राज्य र व्यवस्थाविरुद्ध खेलिएको त्यो देउसीभैलो

तल, तल मैदानैमा धानको बाला
हो, झुल्न थाले
अब भने हाम्रो पनि आँखाहरु
हो, खुल्न थाले

–हर्क चुम्मे

२०४३ ताकाको धरानमा देउसी भैलोमा यही गीतमा नाच्दानाच्दै प्रहरीले हिमायती जनसांस्कृतिक समूहलाई घेराबन्दीमा पारेको थियो । देउसी नै भाँड्न खोजिएको थियो । धरान–७ स्थित शान्तिपथमा भइरहेको देउसीभैलोमा प्रहरीको धरपकडलाई स्थानीयले असफल पारिदिएका थिए । तत्कालीन व्यवस्थाविरुद्ध देउसीभैलोमा जनताका गीत गाउँदा स्थानीय प्रहरीविरुद्ध उत्रन तयार भएका थिए । उनीहरुकै साथबाट हामीलाई प्रशासनले केही गर्न पाएन ।

२०३८ मा कम्युनिष्ट आन्दोलनलाई सहयोग पुर्याउन सांस्कृतिक आन्दोलन नेतृत्व गरेको थियो हिमायतीले । स्थापनादेखि नै देउसीभैलोमा तत्कालीन व्यवस्थाविरुद्ध जनतालाई जागरुक गर्ने, संगठनका लागि आर्थिक सहयोग संकलन गथ्र्यो ।

मादल बजाएर देउसी रे भट्याउँदै खेलिने देउसीको रौनक नै हिमायतीले फेरिदिएको थियो । मादलसँगै हार्मोनियम, कंगु, गीतार, सांरगी, बाँसुरीलगायतका वाद्यवादन लिएर सांगीतिक माहौलमा जनताका सुखदुःखका गीत गाउँदै देउसी खेल्ने परम्परा थालनी गरेको थियो हिमायतीले ।

ब्युँझि उठ नारी हो,
संघर्षको बाटोमा
कति पुस्ता बितिसके
दासताको जाँतोमा

सहिदका सपनासँग गाँसिएका गीतहरु, देशका लागि जागरुक गराउने गीत बज्थे । जो गरिब–दुःखी जनता हो, जो बोल्न सक्दैनथे, त्यतिबेला सत्तासँग लडाइँ गर्न सक्दैनथे, उनीहरुको आवाज संगीतबद्ध गरेर राज्यसत्ताविरुद्ध हाम्रा गीतहरु बज्थे । देशको उन्नति, समृद्धिका निम्ति रचिएका गीतलाई निरन्तरता दिइरह्यौँ । त्यतिबेला रेडियो नेपालबाट बजेटका गीत बुर्जुवा, जडसूत्रवाद गीत मान्थ्यौँ, तर राष्ट्रभक्ति गीत पनि बज्थे, प्रेममय गीतलाई अश्लीलता मान्थ्यौँ, त्यतिबेला हाम्रो सोच जनसूत्रवाद थियो ।

देउसीको लागि मनोरञ्जन मात्रै होइन, नेपाली जनतामा तत्कालीन व्यवस्थाविरुद्ध चेतना जगाउने, नेपाली जनताको गीत, जो जनतासँग प्रत्यक्ष गाँसिएको शब्द, संगीत लिएर आर्थिक संकलनसँगै संगीतको माध्यमबाट स्वच्छ मनोरञ्जनसँगै चेतना जगाउन जनवादी गीत बोकेर देउसी भैलो खेल्ने गरिन्थ्यो ।

तत्कालीन समयमा राजनीतिक परिवर्तनका लागि आन्दोलनलाई सहयोग पुर्याउन अन्य स्रोत थिएन । जुन विचार धाराबाट प्रभावित भएर लागिरहेका थिए । राजनीतिक परिवर्तन, मुलुकको समृद्धि, नेपाली जनताको सुखसयलका लागि भित्री रुपमा विचार लिएर अघि बढेको थियो । राजनीतिक परिवर्तनका लागि तयार सांस्कृतिक अभियानलाई सफल पार्न आर्थिक संकलन गर्न देउसी खेलिन्थ्यो ।

२०३८ मा हिमायती सांस्कृतिक समूह गठन भएको थियो । त्यसपछि निरन्तर २०५४ सम्म जनताको गीत लिएर देउसीभैलो खेल्यौँ । त्यतिबेला पञ्चायती व्यवस्थाविरुद्ध लाग्यौं, बहुदल आएपछि नेपाली जनताले चाहेको जस्तो व्यवस्था नभएपछि त्यसविरुद्ध पनि लाग्यौँ । पछिल्लो समय समय परिवर्तनसँगै खुला संगीतमा पनि आयौँ । अन्य विचारधारा बोकेको संगीतलाई पनि पछ्याँउदै आयौँ ।

अहिले विश्व संगीतसँग नजिक आउँदा नेपाली संगीतले क्षणिक आनन्द मात्रै दिने गरेको छ, जीवन्तता अहिलेको गीतमा देखिन्न । जनताको गीतहरुलाई जीवन्तता दिन हामी आफैँले सकेनौँ । संगीत एरेन्जमा कमजोरी रहयो, अहिले पनि गाउँमा जीवनसँग सम्बन्धित गीत गाउन बजाउन हामी आफैँ पनि पछाडि पर्यौँ । त्यसको फाइदा अन्य संगीतले लियो । क्षणिक मनोरञ्जनमा रमाउँदा ती गीतहरु कालजयी गीत हुँदैनन्, अहिलेको सञ्जालले हामीमाथि त्यस्ता गीतहरुको घर बनेको छ । जनताका गीतहरु युवापुस्तामा चेतना नआएका कारण र हामीले पनि बुझाउन नसकेको कारण जनताका गीत देउसीभैलोमा सुनिन छाडेको छ ।

आस्था अनि विश्वासको
दियो जलिरहोस्
आत्माविश्वास जिन्दगीमा
सधैँ उच्च बनोस्

जनताको गीत गाउँदै खेलिने देउसीमा आशीष पनि स्वाभिमानका लागि अटल रहन सन्देश हुने गथ्र्यो । प्रत्येक घरमा छुट्टाछुट्टै देउसी खेलिन्थ्यो । एकसय रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म दान दिने गर्दथे । अहिले फरक भएको छ । एउटा सिंगो टोललाई एकै ठाउँ भेला गराएर देउसी खेलिन्छ, उत्तेजक गीतमा उत्तेजक नृत्य देखाइन्छ । गाउँघर नै थर्किने गरी आधुनिक बाजा, साउन्ड सिस्टमको आवाजले देउसीभैलोको आनन्द नै बिगारिदिने गरेको छ ।

अहिले देउसीभैलो पेशा जस्तो भएको छ । वर्षभर अन्य काम गर्ने, अनि देउसी भैलोमा एउटा समूह बनाएर रकम उठाउने माध्यम बनेको छ । देउसीभैलोमा उठेको रकम नेतृत्व गर्नेले लाभ लिने, कलाकारलाई पिकनिक लगेर खर्च गर्ने परिपाटी बढ्दै गएको छ । सबै समूहले देउसीभैलोको रकम दुरुपयोग गरेका छन् भन्न खोजेको होइन् । सचेत युवा वर्गले त्यसलाई सकारात्मक कार्यका लागि पनि सदुपयोग गरेका छन् ।

हिमायतीले नै पनि देउसीभैलोकै रकमबाट मिर्गाैला पीडित कलाकार तथा पत्रकार प्रवीण राईलाई २० हजार रुपैयाँ सहयोग गरेको थिए । धरानका केही पत्रकारको समूहले पनि देउसीभैलो खेलेको रकमबाट हकर ज्ञानबहादुर माझीलाई २० हजार सिड मनी दिएर घर बनाइदिएका थियौँ । र, अर्का सवारी दुर्घटनाबाट घाइते मजदुर पुण्यप्रसाद प्याकुरेललाई १५ हजार रुपैयाँ दिएर घर बनाउन सहयोग गरेका थियौँ ।

अहिले पनि जनताका गीत लिएर देउसीभैलो खेल्दा जनताका गीतप्रति आकर्षित हुने गरेका छन् । हामीले त्यसलाई निरन्तरता दिनसकेका छैनौँ । बजारमा चलिरहेका गीत दैनिकजसो सुनिरहेका हुन्छन् । प्रायः सबै देउसी टोलीले एकै प्रकारका गीतहरु गाउने, नाच्ने गर्दछन् । सबैतिर एकैखाले गीतहरु सुनिरहेकाले जनताका गीतले फरक अनुभव गराउँछ, त्यसैले अझै पनि जनताले त्यस्ता गीत सुन्ने चाहना राख्छन् ।

आर्थिक सहयोग सहज ढंगले उठाउनसक्ने भएकाले यसलाई आर्थिक संकलनका लागि मात्रै लिने गरिएको छ । पाश्चात्य संगीतले नेपाली सांगीतिकपनलाई छोप्दै गएको छ । हाम्रो मौलिकपनलाई जोगाउन सकिएको छैन । पाश्चात्य संगीतलाई साथ लिँदै हाम्रो नेपालीपन र जनताको गीतलाई जोगाउन आवश्यक छ ।

(हिमायती जनसांस्कृतिक समूहका अध्यक्ष हर्क चुम्मेसँग जनता समाचार डटकमका लागि सुनसरी सहकर्मी दिनेश गजमेरले गरेको कुराकानीमा आधारित)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…