सरकार किन बारम्बार गल्ती गर्दैछ ?
शुक्रबार, ०९ भदौ २०७४
सरकार किन बारम्बार गल्ती गर्दैछ ?

पोस्टबहादुर केसी
देशमा प्रजातन्त्र ल्याउन गाउँ गाउँ बस्ती बस्तीबाट जनता जागे । विश्यव्यापी मानवअधिकार, राजनैतिक तथा नागरिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको अधिकारको सहयोगले गरिब विपन्न नागरिकलाई अन्याय, अत्याचार, शोषण, असमानता, विभेद, दमन र भ्रष्टाचारविरुद्ध जागरुक गरायो । २ सय ४० वर्षको राजतन्त्रको सुमल अन्त्य गर्नका लागि राजनैतिक दलसँग हातेमालो गरेका सफल योद्धा नागरिक संस्थालाई अहिले गणतन्त्र नेपालको सरकार र राजनैतिक दलले प्रतिस्पर्धी र शत्रुको व्यवहार गरिरहेको अनुभूति नागरिक संस्थाले गरिरहेका छन् ।

वार्षिक १२ सय अर्ब खर्च गर्ने राज्यले, दाताले दिएको वार्षिक ५ अर्ब खर्च गर्ने ४५ हजार नागरिक संस्थाले गरेका असल कार्यको गलत तथा भ्रामक तरिकाले व्याख्या गर्दै गरिब निमुखा जनताले तिरेको करबाट तलवभत्ता खाने र देशको आर्थिक विकास गर्ने ठेक्का पाएको राज्यले आफूले गरेका कर्तुत,अर्बाैँ भ्रष्टाचार, गैर जिम्मेवारीपनलार्इ लुकाउने कोशिश गरिरहेको छ ।

अाफ्नो अनियमिततालाई लुकाउन राज्यले परिवर्तनका संवाहक नागरिक संस्थालाई यो वा त्यो तरिकाले अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधान विपरीत विभिन्न ऐन, कानुन र निर्देशिका बनाएर अंकुश लगाउन उद्यत देखिँदैछ । नागरिक संस्थाहरू विकासका बाधक भए या भ्रष्टाचार गरे नेपालको संविधान विपरित कार्य गरेमा कारबाही गरे हुन्छ ।

कारबाही गर्न पनि नसक्ने, अनि यो भएन, त्यो भएन भनेर दुःख दिने नागरिक संस्था घाँडो भएको हो भने संस्था दर्ता ऐन २०३४ खारेज गरिदिए भयो टन्टै साफ । यस्तै प्रवृत्ति तथा जनविरोधी कार्य आगामी दिनमा सरकारले गर्दै गएमा उसका लागि प्रत्युत्पादक हुनेछ । स्मरण रहोस्, तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सकारले पनि नागरिक संस्थाहरूले गरेका असल र विकास प्रेमी कार्यविरुद्ध विभिन्न कानुन बनाएर अंकुश लगाउँदा यो हालत भयो ।  

नेपालमा नागरिक संस्थाहरूले सामाजिक, आर्थिक र राजनैतिक परिवर्तनका लागि गरेको योगदान राजनैतिक दलको भन्दा कम छैन । हो, यिनीहरुमा केही कमी कमजोरी हुन सक्छन्, त्यस्ता कमजोरीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ । यी संस्थाहरू स्वयमसेवी, गैरनाफामुलक, स्वतन्त्र छन् र यिनीहरू देश र जनताको लागि परिवार, रोजगार र आम्दानीको कुनै सरोकार नराखी अग्रसर योद्धा राज्यले गर्ने कुनै विभेद र अन्यायविरुद्ध ज्यानको बाजी थापेर डटेर सामना गर्न सक्षम छन् ।

राज्यले नागरिक संस्थाहरूलाई प्रतिष्पर्धी पक्ष भन्दा पनि सहयात्रीको रूपमा व्यवहार गरियोस । किनभने नागरिक संस्थाहरुसँग विचार पनि छ, क्षमता पनि छ, श्रोत जुटाउन सक्ने क्षमता पनि छ र मन पनि छ । भर्खरै नेपालको तराई र पहाडी जिल्लामा बाढी पहिरोले ठुलो जनधनको क्षति भयो । यो दुखद घडीमा राज्यले गैरसरकारी संस्थालाई राहत वितरण गर्न लगाएको अंकुशले राज्यका राहत सङ्कलन केन्द्रमा कर्मचारी दिनभरि माखा मारेर बस्नु पर्यो ।

कुनै मानिसलाई बगाइरहेको छ, तड्पिरहेको छ र मरिहेको छ, त्यस्तो दुखद घडीमा यसलाई बचाउनुपर्छ, यसलाई मर्न दिनु पर्छ भन्ने होइन जसले जहाँबाट जसरी हुन्छ सहयोग गर्न अनुरोध गर्नुको सट्टा मलाई राहत दिनु अनि मैले एकद्वार नीति अनुसार राहत वितरण गर्छु भनेर बेतुकको र मानवता विरोधी निर्णय गर्यो । मानवीय संवेदना नभएको व्यक्ति र संस्थाले त जतिसुकै नीति नियम बनाए पनि खराब गरी छाड्छ । यो संसार, देश, समुदाय, परिवार, व्यक्ति विश्वास, माया र आदरले चलेको छ । एकअर्कामा विश्वास गर्न सिकौँ र सिकाउँ ।

तीन वर्षअघि सिन्धुपलाञ्चोकको जुरेमा झरेको पहिरोले सयौँ मानिसको ज्यान लियो, अर्वौ धनजनको क्षति भयो । नेपाली जनताले स्वतस्फुर्त रूपमा करिब ३ करोड सरकारी राहत कोषमा जम्मा गरे तर अहिलेसम्म पीडितले राहत पाएका छैन । राहतको पर्खाईमा कति मरिसके, कति अपांग जिन्दगी बिताइरहेका छन् र कति पाउने आसमा अझै तड्पिरहेका छन् ।  लाज लाग्दैन, यो सरकारलाई अझै राहत कोष रकम जम्मा गर भन्न ।

कसैले पनि दुख, रोदन, आँसु र रगतमा राजनीति गर्ने होइन र नागरिक संस्थाहरूले पनि जनताको नाममा आएको रकम र राहतलाई विवेकहीन, असमान, फेसबुकमा फोटो राख्न र आफूखुसी स्थानीय सरकारसँग समन्वय नगरी वितरण नगर्न पनि अुनरोध छ । यो दुखद घडीमा कसैले पनि मानवीय सम्वेदना नगुमाई पीडितलाई सहयोग गरौँ, जीवन बचाऔं र यही नै मानव धर्म हो ।

२०७४ भदौ ०९ गते १५:५४ मा प्रकाशित
154 पटक पढिएको

प्रतिक्रिया दिनुहोस