पद्मरत्नले भन्नुभयोः आन्दोलनमा सुनाउने कविता यस्तै हुन्छन्

जीवनको गोधूली बेलामा केही हदसम्म मान,प्रतिष्ठा खस्किएको अवस्थामा पुगेर लगभग गुमनाम बाँचिरहनु भएका कुनै समयका स्टार वामपन्थी नेता पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ रहँदै आउनु भएका तुलाधर उहाँको राजनीतिक आधार काठमाडौको, उहाँको दल नेकपाको र समग्रमा राष्ट्रिय राजनीतिको सन्दर्भमा समेत असहाय र अप्रासंगिक हुनु भएको थियो यी पछिल्ला दिनहरूमा । आफू वामपन्थी भएकोमा गर्व गर्ने तर कुनै कम्युनिस्ट पार्टीको सदस्यता नलिएको भन्ने, एमालेको सूर्यचिन्ह लिएर चुनाव जित्ने तर ुम एमाले होइनु भन्न नछाड्ने, राज्य र माओवादीका बीचको द्वन्द्वमा सदैव माओवादीको पक्ष लिने तर प्रकटमा स्वतन्त्र र निष्पक्ष मानव अधिकारवादी भएको दावी गर्ने जस्तो पाखण्डलाई जीवनभर बोकेर हिँडिरहनु भएका पद्मरत्न राजनीतिक शक्ति सन्तुलनको गणितमा फरक आएपछि श्रीहीन र विस्मृत हुनुभएको थियो भने त्यसलाई स्वाभाविक नै मान्नु पर्दछ ।

हरि अधिकारी

पद्मरत्न तुलाधरको राजनीतिक व्यक्तित्व त आकर्षक थियो नै नेवार संस्कृति, नेवा भाषा र साहित्य एवं कथित नेवा जातिको प्रवर्द्धन र वर्चश्व स्थापनाको अभियानको सर्वाधिक ठूलो नेताको रूपमा पनि स्थापित हुनुहुन्थ्यो उहाँ । कुशल पत्रकार, नेवारीमा रम्य रचनाका राम्रा लेखक र नेपाल सम्वत् लाई मान्यता दिलाउने अभियानको नेताका रूपमा तुलाधरले काठमाडौ उपत्यकाका नेवारहरूको त्यो एउटा वर्गको हृदयमा दह्राे पकड जमाउनु भएको थियो जुन वर्गका नजरमा नेपालमा नेवार जाति, नेवार संस्कृति, भाषा र साहित्य सर्वोत्कृष्ट थिए, छन् र सदैव रहने छन् । त्यो वर्गको आज पनि दावी छ, सबै नेपाली जनताले नेवा प्रभूत्वको यो चरम् सत्यलाई स्वीकार गरेर सोही अनुसार व्यवहार गर्नु पर्दछ । त्यो वर्गका केही नेताहरू त अहिले आएर पृथ्वीनारायण शाहले २५० वर्ष पहिले उपत्यकाका नेवार राजाहरूलाई जितेको कुरालाई लिएर गर्धन फुलाएर बसिरहेका छन् ।

बदलिएको समाज, राजनीतिक परिस्थितिका कारण त्यस्तो रूढ आग्रह सर्वमान्य हुन सक्ने थिएन, सकेन त्यो बेग्लै कुरा हो । तर तुलाधरको नेतृत्वमा चलेको नेपाल सम्बत् स्थापना अभियान भने सफल भयो । इतिहासमा भुटिभाङ प्रमाण नभएको किंjदन्तीको नायक शंखधर साख्वास्लाई राष्ट्रिय विभूति घोषणा गरियो र उनले चलाएको भनिएको नेपाल सम्बत् लाई राजकीय मान्यता प्रदान गरियो । आजको वैश्विक मानव समाजमा अन्तर्राष्ट्रिय स्तरमा व्यवहार गर्न सबभन्दा सजिलो हुने पात्रो चलाउनु पर्नेमा नेपालकै सन्दर्भमा पनि अप्रचलित यो सम्बत् ले सरकारी मान्यता पाए पनि व्यवहारमा त्यो चल्ला भन्ने विश्वास गर्न सकिँदैन ।

४८ सालमा भएको आम चुनावमा पनि काठमाडौको क्षेत्र नम्बर ४ बाट तुलाधरले चुनाव जित्नु भयो जनान्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहकी पत्नी र राजनीतिक संघर्षको इतिहासका दृष्टिले तुलाधर भन्दा कता हो कता माथि रहेकी नेतृ मङ्गलादेवी सिंहलाई हराएर

पद्मरत्न तुलाधरले जनपक्षीय उमेदवारका रूपमा काठमाडौंबाट २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जित्नु भएको थियो । त्यस समयमा प्रतिपक्षी राजनीतिको मियो नेपाली कांग्रेसले पञ्चायतको चुनाव वहिष्कार गर्ने घोषणा गरेकोले उहाँका लागि मैदान साफ थियो । पञ्चायतको घरका धुरी,बला र खाम, दलिन मक्किइसकेको बेला थियो र परिवर्तन पक्षधर जनताको एकमात्र र प्रिय उमेदवार हुनुहुन्थ्यो उहाँ । त्यतिबेला पञ्चायतको विरोधमा बोलिएका हरेक शब्दका लागि जनता हुरुक्कै हुन्थे । तुलाधरले चुनावी सभाहरूमा दिएका भाषणहरू खूबै रुचाइएका थिए । तिनका क्यासेटको बजार बनेको थियो । जनान्दोलन २०४६ पछि ४८ सालमा भएको आम चुनावमा पनि काठमाडौको क्षेत्र नम्बर ४ बाट तुलाधरले चुनाव जित्नु भयो जनान्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहकी पत्नी र राजनीतिक संघर्षको इतिहासका दृष्टिले तुलाधर भन्दा कता हो कता माथि रहेकी नेतृ मङ्गलादेवी सिंहलाई हराएर । त्यस चुनावी स्पर्धामा तुलाधरलाई नेवार बहुल त्यस क्षेत्रमा उनको नेवा प्रभूत्व नीतिका कारण ठूलो लाभ मिलेको थियो । गणेशमान सिंहकी पत्नी र छोरा प्रकाशमान दुबैजना उमेदवार भएको कुरालाई पनि एउटा मुद्दा बनाएर उछालिएको थियो तुलाधरका पक्षमा ।

पद्मरत्न तुलाधरले ४६ को ऎतिहासिक जन(आन्दोलनमा कम्युनिस्टहरूलाई आन्दोलनको आह्वानकर्ता र नेतृत्वदायी शक्ति नेपाली कांग्रेससँग जोड्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तपाइँहरूले आन्दोलन गर्ने निर्णय गर्नुभयो, त्यसमा हाम्रो भूमिका के हुन्छ ? भनी गणेशमानसँग सोध्न सिंह निवास चाक्सीबारी जाने ४ जना कम्युनिस्ट नेताहरू तुलसीलाल अमात्य, सहाना प्रधान, राधाकृष्ण मैनाली र विष्णुबहादुर मानन्धरका साथमा पद्मरत्न पनि हुनुहुन्थ्यो । गणेशमानजीले टुक्रा टुक्रामा बाँडिनु भएका तपाइँहरूसँग डिल गर्न सकिँदैन एकगठ भएर आउनोस् अनिमात्र आन्दोलनमा कसरी सँगै हिँड्ने सोचौंला भनेपछि संयुक्त वाम मोर्चा बन्ने प्रक्रिया अघि बढेको थियो ।

पद्मरत्न सरल स्वभावका, मृदु र मीतभाषी व्यक्ति हुनुहुन्थ्यो । पछि गएर अलि बढी नै क्रान्तिकारी जस्तो, बढी नै जातिवादी र साम्प्रदायिक छवि बनेको थियो उहाँको । जातीय राज्यको पैरवी गर्नेदेखि गोमांसभक्षण सम्मको वकालत पनि गर्नुभयो । माओवादी जनयुद्धका बेलामा उहाँ र नेपाली कांग्रेसका दमननाथ ढुंगानाको जोडी प्रकटमा मानव अधिकारवादी अवतारमा देखिन्थ्यो तर यथार्थमा माओवादीको हित रक्षण गरिरहेको थियो त्यसले । पछि तुलाधर माओवादीको सम्पर्क सुत्र नै पनि बन्नु भयो । असफल शान्तिवार्तामा राज्यलाई सहयोग पनि भयो त्यसले ।

हनुमानढोका दरबार अगाडि शिव, पार्वती झ्यालबाट तमासा हेरिरहेको मन्दिरको डवलीमा

पद्मरत्न तुलाधर र मेरो बीचमा परस्पर आदरको सम्बन्ध थियो । ४६ सालको आन्दोलनका बेलामा विकसित यो सम्बब्ध उहाँको अवसानपछि सधैंका लागि टुटेको छ । जन(आन्दोलनका क्रममा २०४६ साल फागुन १० गते तुलाधर र नेपाली कांग्रेसका नेता हरिबोल भट्टराईले खिचापोखरीबाट गिरफ्तारी दिने तय भई देशी विदेशी सञ्चारकर्मीहरूलाई खबर गरिएको र उनीहरूको ठूलो संख्यामा उपस्थिति पनि भइसकेको अवस्थामा ती दुई नेता त्यस क्षणमा खिचापोखरीमा खासै धेरै जनताहरू नभएकोले गिरफ्तारीको खासै प्रभाव नहुने भनी बाहिर निस्कने कि ननिस्कने भन्ने द्विविधामा रहेछन् । यो कुरो थाहा भएपछि साथी पत्रकार उज्वल झा र मैले ती दुई नेता बसेको पाकोको शिव मानन्धरको घरमा गई बाहिर सय जना जति देशी विदेशी पत्रकारहरू जम्मा भएको र गिरफ्तारी दिने त्यो भन्दा उपयुक्त अवसर अर्को हुन सक्दैन भनी ती दुई क्रान्तिकारीलाई एक किसिमले बलपूर्वक नै बाहिर ल्याएका थियौँ । पछि गएर पद्मरत्न तुलाधरलाई सुशील खनाल नामक प्रहरी अफिसरले झ्याङ्लाङझुङ्लुङ पार्दै गिरफ्तार गरी लगेको फोटो चर्चित भएको थियो ।

तुलाधर र मेरो अन्तिम भेट वसन्त क्रान्ति ६२ र ६३ का क्रममा हनुमानढोका दरबार अगाडि शिव-पार्वती झ्यालबाट तमासा हेरिरहेको मन्दिरको डवलीमा आन्दोलन कविता वाचनुका बेलामा भएको थियो । कविता वाचनका लागि बोलाएर गएको म तुलाधरको छेउमा बसेको थिएँ । मभन्दा पहिले कविता वाचन गर्नेहरूले सार्‍है घटिया रचना सुनाएर कविताकै हुर्मत लिएको देखेर वाक्कदिक्क भएको म कविता नै नसुनाई हिंड्न के लागेको थिएँ तुलाधरले मेरो पाखुरा हलुकासँग समाउँदै भन्नू भएको थियो- हरिजी कविता सुनाएरै जानोस् । खराब कविता सुनेर तपाइँलाई रिस उठेको छ तर के गर्नुहुन्छ ? आन्दोलनमा सुनाउने कविता यस्तै हुन्छन् । दिवङ्गत तुलाधरप्रति हार्दिक श्रद्धाञ्जलि ।

हरि अधिकारीको फेसबुकबाट

https://www.facebook.com/1311123060/posts/10217619374418779

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…