काठमाडौँ महानगरका विद्यासुन्दरः चुलिएको आलोचना, भुलिएको वाचा
शुक्रबार, २३ भदौ २०७४
काठमाडौँ महानगरका विद्यासुन्दरः चुलिएको आलोचना, भुलिएको वाचा

काठमाडौँ । दुईदशकपछि मुलुकमा भयो चरणचरणमा स्थानीय तह निर्वाचन । पहिलो चरणमा भयो २०७४ वैशाख ३१ गते । निर्वाचन भएको १५ दिन भन्दा बढी भोट गनेपछि काटमाडौँ महानगरपालिकामा मेयरमा विजयी भए यसअघि दुईपटक लोकप्रिय वडाध्यक्ष बनेका विद्यासुन्दर शाक्य ।

२०७४ जेठ १७ गतेदेखि पदभार ग्रहण गरे शाक्यले । नेकपा एमालेका तर्फबाट विजयी शाक्यले निर्वाचनमा एमालेको घोषणपत्रका अलावा गरेका थिए अरू १०१ प्रतिबद्धता । प्रतिबद्धता पढ्दा लाग्थ्यो अब काठमाडौँ झुसिलकीरा होइन पुतली हुन्छ । अर्थात् मेयरले हो काठमाडौँको रुपरंग फेर्ने, एक दिएर किन नयाँ काठमाडौँ नहेर्ने ?

सबैलाई आश्चर्य पार्दै आयो पहिलो निर्णयः महानगरपालिकाको बजेटबाट आफ्नै सुविधा र फाइदाका लागि लाखौँ रुपैयाँसम्मको मोबाइल फोन खरिद । सामाजिक सञ्जालदेखि जनस्तरबाट विरोधको एक्साभेटर चलेपछि आलोचनाको किचिमिचीमा पर्यो महानगरका  मेयरको १०१ प्रतिबद्धता ।

असार ६ गते बसेको दोस्रो बैठकले महानगरका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि कम्तीमा ३० हजार रुपैयाँदेखि लाखौँ रुपैयाँसम्म पर्ने मोबाइल फोन खरिदको निर्णय भएको थियो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाउने सुविधाबारे सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कानुनको मस्यौदा तयार पारिरहेका बेला महानगरपालिकाका जनप्रतिनिधिले हतारमा सुविधाको ‘अलोकप्रिय र विवादित’ घोडा चढ्दा बल्ड्याङ नखाने कुरै भएन ।

दोस्रो बैठकलगत्तै पत्रकार सम्मेलन गरेर महानगरपालिका प्रमुख शाक्यले ८ बुँदे निर्णय सार्वजनिक गरे । चालू आर्थिक वर्ष (आगामी असार मसान्त) सम्मका लागि जनप्रतिनिधिको तलब र भत्ताबापत ३५ लाख रुपैयाँ खर्च उल्लेख थियो । मन्त्रालयले तयार पारेको मस्यौदामा निर्वाचित पदाधिकारीहरूका लागि तलब मात्रै व्यवस्था थियो भने सदस्यका लागि बैठक भत्ता प्रस्तावित थियो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको हनिमुन अवधि अर्थात् १ सय दिन पूरा भएको छ । यसबीचमा विद्यासुन्दर शाक्य प्रशंसाको छाता ओढेको कम हेर्न पाइयो अर्थात् आलोचनाको घूम ओढेरै हिँडे । जेठ १४ गते शक्य मेयरमा निर्वाचित भएका हुन् । सरकारले दिँदै आएको वृद्धभत्तामा महानगरले दुई हजार थप्ने निर्णयबाहेक नजिता देखिने  कुनै नयाँ काम भएको छैन । यो काम पनि महानगरको पौरखको विषय बन्दैन । रकम विकास बजेटबाट काटेर दिइने रकम हो । मेयर चुनिनुअघि महानगरमा देखिने धूलो, धूवाँ, जाम, खाल्डाखुल्डी यो एकसय दिनमा हटेनन्, पुरिएनन् अनि घटेनन् ।

साँच्चिकैको महानगर बनाउन अनि मतदाताको कदर गर्न त अरबी घोडाको जस्तो जोशजाँगरमा दौडिनु पर्छ जनप्रतिनिधि । चुनावमा चकलेटी नारा दिए पनि काममा यस्तो गुलियो देखिएन । शाक्यले कार्यभार सम्हालेपछि ६ पटक नगर कार्यपालिका बैठक बसेको छ । २७ निर्णय भएका छन् । महत्त्वपूर्ण विषय महानगरको बैठक एजेन्डा नै बनेको छैन ।

जेठ १७ गते, असार ६, ९, २७, २९ गते र साउन ८ गते कार्यपालिका बैठक भयो । त्यसयता मेयर शाक्यले कार्यपालिका बैठकसमेत राख्न सकेका छैनन् । बैठक राख्न नसकेपछि केही निर्णय एकलौटी गरिरहेको आरोप वडा अध्यक्षहरूको छ । गरेका निर्णय पनि केही त विवादको पिङ खेलिरहेका छन् । विवादमा नपरेका निर्णय पनि कार्यान्वयनको पुलसम्म पुगेको छैन ।

पहिलो कार्यपालिका बैठकले क्लिन काठमाडौँ अभियान थालनी गर्ने भनियो । सूर्योदय अगावै फोहोर बिसर्जन र व्यवस्थापन गर्ने उल्लेख थियो । महानगर धूलो धूवाँमुक्त हुनु त कता हो कता, केही दिनदेखि सडकका फोहोर उठ्न नसक्दा महानगर दुर्गन्धको रत्नपार्क बनिरहेको छ । नीति तथा कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी तथा वडाध्यक्षका एजेन्डा समेट्न नचाहेको आरोप छ शाक्यलाई ।

एकसय दिनका अवधिमा निकै चर्चामा आए मेयर शाक्य । तर, उनी काम नगरीकनै चर्चित भए । महँगो मोबाइल, एक करोड २० लाखको गाडीका विवादमा शाक्यको नाम आइरह्यो । शाक्यले काठमाडौँलाई बाहिरबाट आएका मान्छेले बिगारेको बताउँदा पनि उस्तै चर्चा भयो । उखान छ, नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् ।

महानगरका मेयरमा लागु भयो यस्तै । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्डा पुर्न दिएको निर्देशनमा पनि महानगरका मेयरको सहयोग भएन । सार्वजनिक कार्यक्रममै खर्च जोगाउन खाल्डा नपुर्ने बताइदिए । यद्यपि शाक्यकै १ सय १ कार्यसूचीको २४ नम्बरमा सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधि प्रयोग गरी धुलो र खाडलरहित सडक निर्माण गर्ने उल्लेख छ । मिडियामा खासै आउन नचाहने शाक्य एकोहोरो मिडियामा छाइरहे, आइरहे ।

विद्यासुन्दरले सुनाए प्रगतिको फेहरिस्त

चुनावी घोषणापत्रमा १ सय दिनमा १ सय १ कामको मीठो नारा घन्काएका काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले व्यवहारमा भने केही गर्न नसकेको आरोप लागिरहेको छ । तर बिहीबार काठमाडौँका मेयर विद्यासुन्दरले आफ्नो कामको प्रगति सुनाए । प्रगति विवरणमा उनले बैठक बसेको देखि महानगरका वडा वडाबाट फोहोर सङ्कलन गरेकोसमेत सुनाउन भ्याए ।

विद्यासुन्दरले आफ्नो प्रमुख प्रगतिमा ८८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई विशेष भत्ता उपलब्ध गराएको र घरघरमै गई स्वास्थ्य सेवा दिएको उल्लेख गरे । साथै प्रत्येक वडामा वृद्धवृद्धाहरुका लागि मनोरञ्जनस्थल स्थापना कार्य सुरु गरिएको दाबीसमेत गरे ।

‘बसन्तपुर, रत्नपार्क र बालाजु पार्कलाई फ्रि वाईफाई क्षेत्र बनाएको तथा फोहोरबाट बिजुली निकाल्न सुरु गरिसकेका छौँ’, उनले भने । तर मेयरले फोहोर व्यवस्थापन भइरहेको बताइरहँदा पत्रकार सम्मेलन गरिएको सभागृहबाट ५० मिटरको दुरीमा रहेको वाल्मिकी क्याम्पसअगाडि फोहोर थुप्रिएको थियो ।

त्यसै गरी महानगरले विभिन्न स्थानमा पिछडिएका तथा गरिब परिवारलाई सीपमूलक तालिम दिएको दाबी गर्यो भने विभिन्न स्थानमा ९० दिने साक्षरता कक्षा सञ्चालन गरेको पनि कार्यप्रगतिमै उल्लेख छ । उनले निर्वाचनताका गरेका वाचाका विषय र अहिले मेयर तथा उपमेयरबीच बोलचाल नै बन्द भएको विषयलाई पनि यसरी स्पष्ट पारे ।

चुनावी प्रचारप्रसारका क्रममा ट्राफिक लाइटलाई पनि प्राथमिकतामा राखेका र घोषणापत्रमा उल्लेख गरेका शाक्यले पत्रकार सम्मेलनमा भने ट्राफिक लाइटको व्यवस्थापन गर्ने जिम्मा आफ्नो नभएको बताए ।

बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले आफ्नो कार्यप्रगति सुनाएपनि यी सबै नियमित प्रक्रियाका कामकाज थिए । जनताले अनुभूत गर्ने वा घोषणापत्रमा भनिएको विशिष्ट काम केही पनि गरेका थिएनन् । तर पनि आफ्नो बचाउ गर्दै उनले मिडियालाई सकारात्मक भएर समाचार सम्प्रेषण गरिदिन आग्रह गरे र भने, मोनोरेल त आउँछ नै त्यसभन्दा पहिले सवारी व्यवस्थापन र सहज गराउँछु ।

अराजक आलोचनाः अभिव्यक्तिबाटै आक्रमण

चुनावी प्रचारताका १ सय दिनमा १ सय एक काम भन्दै महानगरबारे फरक चित्र बनाएका विद्यासुन्दरले मेयरको शपथ लिएको १ सय दिन कट्दा माखो मार्न सकेनन् भन्नेको भिड छ । गर्न सकिने फोहोर व्यवस्थापन समेत भएन मान्छे सडकमा नआउँदै फोहोर उठाइसक्ने प्रतिबद्धता सम्झँदै नाक थुन्दै हिँड्नु परेको छ नागरिकले । एक दुई पटक मेयरले कुचो समाए पनि महानगरको फोहोर बढारिएन ।

महानगरको पहिलो बैठकले मेयर, उपमेयर र वडाअध्यक्षलाई मोबाइल किन्ने निर्णयमा आलोचनाको आँधी नै चल्यो । मोबाइल नकिन्ने निर्णयको सार्वजनिक वक्तव्य आए पनि  मोबाइल किनियो, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई आलोचित पारिरहे ।

मेयर विद्यासुन्दरको अर्को चर्चित काण्ड हो, आफ्ना लागि करोडौंको गाडी खरिद । विद्यासुन्दरले अहिले चढिरहेको करोड पर्ने गाडी कन्डिसनमै भए पनि उनले १ करोड २० लाख रुपैयाँमा टोयोटाको फच्र्युनर गाडी मगाएको भनियो । सडकमा खाल्डो भएर ढलमा बालिका बगिरहँदा खाल्डो पुर्न छाडेर बिलासी गाडी किनेको भनेर अर्को आलोचना भयो । यद्यपि त्यो गाडी पहिले नै महानगरले किनेको रहेछ र विद्यासुन्दरले प्रयोग गरेका छैनन् ।

सबैभन्दा बढी आलोचना त १ सय दिन कटेपछि भयो । १ सय दिन पुगेकै दिन सामाजिक सञ्जालमा १ सय १ लोप्पा नामक ह्यास ट्याग प्रयोगमा ल्याइयो । पत्रकार लेनिन बञ्जाडेले सोमबार बिहानै फेसबुकमा यस्तो स्टाटस लेखे । ‘आज दिनभरि यो १ सय १ लोप्पा ह्यासट्यागमा लेखौं र काम नपाएका विद्यासुन्दर शाक्यलाई स्टाटसहरु पढ्ने काम दिऊँ ।’ सोमबार नै भाष्कर रिजालले ‘यी काठमान्डुका मेयरको नाम मै गडबडी रै’छ, सिध्यासुन्दर हुनुपर्ने झुक्केर विद्यासुन्दर भएछ । राज्यको ढुकुटी सिध्याउनेभन्दा केही काम गरेनन् । १०१ लोप्पा ।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता पौडेल राजले विद्यासुन्दरले हावादारी गफ मात्रै दिने अनि मूर्ख जनताले यस्तैलाई जिताउने हुँदा आज आफैँलाई लोप्पा खुवाउन परेको आशयको स्टाटस लेखे । सुरुदेखि नै विवादमा आएका विद्यासुन्दरकै विषयलाई लिएर कार्टुनिष्ट विन्दु पौडेलले दुईवटा चित्र बनाएर सामाजिक सञ्जालमा पोस्ट गरे । पहिलो कार्टुन थियो कान ठुला बनाएर मोबाइलमा कुरा गर्दै गरेको । जसको व्यंग्य थियो, विद्यासुन्दरले सुन्न सक्दैनन् र गफ मात्रै दिन्छन् ।

अनि यो चाहिँ दोस्रो कार्टुन । कार्टुनको क्याप्सनमा लेखिएको छः ‘एन्ड द मिस स्मार्ट अवार्ड गोज टू मिस सुन्दर ।’ यो कार्टुनमा विद्यासुन्दरले हातमा मोबाइल लिएर पुष्पगुच्छा लिएको र खुसी भएको देखाइएको छ । मेयर भएपछि उनको रुपरंग फेरियो तर महानगरमा परिवर्तन आएन भन्ने व्यंग्य कार्टुनले गरेको छ । तर कार्टुनको विषयलाई लिएर केही महिलावादीले विरोधसमेत गरे । मेयर भएपछि केही काम नगरेको भन्दै सामाजिक सञ्जालमा ह्यास ट्याग र कार्टुन प्रयोग गरी शाक्यको विरोध जारी छ ।

२०७४ भदौ २३ गते १९:१८ मा प्रकाशित
250 पटक पढिएको

प्रतिक्रिया दिनुहोस