कोशी ब्यारेज
आइतबार, २९ साउन २०७४
कोशी ब्यारेज

 भानुभक्त आचार्य

उ बेला कांग्रेसले कोशी बेच्यो,
गण्डकी र टनकपुर बेच्यो भन्थे,
पुल बन्ला, बिजुली देला
विकास गरिदेला भन्ने सोचियो,
आखिर बगेर जाने पानी त हो,
त्यसै पनि दक्षिणतिरै जाने हो
भन्ने सोझो चिताइयो ।
अहिले आएर मार खाइयो ।

हिउँदमा भएभरको पानी
नहर हुँदै भारत लाने,
अनि खडेरी जति हामीलाई ।
बर्खामा ब्यारेजको ढोका बन्द गर्ने,
सिमाना मिचेर बाँधहरु बनाउने,
बाढी आउँदा थुन्ने र नेपाल डुबाउने ।
यो प्रपञ्च हामीले बुझेनौं ।
चूपचाप लम्पसार परिरह्यौं ।

तराई डुबेको त्यसै होइन ।
नेपाल–भारत सिमा छेउका
एक दर्जनभन्दा बढी बाँधहरुले
देश जलमग्न छ, डुबिरहेको छ ।
खडेरीमा पानी नदिने,
बाढीमा निकास नदिने ।
कोशी ब्यारेज, ब्यारेज होइन
यो पासो हो, गलपासो ।

छिमेकी प्रभुसँग लम्पसार पर्दापर्दा
हिउँदमा खडेरीले र बर्खामा बाढीले
देश डुबेको थाहै भएन हनुमानहरुलाई,
आर्थिक रुपमा असमान व्यापारले
हाम्रो अर्थतन्त्र डुबेकै थियो,
दक्षिणको अघोषित नाकाबन्दीले
भूइँचालोले भन्दा बढी थिचियौं, पिल्सियौं ।  
अझ तिनका सर्त र आदेशहरुले
हाम्रो स्वाभिमान दुखेकै थियो
पटक पटक, कयौं पटक ।
तर, सत्ताको भागबन्डा र लुछाचुँडीमा
अल्मलिएको राजनीतिले
प्रभूको भलो चिताउँदा चिताउँदै
देश डुबेको पत्तो पाएन ।

व्यारेजको ढोका नखोल्दा तराई डुब्छ,
खोल्दा सरकार ढल्न सक्छ,
प्रभु बेखुस हुने वा रिसाउन सक्छन् ।
त्यसैले,
सरकार धर्मसंकटमा छ ।
अब सरकार जोगाउने कि जनता ?
सरकार नभए पनि जनता थियो र हुनेछ ।
सरकार बनाउने जनता नै हो ।

त्यसैले सरकार ढले ढलोस्
अब चूप लागेर नबासौं,
ब्यारेजको चाबी खोसौं ।
सार्वभौमिकताका पक्षमा बोलौं,
सिमानाका बाँधहरु भत्काऔं ।
असमान सन्धिहरु खारेज गरौं ।

 

२०७४ साउन २९ गते १३:२८ मा प्रकाशित
3301 पटक पढिएको

प्रतिक्रिया दिनुहोस