तीर्थ न्याैपाने-टिप्पणीप्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आन्तरिक विवादमा रुमलिइरहेको बेला पूर्वमहामन्त्री प्रकाशमान सिंह र पूर्वराजा ज्ञानेन्द्रबीच भेटघाट भएको छ । भेटघाटमा पूर्वराजा र कांग्रेस नेता सिंहबीच मुलुकको समसामयिक अवस्थाको साथै राजनीतिबारे छलफल भएको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसमा आन्तरिक कलह बढ्दै गएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र सिंह लगायतका नेताले पार्टीमा सभापति शेरबहादुर देउवाले स्वेच्छाचारी गरेको आरोप लगाउँदै आएका छन् । बिमलेन्द्र निधि र विजयकुमार गच्छदारलाई पार्टीको उपसभापति बनाएपछि पौडेल पक्ष सभापति देउवाप्रति रुष्ट छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले सर्वत्र पराजय व्यहोरे लगत्तै पौडेल पक्षले महासमिति बैठक बोलाउन माग गर्दै आएका छन् । तर सभापति देउवाले भने त्यसलाई टार्दै आउनु भएको छ । महासमिति बैठक विभिन्न बाहनामा धकेलिँदै गएको छ । बैठक मंसिर अन्तिम सातालाई तोकिएको छ । तर केही बाहनामा बैठक फेरि सर्ने संभावना छ । निर्वाचनमा भएको पराजयसंगै कांग्रेसमा नेतृत्व परिर्वतनको माग उठेको छ । महासमितिलाई सभापति फेर्न सक्ने अधिकार छ । महासमितिले नेतृत्व फेर्न सक्ने भएकै कारण सभापति देउवाले बैठक सारिरहेको स्रोत बताउँछ ।
देउवासँग असन्तुष्ट पक्षको गोप्य भेला लगत्तै त्यसैदिन पूर्वमहामन्त्री सिंह र पूर्वराजाबीच भएको भेटघाट रहस्यमय
पाटीको निर्णय र मनोनयनमा सभापतिले पेल्न थालेपछि पौडेल पक्षले देउवाविरुद्ध मोर्चाबन्दीको तयारी गरिहेको छ । त्यसको शशांक निवासमा सोमबार वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह र सुजाता कोइराला लगायत नेताहरुको गोप्य भेला भएको थियो । भेलाकाे निर्णय भने पौडेल पक्षले गोप्य राखेकाे छ । देउवासँग असन्तुष्ट पक्षको गोप्य भेला लगत्तै त्यसैदिन पूर्वमहामन्त्री सिंह र पूर्वराजाबीच भएको भेटघाट रहस्यमय बनेको छ । पूर्वराजा र नेतासिंहबीच भेटघाटमा के के कुरा भयो ? दुबै पक्षले केही सार्वजनिक गरेका छैनन् । यद्यपि सभापति समेत फेर्न सक्ने अधिकार भएको महासमिति बैठक बोलाइसकेको अवस्थामा सिंहले पूर्वराजा भेट्नुले राजनीतिक कौतुहल्ता झन् बढाएको छ ।
महामन्त्री शशांक लगायतका केही नेताले मुलुकलाई हिन्दूराज्य बनाइनुपर्ने आवाज उठाउँदै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाले विगतमा पूर्व राजाकै आर्शिवादमा संवैधानिक राजतन्त्र र हिन्दूराज्यको माग उठाएको थियो । त्यही मागकै कारण राप्रपा नेपालले समानुपातिकबाट २४ सांसद हात पार्यो र राजनीतिमा मुलुकको चौथो शक्ति बन्यो । त्यही मागकै कारण संसदमा अध्यक्ष कमल थापाको भूमिका प्रभावकारी रह्यो । थापालाई उपप्रधानमन्त्री समेत बन्ने मौका मिल्यो । तर अहिले भने भने थापा हिन्दूराज्य र संवैधानिक राजतन्त्रप्रति अलमल भएको अवस्था छ । त्यहीबेला कांग्रेसमा केही नेताले त्यसलाई राजनीतिक एजेण्डा बनाउने योजना बनाएका हुन् । पूर्वराजासँगको भेटमा नेता सिंहले त्यही एजेण्डाबारे छलफल गरेको हुन सक्ने अनुमान गरिएको छ ।
कांग्रेसमा आन्त्रिक कलह चर्किरहेको र सभापतिविरुद्ध मोचाबन्दीको तयारी भइरहेको अवस्थामा सिंहले पूर्वराजालाई भेट्नु् देउवामाथि अर्को प्रहार पनि हो । राजनीतिमा देउवालई राजा पीडित नेताको रुपमा लिइन्छ । पूर्वराजा ज्ञानेन्द्रले देउवालाई ‘असक्षम’को बिल्ला भिराएर दुई पटक प्रधानमन्त्रीबाट बर्खास्त गरेका थिए । ती घटनाले देउवालाई ज्ञानेन्द्रदेखि झस्किने बनाएको छ । अहिले सभापति छोड्न दबाद परिरहेको र त्यस्तो अवस्थामा पार्टीका प्रभावशाली नेता र पूर्वराजाबीचको भेट्नले देउवालाई अर्को झड्का दिएको छ ।
‘असक्षम’को बिल्ला भिराएर दुई पटक प्रधानमन्त्रीबाट बर्खास्त गरेको कारण देउवा अहिले पनि पूर्वराजादेखि झस्किने गरेका छन्
नेता सिंहको यो भेट्ले देउवा मात्र होइन राप्रपाका अध्यक्ष कमल थापालाई समेत झड्का लागेको छ । पछिल्लो पटक राष्ट्रिय राजनीतिमा भूमिका विहीन बन्दै गएपछि अध्यक्ष थापा विभिन्न समूहमा छरिरहेका राप्रपालाई एकीकृत गर्ने योजनामा लाग्नु भएको छ । अध्यक्ष थापा राप्रपा एकीकरण गरेर फेरि संवैधानिक राजतन्त्र र हिन्दूराज्य एजेण्डा बोक्ने रणनीतिमा रहेको स्रोत बताउँछ ।
त्यसको लागि अध्यक्ष थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्टवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीबीच केही दिनअघि छलफल समेत भएको थियो । तर त्यो छलफल सार्थक बन्न भने सकेन । राप्रपा तत्कालै एकीकरण हुने स्थिति देखिएको छैन । राप्रपा एकीरण संवैधानिक राजतन्त्र र हिन्दूराज्य अवधारणको आडमा पूर्वराजासँग नजिकहुने अध्यक्ष थापाको योजना तत्कालको लागि तुहिएको छ । यही बेला कांग्रेसका केही नेताले त्यो एजेण्डा उठाउन थालेपछि थापालाई पनि झड्का लागेको छ ।