‘तीज भड्किलो हुँदैछ, महिनौँदेखि दर खानु बेठीक’
बिहिबार, ०८ भदौ २०७४
‘तीज भड्किलो हुँदैछ, महिनौँदेखि दर खानु बेठीक’

नेपाली महिलाको महत्वूर्ण धार्मिक पर्व हो तीज । पछिल्ला वर्षहरुमा तीज आधुनिक हुँदै सांकृतिक भन्दा मनोरञ्जन गर्ने पर्वको रुपमा विकास हुँदैछ । तीजमा दर खाने, नाच्ने र गाउने कुराको पनि फरक ढंगले विकास हुँदैछ । सत्ययुगमा पार्वतीले महादेव श्रीमान् पाऊँ भनी ब्रत बसेको धार्मिक ग्रन्थमा उल्लेख छ । तीजको सन्दर्भमा अभिनेतृ बसुन्धरा भुसालले यसो भन्नुभयो ।

काठमाडाैँ । वरिष्ठ हास्य कलाकार एवम् अभिनेतृ बसुन्धरा भुसाल तीजको दिन संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ । छोरीको बिहेको तयारीमा दुई दिनअघि उहाँ अमेरिका जानुभएको हो । हाँस्न, गाउन र रमाइलो गर्न मन पराउने भुसालका लागि यो वर्षको तीज खल्लो छ । ‘बोलाएका सबै कार्यक्रममा जान पाइन, मनमा खुसी नै छैन’, उहाँले भन्नुभयो, ‘बाढी पहिरामा परेर सयौँ नेपालीको मृत्यु भएका बेला मनाउने मनै छैन ।’ केही दिनअघि जेठानीको निधनले पनि उहाँलाई दुःखी बनाएको छ ।

‘यो वर्ष मलाई रमाइलो लागेको छैन, यति धेरै नेपाली मरेका छन्’, उहाँले थप्नुभयो, ‘खाना लगाउन नपाएर मान्छे को बिजोग भएको छ कसरी रमाइलो गर्नु ?’ उहाँले यो तीजमा पनि केही समाजिक सङ्घ संस्थाका कार्याक्रममा सहभागी हुने मौका भने गुमाउनु भएन ।  

‘तीज भड्किलो हुँदैछ, सामान्य रूपमा मनाए पनि हुन्छ । धेरै खर्च गर्नुभन्दा त्यो पैसा बचाएर दुःख पाएकालाई सहयोग गर्नु राम्रो हुन्छ’, उहाँले भन्नुभयो, ‘पहिला एक दिन दर खाने चलन थियो, अहिले एक महिनादेखि दर खान्छन्, यो चाहिँ त्यति ठिक होइन ।’

भुसालले तीजमा नयाँ गहना, लुगा किन्ने नगरेको बताउनुभयो । हरेक वर्ष दर खुवाउने र सौभाग्यका रूपमा चुरा, पोते, टीका र कपडा बाड्ने गरेको उहाँले यो वर्ष कुनै कार्यक्रम गर्नु भएन । उहाँले सामान्य रूपमा ब्रत बस्ने र पूजा गरेर तीज मनाउँदै आउनुभएको छ ।

‘हिन्दु महिलाले मात्र होइन, तीजका दिन सबै महिलले रातो लगाएर हिँड्दा राम्रो लाग्छ’, भुसालले थप्नुभयो, ‘यो जात, वर्ग वा समुदायको मात्र पर्व होइन, सबैले मिलेर मनाउन पर्छ ।’

२०७४ भदौ ०८ गते १२:२५ मा प्रकाशित
137 पटक पढिएको

प्रतिक्रिया दिनुहोस