यसरी भ्रष्टाचारको दलदलमा फस्दैछन् न्यायाधीश र न्यायालय
शुक्रबार, १६ भदौ २०७४
यसरी भ्रष्टाचारको दलदलमा फस्दैछन् न्यायाधीश र न्यायालय

डा. युवराज संग्रौला

संसारका कुनै न्यायपालिकामा नभएका गतिविधिहरू (जस्तै, बजेटको व्यवस्थापन सामान खरिद, प्रोजेक्टका गतिविधि) मा समेत प्रधान न्यायाधीशहरू संलग्न रहने गर्दछन् नेपालमा । अदालतको निरीक्षण गर्ने कार्य सुखसयलको माध्यम भएको छ । नेपालगन्जमा एउटा अनुभव गर्ने मौका पाएको थिएँ, यससम्बन्धमा । एउटा कार्यक्रमको क्रममा नेपालगन्जमा थिएँ । त्यसैबेला प्रधान न्यायाधीशको भ्रमण भयो । बुटवल हुँदै ‘सवारी’ चलाइएको रहेछ ।

यसै बहानामा अघिल्लो दिनबाटै नेपालगन्जमा मुद्दामामिलाको काम रोकियो । के के खुवाउने ? के के पिलाउने ? के उपहार दिने ? कुन होटेलमा राख्ने ? त्यहाँका न्यायाधीशहरू छलफलमा व्यस्त भए । जिल्ला प्रशासन र प्रहरीसमेत त्यसमा व्यस्त भए । सायद माया होला आफ्नो हाकिमको ? भोलिपल्ट न्यायाधीशहरू आफ्ना गाडी लिएर कोहलपुरतिर दगुरे । सायद अझै पर गए होला, थाहा भएन । अनि प्रधान न्यायाधीशको ‘काराभान’ को शोभा बढाउँदै उनीहरू पनि लस्करमा मिसिए ।

नेपालगन्ज आइपुगेको काराभानलाई हेर्ने सौभाग्य मैलेपनि पएँ । ‘अगाडि नेपाल प्रहरीको ‘स्कर्टिङ जिप’ त्यसपछि प्रधान न्यायाधीशको सुकिलो भव्य महँगो जिप । त्यसपछि पुनरावेदन अदालतका न्यायाधीशहरूको कारहरू, अनि जिल्ला अदालत, सिडियो, अनि पछाडिपट्टि सशस्त्र प्रहरीको जिप’ । वास्तवमा न्यायाधीशको जागिर (?) लोभलाग्दै हुँदो रहेछ । अझ प्रधान न्यायाधीशको त कुरै भएन ? अनि किन नहुनु मरिहत्ते ? तरपनि मलाई लाग्छ यो निकाय त न्यायको मन्दिर हो हैसियतको उद्घोष होइन । मनमा यो कुरा रहिरह्यो । के त्यो साँच्चीकै सत्कार हो ? होइन ? यो गएगुज्रेको तल्लो तहको चाकरी हो । यो न्यायको क्षेत्रमा हुर्किएको एउटा विकृति हो ।

अमेरिकाका प्रधान न्यायाधीश ‘अर्ल वारेन’ नियुक्ति हुँदा ‘ब्राउनविरुद्ध एजुकेसन बोर्ड’ को मुद्दाको सुनुवाइ भइरहेको थियो । उनीभन्दा पहिलाका प्रधान न्यायाधीश मिनसनको मृत्यु भएकाले अर्ल वारेनलाई प्रधान न्यायाधीशमा नियुक्ति गरिएको थियो । उनी क्यालिफोर्नियाका वकिल थिए त्यसैले उनलाई पूर्वी अमेरिकाको बारेमा धेरै थाहा थिएन । त्यसैले वासिङ्टनबाट नजिकै रहेको ‘अब्राहम लिङ्कन’ को स्मारक पार्क र चिहानको अवलोकन गर्न उनी गए ।

उनका गाडी चालकले ‘उनलाई एकजोर यात्रामा लगाउने जुत्ता ल्याइदिए’ । यद्यपि उनले त्यसो गर्न भनेका थिएनन् । उनले एउटा नयाँ किताब बोके । उनी अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश थिए । तरपनि वरिपरि सुरक्षा अधिकारीको घुइँचो थिएन । एक जना प्रहरी पनि उनका साथमा थिएनन् । अनि एउटा सामान्य नागरिकको रूपमा उनी भ्रमणमा गए । यसबाट भन्न सकिन्छ प्रधान न्यायाधीशको दायित्व न्यायको निरूपण गर्नु हो, राज्यको सुविधाको प्रयोग गर्दै हैसियतको प्रदर्शन गर्नु होइन ।

जुनसुकै देशमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश भनेको ‘राष्ट्रको पहिलो वा सर्वोच्च कानुन विज्ञ हो । उसले सर्वोच्च अदालतको मात्रै नेतृत्व गर्दैन उसले त कानुनका विषयमा राष्ट्रकै नेतृत्व गर्छ । प्रधान न्यायाधीशको मुख्य दायित्व ‘इन्टलेक्च्युल लिगेसी’ अर्थात् कानुनी बौद्धिकतायुक्त संस्कारको पक्षपोषण गर्नु हो’ ।

यस धर्मको पक्षपोषण गर्न सानोतिनो इमानदारिता, विज्ञता र राजनीतिक तटस्थताले सम्भव हुँदैन । जस्टिस वारेन अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश हुँदाको समयमा अमेरिकाको संवैधानिक कानुन एउटा गम्भीर सङ्क्रमणको अवस्थामा थियो । अब्राहम लिङ्कनको स्मारक घुमेपछि एउटा सामान्य होटेलमा उनी बसे; किताब पढे । भोलिपल्ट थाहा भयो उनको अश्वेत चालकले सुत्ने ठाउँ नपाएर गाडीमै सुतेछ । उनको मन साह्रै दुख्यो । उनी फर्किएर वासिङ्टन आए ।

मलाई लाग्छ यो निकाय त न्यायको मन्दिर हो हैसियतको उद्घोष होइन । मनमा यो कुरा रहिरह्यो । के त्यो साँच्चीकै सत्कार हो ? होइन ? यो गएगुज्रेको तल्लो तहको चाकरी हो । यो न्यायको क्षेत्रमा हुर्किएको एउटा विकृति हो ।

तर नेपालका ती प्रधान न्यायाधीशको सान हेर्दा लाग्यो ‘सायद गतिलो न्याय’ चाहिँ अर्ल वारेनले भन्दा हाम्रा न्यायाधीशहरूले गर्लान् । ‘राज्यका सम्भ्रान्त सुविधाको लोभले किचिएपछि ‘न्याय’ चाहिँ थिचिएर नै मर्छ’ । हाम्रो न्यायपालिकामा न्यायाधीशहरूमा कानुनी बौद्धिकताको संस्कार होइन प्रधान न्यायाधीशका रूपमा प्रशासक हुन खोज्ने प्रवृत्ति हाबी भएको जस्तो लाग्छ ।

न्यायाधीशहरूको सरुवा बढुवा नेपाली न्यायपालिकाभित्रको एउटा त्यस्तो अस्त्र हो जसले नेपालका सबै ‘तहका न्यायाधीशको ‘मनोविज्ञान’ लाई लथालिङ्ग बनाएको छ’ । नेपालका न्यायाधीशहरू निर्णय गर्दा माथिको यो तरबार आफ्नो अगाडि झुन्डिरहेको देख्छन् । यस ‘तरबार’ ले सबै तहका न्यायाधीशहरूको ‘निर्णय क्षमता उल्टो दिशातर्फ बगिरहेको छ’ भन्न सकिन्छ ।

अर्को तरिकाले भन्ने हो भने ‘एउटा न्यायाधीशले अपभ्रंशित विचारधाराको चस्मा फ्याँकेर क्षमता र गुणको आधारमा काम गरी आफ्नो व्यक्तित्वको निर्माण गर्ने र आफ्नो क्षमताप्रति पुरस्कृत’ हुने अवस्था नेपालमा छैन । एउटा न्यायाधीशले आफ्नो प्रगतिका लागि प्रधान न्यायाधीशलाई खुसी राख्नै पर्छ । तर त्यो खुसी राख्ने कसरी ? न्यायपालिकाको विकासमा यो प्रश्न एउटा गम्भीर चुनौती हो, जसले न्यायपालिकाको संस्थागत विकासमा तगारो हालेको छ । खुसी पार्न पहिला पहिला ‘घिउ र फलफुल’ ल्याउनुपथ्र्यो होला । भ्रमणताका खानपिनको विशेष व्यवस्था गर्नु पर्थ्यो होला ।

सोझो भाषामा भन्दा मातहतका न्यायाधीशले चाकरी गर्नु पथ्र्यो होला । यो चाकरी प्रथा अहिले पनि भिन्न रूपमा यथावतै छ । फरक कतिमात्र हो भने अहिले यो महँगो भएको छ । यो ‘काराभान प्रणालीमा रूपान्तरित’ भएको छ । अर्थात् न्यायाधीशको पद महँगो जागिर भएको छ ।

न्यायाधीशहरू ‘व्यावसायिक सेवाकर्मीहरू’ हुन् । न्यायाधीशहरूको पद, हैसियत र एकआपसको सम्बन्ध ‘श्रेणीबद्धता’ मा निहित रहेको हुँदैन र रहनु पनि हुँदैन । जिल्ला अदालतको न्यायाधीश ‘सुरु तह’ को क्षेत्राधिकार अन्तर्गत ‘तथ्य निरूपण’ गर्ने न्यायाधीश हो । उसको जिम्मेवारी पनि त्यति नै गहकिलो हुन्छ, जति सर्वोच्चका न्यायाधीशको । पुनरावेदनको तात्पर्य पनि ‘अदालतको श्रेणीबद्धता’ होइन । अर्थात् पुनरावेदन अदालत माथिल्लो र जिल्ला अदालत तल्लो अदालत होइन ।

अब्राहम लिङ्कनको स्मारक घुमेपछि एउटा सामान्य होटेलमा उनी बसे; किताब पढे । भोलिपल्ट थाहा भयो उनको अश्वेत चालकले सुत्ने ठाउँ नपाएर गाडीमै सुतेछ । उनको मन साह्रै दुख्यो । उनी फर्किएर वासिङ्टन आए ।

पुनरावेदन अदालत ‘कानुनी प्रश्न’ सँग सम्बन्धित प्रश्नमा निर्णय गर्ने अदालत हो । उनीहरूका सम्बन्ध र सम्मानका विषयहरू ‘क्षेत्राधिकार’ सँग सम्बन्धित रहेका हुन्छन् । न्यायाधीशहरू ठुला र साना न्यायाधीश होइनन् । तर जब पुनरावेदन तहका अदालतका न्यायाधीशहरू ‘प्रशासनिक कार्यमा प्रत्यक्ष संलग्न हुन्छन् र तल्लो तहका अदालतमा प्रशासनिक निरीक्षणको कार्य गर्न थाल्छन् तब त्यसबाट ‘त्रासको तरबार मातहतका न्यायाधीशहरूका लागि तयार हुन्छ र मातहतका अदालतका न्यायाधीशहरू ‘न्यायिक सिद्धान्त र न्यायका व्यावसायिक पद्धतिहरू वा कार्यविधिको औचित्यतापूर्ण प्रयोगपरक (pragmatist) र न्यायसँगत कार्यविधिको माध्यमद्वारा न्याय निरूपण गर्ने ‘विज्ञ व्यवसायीहरू’ को हैसियतबाट झरेर ‘जागिरे’ बन्न पुग्दछन् । उनीहरू माथिल्ला अदालतका न्यायाधीशका सेवक बन्न पुग्दछन् । उनीहरूको निर्णय गर्ने क्षमता समाप्त हुन्छ । उनीहरू न्याय गर्न छोड्छन् र लगत कट्टा गर्न सक्रिय हुन्छन् ।

जब जागिरे प्रवृत्तिको अपभ्रंशित विचारधाराले न्याय व्यवस्थालाई अपभ्रंशित बनाउँछ, तब न्यायिक व्यवस्था एउटा ‘औपचारिक र यान्त्रिकता’ को जालोमा रूपान्तरित हुन्छ । यस जालोभित्र प्रवेश गर्ने मानिस यसैभित्र हराउँछ । यसभित्र उसले तर्क, बस्तुपरकता र वैज्ञानिकता भेट्दैन । यहाँ उसले ‘जालझेलको’ एउटा विरूप व्यवस्था पाउँछ । अनि यस व्यवस्थाप्रति स्वयम् उसकै विश्वास वा भरोसा हुँदैन । उसले यस व्यवस्थाभित्र एउटा खेलको प्रतिस्पर्धा भेट्छ, जहाँ जित्नलाई खेलाडीले अनेक किसिमका जायज नाजायज कला र तिकडम प्रयोग गर्नुपर्छ । यो पवित्र स्थान यसरी ‘फोहोरी चालहरू’ सिक्ने तिकडम स्थलमा परिणत हुन्छ ।

वरिष्ठ अधिवक्ता संग्रौलाको हालै प्रकाशित पुस्तक 'नि:सङ्कोच अभिव्यक्तिको एउटा अंश

२०७४ भदौ १६ गते १४:५० मा प्रकाशित
7534 पटक पढिएको

प्रतिक्रिया दिनुहोस