दिदीभाइ उम्मेद्वार, दुई भाइ चुनाव विरोधी, आमालाई धर्म संकट
आइतबार, २५ भदौ २०७४
दिदीभाइ उम्मेद्वार, दुई भाइ चुनाव विरोधी, आमालाई धर्म संकट

प्रमोदकुमार साह
धनुषा।  आमाका लागि आफ्ना सबै सन्तान उत्तिकै हुन्छन्, माया ममतामा आमाले कहिल्यै भेदभाव गर्दिनन् । तर तिनै ममतामयी आमा कहिलेकाहीँ छोरा छोरीको निर्णय धर्मसंकटमा पर्छिन् ।

यस्तै भएको छ जनकपुरमा एउटी आमालाई । जनकपुरमा एकै परिवारका दुई सदस्य फरक पार्टीबाट उम्मेदवार बन्द तिनै आमाका अरु दुई छोरा चुनावविरोधी अभियानमा जुटेका छन् । दुई जनता चुनाव लड्दै गर्दा अन्य दुई भाइ चुनाव बहिष्कार अभियानमा होमिएपछि पारिवारिक झमेला चुलिएको छ भने आमा बिलखबन्दमा परेकी छन् ।

दुई छोराछोरी एकातिर चुनावी मैदानमा छन् भने अर्कातिर दुई छोरा बहिष्कारमा, एउटी आमालाई यो भन्दा धर्मसंकट अरु के पर्ला । एकातिर दुई उम्मेदवार, अर्कातिर दुईजना बहिष्कारमा उभिएपछि ७० वर्षीया आमा आशादेवी निकै समस्यामा पर्नुभएको छ ।

जनकपुर उपमहानगरपालिका–८ का कृष्णचन्द्र मिश्र र आशादेवी मिश्रका ६ छोराछोरीमध्ये दुई भाइबहिनी उम्मेदवार बनेका छन् भने दुई भाई चुनाव बहिस्कारको पक्षमा उभिएका छन् ।

४५ वर्षीया दिदी पुनम मिश्र नेकपा एमालेबाट जनकपुर उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार बनेकी छन् उनले लोकतन्त्रमा सबैलाई अधिकार हुने भएकोले आफना भाइहरुले चुनाव वहिष्कार गर्दैमा कुनै फरक नपर्ने बताइन् ।

यस्तै उनका कान्छा भाइ अम्भोज मिश्र राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुर उपमहानगरपालिका– ८ मा वाडा सदस्यको उम्मेदवार छन् ।

दीदीभाइ उम्मेदवार भए पनि  माहिला भाइ सरोज मिश्र र साहिँला भाइ अनुज मिश्रचाहिँ चुनाव बहिस्कारको पक्षमा उभिएका छन् । सरोज संविधानको प्रारम्भिक मसौदा जनताबीचमै आएदेखि मधेस अधिकार संघर्ष समिति (मास) नामका संगठन बनाएरे मधेस आन्दोलनदेखि नै सक्रिय भएका युवा हुन् ।

संविधान संशोधन संशोधनका लागि विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएका छन् उनले । माहिला भाइ अनुजले पनि दाजुको लाइनमा समर्थन जनाउँदै आएका छन् ।

गत बुधबार भएको मनोनयन दर्ताको दिन दिदी पुनम र कान्छो भाइ अम्भोज बाजागाजासहित दुई दलबाट उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय जाँदा सरोज र अनुज केही युवाको नेतृत्व गर्दै जनकचोकमा ‘संविधान संशोधनबिनाको चुनाव बहिस्कार गरौँ’ नारा लेखिएको प्ले कार्डसहित धर्नामा बसेका थिए । दुवै भाइले अरुलाई पनि मधेस आन्दोलनका सहिदको अपमान हुने भन्दै चुनाव बहिस्कार गर्न सुझाव दिँदै आएका छन् ।

दिदीभाइ उम्मेदवार र दुई भाइ चुनाव बहिस्कारको फरक धारमा खडा हुँदा परिवारका सदस्यसमेत समस्यामा परेका छन् । परिवारका सदस्य भित्र जेठो मनोज निर्वाचनमा कर्मचारीका छन । उहाँकी पत्नी बबिता मिश्र चुनावमा भोट नहाल्ने देवरहरुको पक्षमा हुनुहुन्छ । त्यसैगरी वहिष्कार गर्ने सरोज मिश्र र अनुज मिश्रका श्रीमतीहरु पतिकै पक्षमा छन् । वडा सदस्यका उम्मेदवार कान्छा भाइ अम्भोज मिश्रकी श्रीमती निशा श्रीमानको पक्षमा भोट हाल्न तयार छिन् ।

२०७४ भदौ २५ गते ०९:४७ मा प्रकाशित
519 पटक पढिएको

प्रतिक्रिया दिनुहोस