कान्ति न्याैपाने
काठमाडौं । नेपाल विद्यार्थी संघका पदाधिकारीहरुले संगठन भंग नगर्न माग गर्दै शनिबार पार्टी मुख्यालयमा प्रदर्शन गरेका छन् । पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्य सम्पादन समिति बैठक चलिरहेकै बेला प्रदर्शन गरेका हुन् ।
पार्टीभित्रको गुटबन्दीको कारण नेविसंघको महाधिवेशन हुन सकेको छैन । पछिल्लो पटक महाधिवेशन उमेर हदको कारण रोकिएको छ । पार्टीले ३२ वर्ष नाघेकाहरु नेविसंघमा बस्न नपाउने प्रावधान ल्याएपछि महाधिवेशन अन्यौलमा परेको छ । त्यो प्रावधानको पार्टीभित्रै पनि विरोध भइरहेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अहिले ल्याएको उमेर हद उपयुक्त नहुने बताउँदै आएकाे छ । पौडेल पक्षले त्यसलाई सच्याउन माग गरिरहेको छ । तर सभापति शेरबहादुर देउवा पक्षले भने अहिले लगाइएको उमेर हद नसच्चिने अडान लिएको छ ।
उमेर हद लगायतका बिषय विवाद बढ्दै गएपछि नेविसंघको महाधिवेशन अन्यौलमा परेको छ । पटक पटक तोकिएको महाधिवेशन सर्दै आएको छ । किचलो बढेपछि सभापति देउवा नेविसंघ नै विघटन गर्ने योजनामा लागेको स्रोतले जनाएको छ ।
महाधिवेशनको म्याद थप्ने कि संघ नै विघटन गर्ने ? भन्ने लगायतका बिषयमा छलफल गर्न पार्टीले शनिबार केन्द्रीय कार्य सम्पादन समिति बैठक बोलाएको हो । बैठक अहिले पार्टी मुख्यालय सानेपामा जारी छ । बैठकमा नेबिसंघको समस्यासहित महासमिति बैठकबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
यता संगठन नै बिघटन हुने प्रसंग चलेपछि नेविसंघका पदाधिकारीले शनिबार पार्टी मुख्यालयमा धर्ना दिएका छन् । विद्यार्थी नेताहरुले संगठन विघटन नगर्न माग गर्दै पार्टी मुख्यालयमा केहीबेर प्रदर्शन समेत गरे ।
संघका केन्द्रीय सदस्य सुशील भट्ट लगायतको समूहले महाधिवेशन मार्फत नया नेतृत्व चयन गर्नुपर्ने माग गर्दै टिके प्रथाको विरोधमा नाराबाजी गरेको हो । अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिना लगायतको समूहले नया तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेका हुन् । दुवै पक्षले आ आफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् । बैठकमा सहभागी हुन आएका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए ।
आक्रोसित हुँदै पार्टी मुख्यालय पुगेका विद्यार्थी नेताहरुलाई पूर्वमन्त्री बीरबहादुर बलायरले शान्ति हुन आग्रह गर्नुभएको थियो । तर पूर्वमन्त्री बलायरले शान्त् रहन आग्रह गरेपछि विद्यार्थीहरु झन् आक्रोसित भइरहे । प्रदर्शनको क्रममा विद्यार्थी नेता र पूर्वमन्त्री बलायरबीच धकेलाधकेल नै भएको थियो ।
विद्यार्थी नेताहरुले संघको नेतृत्व महाधिवेशन मार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गरेका छन् । नेविसंघले ३ महिना अघि पार्टी केन्द्रीय समितिमा पेश गरेको विधान र नियमावली पास नहुँदा नेतृत्व चयन अन्यौलमा परेको छ ।
नेबिसंघ पदाधिकारीको यसअघि थपिएको म्याद आइतबारदेखि सकिँदैछ । भट्ट समूहले हालको पदाधिकारीलाई नै महासमिति आयोजक समिति बनाई प्रजातान्त्रिक प्रक्रियाबाट महाधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिदै आएको छ ।