महागुरु फाल्गुनन्द (विसं १९४२–२००५) लाई फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ० हाङ्सम साम्यो पनि भनिन्छ । उनी किराँत धर्मका महान गुरु तथा समाज सुधारक हुन् ।
फाल्गुनन्द जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार र संस्कृति उत्थान अनि संरक्षणमा क्रियाशील बने । उनलाई देशद्रोहीको अभियोग पनि लागेको थियो । २००५ मा उनको देहान्त भएपछि किराँत संघसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाउने गरेका छन् । महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति विसं १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’ नीति विश्व समुदायले अनुसरण गरिरहेको छ ।
फाल्गुनन्दको जन्म १९४२ कात्तिक २५ गते आइतबार इलामको इभाङ–५ चुक्चिनाम्बामा भएको थियो। उनका बाबु जगनबाज लिम्बु, लिङदेन र आमा हंसमति लिम्बु हुन् । आमाबाबुका साँहिला छोरा फाल्गुनन्दको न्वारनमा ज्योतिषले राखेका नाम ‘नरध्वज लिङदेन’ थियो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लागाइदिनाले ठीक हुन्छ भनेकाले उनका हातमा फलामका चुरा लगाइएको थियो। त्यही चुराबाट उनको नाम फलाम सिंह रहन गएको थियो । गाउँका अन्य युवाजस्तै उनी पनि बेलायती फौजमा भर्तीमा जाँदा उनको नाम फलाम सिंहबाट फाल्गुनन्द बन्न पुग्यो।
आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारी जाति सृस्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्च सम्मान गर्नु पर्ने, आफ्नो कूलदेवतालाई सदा बिहान बेलुकी चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्न पर्ने, मासुमंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दीव्य ज्योति प्राप्त फाल्गुनन्द लिङदेनले सेनामा रहँदा पनि साँझबिहान पूजापाठमा लीन रहने गरेका हुनाले उनलाई ‘ध्यानी,’ ‘योगी’ र ‘तपस्वी’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो। लडाइँबाट विश्वशान्ति स्थापना हुन नसक्ने बोध गरेका फाल्गुनन्द अन्ततः बेलायती सेनाको जागीरबाट राजिनामा दिएर ज्ञान तथा समस्त किराँती जातिका मौलिक धर्म संस्कृति प्रचार गर्दै भारतका विभिन्न भाग लगायतभुटान हुँदै पूर्वी नेपालको इलाम जन्मस्थल आइपुगे।
आफ्नो गाउँठाउँ, जात तथा विशेष गरी किराँत जातिका लिम्बु समुदायमा सामाजिक बिसंगति, विकृतिले गाँजेको भयावह स्थिति देखेर फाल्गुनन्द लिङदेनले १९८८ वैशाख २५ गते तत्कालीन ‘दश लिम्बुवान सत्रथुम’का समाजका वरिष्ठ व्यक्तित्वहरूलाई बोलाएर पाँचथरको फिदिम नजिक लेब्रे कुटीमा वास्तविक धर्मबाट अञ्जान रहेको, जाँड, रक्सी धेरै सेवन गरी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी विवाह भोज गरी आर्थिकरूपमा दलदलमा फसिएको विषयसहित समाजबाट हर क्षेत्रमा माथि उठनै नसकिने गरी पछि परेकाले उप्रान्त सबैले यी सबै बिसंगति, बिकृति र कुरितीबाट मुक्त भएर आआफ्नो थुममा सबैलाई सम्झाउने, बुझाउने, मौलिकताको पहिचान गराउने दश बुँदे लिखित मुचुल्का गरे । जसलाई ‘सत्यहाङमा मुचुल्का’ पनि भनिन्छ । हजारौँका संख्यामा उपस्थितले आआफ्नो थुममा गएर मौलिक धर्म, संस्कृति तथा दशबुँदे मुचुल्का प्रचारप्रसार गर्ने वचनवद्धता जनाए ।
फाल्गुनन्दले धर्म प्रचार प्रसार वा साँझ बिहान आआफ्नो घरमा युमा साम्माङको ‘माङसेवा’ र सामूहिकरूपमा पनि ‘माङ सेवा’ गर्न मेची र कोशी अञ्चलका विभिन्न स्थानमा ७ माङहिम (मन्दिर) बनाए । उनले कुम्भकर्ण हिमाललाई किराँतीका पवित्र धार्मिक तथा तीर्थस्थल मान्दै ‘माङहिम’ बनाए । कुम्भकर्ण हिमालको फेदीमा रहेको माङहिममा भक्तजन ‘माङसेवा’का लागि जाने क्रम दिनानुदिन वृद्धि भइरहेको छ।
फाल्गुनन्दले ‘सत्यहाङमा मुचुल्का’ मात्र बनाएनन् । समयसमयमा लिम्बुबान क्षेत्रका हरेक गाउँमा निरीक्षण गरे । त्यसैक्रममा उनी पटकपटक आफ्ना चेला भुलासँग कुम्भकर्ण फेदीसम्म पुगे । महिनौँ दिनसम्म ध्यान तपस्यामा बसे ।
यसरी धर्म प्रचार तथा मौलिकता पहिचान गराउँदै हिँड्दा तत्कालीन राणासरकारले राजनीति गरी राणाशासनको बिरोधमा जनतालाई जागरुक तुल्याउँदै छ कि भनेर तत्कालीन धनकुटाका बडाहाकिमको निर्देशनमा उनलाई काठमाडौंमा ल्याएर सोधपुछ पनि गरिएको थियो।
सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान धार्मिक तथा समाज सुधारक, आफ्नै मौलिक भाषा, लिपिको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योति अनि तत्कालीन सामाजिक अर्थ व्यवस्थालाई राम्ररी आंकलन गरी समाजलाई आर्थिक दलदलबाट उकास्न समाजका लागि व्यवहारिक आर्थिक नीति नियम बनाउने कुशल अर्थविद्का रूपमा लिन सकिन्छ ।
दोस्रो विश्वयुद्धमा तत्कालीन ब्रिटिश साम्राज्यका सिपाहीका रूपमा भारतलगायत बर्मामा लडाइँ लड्दालड्दै लडाइँबाट विश्वमा शान्ति स्थापना गर्न नसकिने बरु झनै रक्तपात, हत्या र हिंसामात्र निम्त्याउने वास्तविक शान्ति शिक्षा, ध्यान, तप र धर्म तथा मौलिकताको पहिचान भए मात्र आउछ भन्ने ज्ञान उनले बाँडेका थिए । महागुरु फाल्गुनन्दले पाँचथरमा गरेको धार्मिक भेलामा जम्मा भएका मानिसलाई विभिन्न सुझाव दिए । तीमध्ये केही यस्ता थिएः
युमाठेवाको आराधना गर्ने,श्रीजंगा लिपिमा अध्ययन गराउने,नैवेद्य तथा फूलपातिबाट पूजापाठ गर्ने,माङहिङ निर्माण गर्ने,मादक पदार्थ सेवन नगर्ने,छोराको बिहेमा दाम नलिने,स्वदेशी कपडा लगाउने,छोरा र छोरीलाई समान शिक्षा दिने,मृतात्मालाई अदुवा, चामल तथा फलफूल चढाउने(विकिपिडियाको सहयोगमा)