा (केशरी र पवित्र रातो डोरा) धुपसहितको पूजासामग्री चाहिन्छ । जसलाई अर्घोति भनिन्छ । कुम्हालेले बनाएको माटोको हात्ती, कोसिया, कुरवार (माटोको प्याला र नयाँ घैँटो) ढकना पनि नयाँ चाहिन्छ । चढाउने पकवान र नैवेद्य हालेर घाटमा लैजाने बाँसबाट बनेको नयाँ कोनियाँ (तीनकुने आकारको नांग्लो), सुप्पा (नांग्लो) ढकिया (ढाकी) चाहिन्छ । परिवारका सबै सदस्य त्यसदिन सकेसम्म नयाँ बस्त्र र आभूषण पहिरिएर सुन्दर लालित्यमा रहन्छन् ।

‘हमरोपर होइऔ सहाय, हे छठिमैया, हमरोपर होइऔ सहाय….’ छठीमाता हामीमाथि विशेष कृपा बनाई राख्नुहोला । छठी माताको आराधनामा गाइने गीत र भजनहरु जताततै गुञ्जिन थाल्छ । षष्ठीका दिन जब सूर्य अस्ततर्फ ढल्किन्छन्, छठको अघ्र्य दिन जलाशय पुग्नेको लाम लाग्छ । तयार पारिएको पूजासामग्री र नैवेद्यसहित व्रतालु, परिवारजन र दर्शनार्थी जलाशय पुग्छन् । एक साताअघिदेखि नै जलाशयको घाट सरसफाइ गरिन्छ । जलाशयको घाटलाई सजिसजाउ र झकिझकाउ बनाइएको हुन्छ । व्रतालुलाई पूजाका लागि सुविधायुक्त घाट बनाइएको हुन्छ । जलाशय नभएका स्थानमा खाडल खनेर पनि जलाशय तयार पारिन्छ । ढोल पिपही (बाजा) बजाएर मधुर संगीतसहित भजन आराधना गरिन्छ । नाचगानले घाट सुरम्य हुन्छ । पटाका पड्काएर युवायुुवती उमंग दर्शाउँछन् । जलाशयको शोभा रंगिचङ्गी र झिलिमिली हुन्छ । नयाँ बस्त्र र सौंन्दर्य परिधानमा नरनारीको जमघटले छठको साँझ सरोवरमा सौंन्दर्य अच्छादित हुन्छ ।

जलाशय घाट पुगेर नैवेद्य तथा पूजासामग्री फिँजाइन्छ । व्रतालु जलाशयमा प्रवेश गर्छन् । व्रतालुले जलाशयमै उभिएर पूजासामग्री पालैपालो हातमा उठाएर अस्तयाचल सूर्यलाई अघ्र्य दिन्छन् । व्रतालुको हातमा पिठार, सिन्दुर, फूल र अक्षतालगायतका पूजासामग्री हुन्छ । घाटमा करिब ५–६ घण्टा पूजा आराधना हुन्छ । अस्तयाचल सूर्यलाई अघ्र्य दिने काम सकिएपछि व्रतालु नयाँ बस्त्र फेर्छन् । आर्थिकरुपमा सम्पन्न परिवार वा विशेष भाकल गरेका (केही व्रतालुले) घाटमा चढाउन लगेका नैवेद्य, पकवान र पूजासामग्री सन्ध्याकालीन अघ्र्यपछि जलाशयमै सेलाइदिन्छन् । भोलिपल्ट बिहान उदयाचल सूर्यलाई अघ्र्य दिन पुनः ताजा पकवान र नैवेद्य तयार पार्छन् । कसैले सन्ध्या र प्रातःकालको अघ्र्यपछि सम्पूर्ण सामग्री जलमा बिसर्जन गरिदिन्छन् । तर प्रायःजसोले सबै सामग्री लिएर घाटबाट फर्कन्छन् । केही स्थानमा रातभर घाटमै पूजाआराधना गर्ने चलन पनि छ । आर्थिकरुपमा विपन्नले भिक्षा मागेर पनि छठको पूजा गर्छन् । विशेषरुपमा भाकल गर्ने आर्थिक सम्पन्नता भएकाले पनि पनि भिक्षा मागेर छठ पूजा गर्ने चलन छ । कसै–कसैले आफैँले छठको व्रत नगरे पनि व्रतालुबाट नैवेद्य चढाउन लगाउँछन् । खासगरी चर्मरोग वा अन्य अर्वुदरोग लागेका र संकटग्रस्त मानिसले मनोकामना पूरा भए छठको पूजा गर्ने संकल्प लिएका हुन्छन् । त्यसैगरी, निःसन्तान दम्पतीले सन्तान प्राप्ति भए छठ पूजाको भाकल गरेका हुन्छन् । निःसन्तान महिलाले सन्तान होस् भन्दै सारीको आँचल घाटमा ओच्छ््याएर नाचगान र भजनकीर्तन गराउने चलन पनि छ । केही दशकअघिसम्म महिला मात्र व्रत बस्ने चलन थियो । अहिले पुरुष पनि व्रत बस्न थालेका छन् । व्रत बस्न नसक्ने वृद्धवृद्धा तथा अशक्तले अरु व्रतालुबाट व्रत गराउँछन् । चर्मरोग पीडित वा निःसन्तान मुस्लिम समुदायका मानिसले भाकल गरेपछि रोग निको भएको र सन्तान प्राप्ति भएको भन्दै छठ पर्व मनाउने गरेका छन् । जलाशय घाटमा अपवादका घटनाबाहेक छुवाछुत गरिएको सुनिँदैन । सबै जातजाति घाटमा कुम जोडिने गरी पूजा गर्छन् । उचनिच र गरिब–धनी छुट्याइँदैन ।

छठको चौथो अर्थात अन्तिम दिनलाई ‘पारन’ भनिन्छ । यो दिन बिहान उषाकालमा व्रत गर्नेहरु पुनः जलाशयमा पुगी उदयाचल सूर्यलाई अघ्र्य दिने गर्छन् । सन्ध्याकालमा अस्तयाचल सूर्यलाई अघ्र्य दिँदा अपनाइएको पूजाविधि र प्रक्रिया प्रातकालमा पुनः दोहो¥याइन्छ । उदयाचल सूर्यको पूजा समाप्त गरी घर फर्केपछि व्रतालु उपवास तोड्छन् । छठको पारन (उद्यापन) पछि घरघरमा सुस्वादु पकवान पकाइन्छ । परिवारजन, छरछिमेकी, इष्टमित्र बोलाएर प्रसाद खुवाइन्छ । भोजन गराइन्छ । यसरी छठ पर्व सम्पन्न हुन्छ ।

महाभारत कथामा द्रौपदीसहित पाँचपाण्डव अज्ञातबासमा रहँदा गुप्तबास सफल होस् भनेर सूर्य पूजा गरेको आधारमा छठ शुरुवात भएको जनश्रुति छ । पाँचपाण्डवले विराट राजाको दरबारमा गुप्तबास बसेकाले सोही समयदेखि छठ मनाउने परम्परा शुरुवात भएको भनाइ छ । त्यस्तै, साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरुप रोगमुक्त भएको उल्लेख छ । निःसन्तान महिलालाई सन्तान प्राप्ति भएपछि तथा परिवारमा सुख समृद्धिका लागि यो पर्व विशेष रुपमा मनाइन्छ । त्यसैगरी, सूर्य पुराणअनुसार सर्वप्रथम अत्री मुनिकी पत्नी सती अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ मनाउने परम्परा शुरुवात भएको मान्यता पनि छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…