‘स्थानीय तहको नतिजा कास्टिङ मात्रै हाे, मंसिरमा फिल्म देखाउँछौं’
सोमबार, २६ भदौ २०७४
‘स्थानीय तहको नतिजा कास्टिङ मात्रै हाे, मंसिरमा फिल्म देखाउँछौं’

आणविक कार्यक्रमलाई लिएर अमेरिकासँग तनाव चुलिइरहेका बेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुरमा नेपाल उत्तर केही साताअघि उत्तर कोरियाको भ्रमणमा निस्कनुभयो । विश्वमहाशक्तिसँग आणविक कार्यक्रमलाई लिएर कोरियाली प्रायद्वीपमा तनावको अवस्था रहेका बेला नेता नेपालको भ्रमणलाई लिएर धेरै कोणबाट प्रश्न पनि गरियो । सरकारका केही मन्त्रीले उहाँको भ्रमण गलत समयमा भएको टिप्पणी पनि गरे । संसदीय टोलीसहित उत्तर कोरिया पुग्नुभएका नेता नेपाल फर्किसक्नु भएको छ । अहिले नेता नेपाल उहाँको गृहजिल्ला रौतहटसहित दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रित हुनुहुन्छ । एमालेलाई पहिलो दल बनाउने योजनाका साथ उहाँ दुई नम्बर प्रदेशको निर्वाचनमा सक्रिय हुनुहुन्छ । व्यस्तताकाबीच नेता नेपालसँग जनता टेलिभिजनको कार्यक्रम द भ्यू का लागि अरुणदेव जोशीले लिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रदेश नम्बर २ को चुनाव आइसक्यो । कतिको व्यस्त हुनुहुन्छ ?

चुनावी अभियानले गति लिइ सकेको छ । अहिले त्यसैमाा केन्द्रित छु । एमालेको पक्षमा परिणम ल्याउनका लागि म सक्रिय भएको छु । केही दिनमै म प्रदेश नम्बर दुईमै केन्द्रित हुन त्यता जाँदैछु ।

तेस्रो चरणको निर्वाचन भइरहेको स्थान एमाले कम्जोर भएको ठाउँ भनिन्छ नि ?

एकै चरणमा चुनाव गर्ने भनिएको थियो । तर देशभरीको आकलन गर्दा एमाले बलियो हुने ठानेर प्रदेश नम्बर ३, ४ र ६ मा चुनाव घोषणा गरियो । त्यसपछि दुई चरणमा लगियो त्यसपछि तेस्रो चरणको भनियो । हचुवा तालमा चरण चरणमा निर्वाचन घोषणा गरियो । हचुवा र होमवर्क र सल्लाह नगरी मिति तय गरियो । तीन महिना पर सारेर दुई नम्बरको चुनाव गर्ने भनियो

पहिलोमा एमाले पहिलो भएपछि दोस्रोमा एमाले पत्तासाफ हुन्छ भनियो तर एमाले पहिलो भयो फराकिलो अग्रताले । अहिले दुई नम्बरमा एमाले तराई विरोधी पार्टी भनिँदैछ तर एमालेको पक्षमा त्यहाँ जनलहर देखिएको छ । गाउँमा गाउँमा नगर नगरमा सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ । दुई नम्बरको चुनावमा एमाले पहिलो शक्ति भएर आउँछ । यसमा कसैले शंका नगरे हुन्छ । एमाले पहिलो पार्टी मात्रै हुँदैन, नयाँ रेकर्ड बनाउँछ ।

टिकट वितरणमा पनि विवाद सुनियो । यस्तो विवादकाबीच पनि एमाले कसरी पहिलो हुन्छ ?

टिकट वितरणमा भएका कम्जोरीबारे समीक्षा हुन्छ तर समय आएपछि । अहिले मैदानमा आएका उम्मेदवारलाई जिताउन सबैले शक्तिका साथ लाग्नुपर्छ । अहिले एमालेलाई जिताउन सबैलाई जिताउन लाग्नुपर्छ । पार्टीको उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ ।

स्थानीय निर्वाचपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हामी जाँदैछौ । त्यसका लागि तपाइँहरुको तयारी कस्तो छ ?

संसदीय र प्रदेश निर्वाचनमा के हुन्छ भन्ने कास्टिङ स्थानीय निर्वाचनले देखाइसकेको छ । एमालेले प्रदेशमा पनि जित्छ र केन्द्रमा पनि जित्छ । यस पटकको माहोल एमालेको पक्षमा छ । एमाले र अन्य पार्टीको भूमिकालाई जनताले मूल्याङ्कन गरेका छन् ।अन्य दलहरु लम्पसारवादको नीतिमा चुर्लुम्म डुबेका छन् । राष्ट्रिय स्वाभिमान विपरित काम गरेका छन् । कांग्रेसले लोकतन्त्रको खिलाफ काम गरिरहेको छ । यतिखेर सरुवा बढुवा गरिरहेको छ । एउटै गतिलो काम गरेको छैन । एक मात्र महिला प्रधानन्यायाधीशमाथि विनाकारण महाअभियोग लगाएर बदनामी कमाए । यो मामिलामा कांग्रेस–माओवादी एउटै सिक्काका दुई पाटा हुन् ।

कांग्रेस अगतिलो पार्टी हो । अगतिलो पार्टीले अर्को अगतिलो माओवादीलाई खोज्यो । चिवतनमा गरेको भाँडभैलो देखिजानुभयो । अहिले हाम्रा उम्मेदवारहरुलाई मार्ने धम्की आइरहेको छ । माओवादीको कुरै छाडौँ । काटमारको राजनीतिबाट आएको उसले कांग्रेससँग सहकार्य गर्दैछ । दुई नम्बर प्रदेशेका तालमेल पनि उनीहरुको स्वार्थ नमिलेकाले सम्भव भएन । सबै कुरा हेर्दा लोकतन्त्र र जनताको हिसाबले हेर्दा पनि यी दुवै पार्टी गतिला छैनन । नेकपा एमाले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न, परिवर्तनको एजेन्डा बोक्न र विकास निर्माणका काममा अघि बढिरहेको छ ।

एमाले भित्रको गुट उपगुट, पक्ष र प्रतिपक्ष देखिँदैछ । एमालेमा प्रतिपक्ष कम्जोर भएको बताइन्छ । के भन्नुहुन्छ ?

पार्टी कमिटि प्रणालीमा चल्छ । मूल्यांकनका आधारमा व्यक्तिलाई हेर्नुपर्छ । राम्रो गरे नगरेको कुरा हेर्न सकियो भने पार्टीको लोकप्रियता बढ्छ, जनतामा साख पनि बढ्छ । यी नहुँदा दीर्घकालमा पार्टीलाई क्षति हुन्छ । एमालेले आफूलाई जिम्मेवार दलका रुपमा उभ्याउन सक्नुपर्छ । कुनै पार्टीसँग तुलना गर्नुभयो, एमाले बेट्टर तर एमाले आफैँमा पर्फेक्ट छैन । एमालेले आफ्ना कम्जोरी सुधारेन भने जनताका सपना पूरा हुँदैनन् , मुलुकको विकास पनि हुन सक्दैन । जनताले एमालेबाट आशा गरेका छन् । एमालेले राजतन्त्र र पार्टीविहीन पद्धतिविरुद्ध पनि लड्दै आयो । २०४६ को आन्दोलन र गणतन्त्रका लागि पनि एमालेले अग्रणी मोर्चामा भूमिका खेलेको छ ।

पार्टी एकजुट हुनुपर्छ भन्नुहुन्छ तर पार्टी कार्यकर्ताहरु एउटा समूहको मात्रै पकड भयो भन्छन्, एउटा समूहलाई पाखा लगाउन खोजियो भन्छन् । तपाईँ के भन्नुहुन्छ ?

पार्टी सिस्टमबाट चल्यो भने कार्यकर्तालाई काममा आधारमा मूल्याङ्कन गरियो भने यो किसिमको समस्या आउँदैन । जनतामा लोकप्रिय कार्यकर्तालाई जिम्मेवारी दिने परिपाटी भयो भने यस्ता समस्या देखिँदैनन् । पार्टीलाई जोगाउने हो भने असल व्यक्तिलाई जोगाउनुपर्छ । अहिले हामी चुनावमा केन्द्रित छौँ । चुनावी वातावारणमा हामीले पार्टीलाई कम्जोर बनाउने अभिव्यक्ति दिनुहुँदैन । चुनावका बेला काखा पाखा गरियो भने कार्यकर्ताले नै तिरस्कार गर्छन् । कहीँ भएको छ भने त्यस्ता कुरालाई सुधार्न जरुरी छ । मूल्यांकन पद्धति ठीक हुनुपर्छ, कसरी हुन्छ पार्टीलाई नम्बर एक पार्टी बनाउन र बहुमत दिलाउन लाग्नुपर्छ । एउटै किसिमको राय र विचारसहित हामी अगाडि बढ्नुपर्छ ।

पार्टीका उम्मेदवारलाई जिताउनुपर्छ भन्दा नेताहरुबाटै बोलिन्छ नि ?

म उत्तर कोरिया पार्टीको प्रतिनिधित्व गरेर गएको होइन । कोरियाको कमिटिको प्रतिनिधित्व गरेर गएको होइन । नेपालका सांसदहरुको टोलीको प्रतिनिधित्व गरेर उत्तर कोरिया गएको होइन । दक्षिण कोरियाका मित्रहरुको चहानालाई ध्यानमा राखेर गएको हो । पिस फेडेरेसनले समेत उत्तर कोरियामा गएर शान्तिको आवश्यकताबारे सन्देश पुर्याइदिन भनेकाले म उत्तर कोरिया गएको हुँ । कोरियामा प्रत्येक ५ वर्षमा हुने कार्यक्रममा गएको हुँ । पार्टी केन्द्रीय कार्यालयमा जानकारी गराएको थिएँ । पार्टी महासचिवलाई पनि जानकारी गराएको हुँ ।

उत्तर कोरिया जाँदा पार्टीको पनि प्रतिनिधित्व होस भन्ने थियो कि?

विमलेन्द्रलाई मैले कुटनीतिको शिक्षा दिन जरुरी छैन । नेपालका परराष्ट्र सचिवलाई सोधर गएको हुँ । मैले जाउँ कि नजाउँ भनेर सोधेको छु । दक्षिणकोरियास्थित राजदूतलाई पनि भनेको छु ।

ट्रम्पले उत्तर कोरियामा आक्रमण गर्ने भनेका छन् ? उत्तर कोरिया पनि आक्रमक छ । त्यहाँ जाँदा सचेत हुनु जरुरी थियो  किए थिएन ?

दक्षिण कोरियाका राष्ट्रपतिले अहिले पनि शान्ति कायम गर्न उत्तर कोरिया जान्छु भनिरहनु भएको छ । त्यसो भए के त्यो गलत थियो । कुटनीतिक भाषमा ट्रयाक टु भन्छन्। पिपुल टु पिपुल । राज्यस्तरमा गरिनेलाई ट्रयाक वान भनिन्छ । चीन र अमेरिकाको सम्बन्ध तपाईँलाई थाहा छ । तर, पिङपङ डिप्लोमेसीलाई उनीहरुले अघि बढाए । युद्धका बेला पनि त्यहाँका राष्ट्रपतिले गोप्यरुपमा कुटनीतिक पठाएर वार्ता गरे ।

तपाईँको उद्धेश्य शान्तिका लागि थियो त ?

मेरो उत्तर कोरिया भ्रमण शान्तिका लागि थियो । अमेरिका र उत्तर कोरियाबीच जारी तनाव कम गर्ने प्रयासस्वरुप म उत्तर कोरिया गएको हुँ । कसैले पनि शान्तिको वातावारण भड्काउनु हुँदैन ।

कसरी प्रभावित पार्न सक्नुभयो ?

रुस, चीन, अमेरिका, उत्तर कोरिया र दक्षिण कोरियाबीच शान्तिका लागि वार्ता गर्नुपर्छ । एकअर्काको मामिलामा हस्तक्षेप नगर्ने गयरेन्टी खोजेको छ उत्तर कोरियाले । मैले पनि त्यो कुराका लागि अन्तराष्ट्रिय सम्बन्ब बढाउनु भनेँ । शान्तिवार्ताबाटै निकास खोज्न त्यहाँका माथिल्लो तहका नेतालार्इ अाग्रह गरेँ ।

उत्तर कोरिया भित्र माहोल कस्तो छ ?

उनीहरु युद्ध गर्न तयार छन्, युद्धको मनस्थितिमा देखिन्छन्, हामीलाई तर्साउन खोजिँदा हामी डराउँदैनौँ भन्छन् । तर मैले अर्को पनि एभिन्यु बनाउनुस भने, वार्ता गर्नुस भने । एकअर्काका चासोका विषय के हुन् त्यसमा ध्यान दिनुस भनेको छु । अरुका कुरा पनि सुन्न अन्तराष्ट्रिय सम्बन्ध बढाउँदा राम्रो हुन्छ भनेको छु ।

मैले त्यहाँका दोस्रो ठुला नेता राष्ट्रपतिसँग भेटेँ, अनि अन्य नेताहरुसँग पनि भेट्न सकेँ । तर किम जोङ उनसँग भेट्न पाइन । किम इल सुङसँग मैले १९९० मा भेटेको थिएँ । कोरियाली जनता पनि शान्ति चाहन्छन् । कोरियाली जनता आर्थिक विकासतर्फ जान चाहे भने विकासमा फड्को मार्न सक्छन् । उनीहरुले संकल्प गरेपछि देशलाई अर्कै बनाउन सक्छन् ।

फरक प्रसंग, अहिले एमालेले उठाइरहेको राष्ट्रवाद कस्तो हो ?

नेपाल एउटा स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र हो कि होइन ? नेपालले आफ्ना समस्या आफैँ समाधान गर्न पाउने कि नपाउने । नेपालमा कसैले हस्तक्षेप गर्यो भने नेपाली जनताको मनमा चोट पर्छ । घरको मामिलामा हस्तक्षेप गर्दा त स्वीकारिँदैन । नेपालको संविधानमा यो मिलाऊ, त्यो मिलाऊ भन्ने कुरा हामी स्वीकार्न सक्दैनौँ ।

भारतको विरोध गर्नु राष्ट्रवाद हो र?

नेपालमा यो अवस्था आउनु भारतका गतिविधि जिम्मेवार छैनन? भन्ने खोजिनुपर्छ । सन् १९५० को सन्धि बेठी भएको हो । नेपालले चीनसँग बाटो बनाउँदा भारतले हस्तक्षेप गर्दा बेठीक भएको हो । नेपालले काठमाडौँबाट धनकुटा जाने बाटो बनाउँदा बेठीक नहुने तर चीनसँग बाटो खोल्दा बेठीक हुने यो ठीक होइन ।

भारतसँग सम्झौता गर्दा राष्ट्रघात हुने तर चीनसँग गर्दा राष्ट्रवाद हुने यो कसरी हुन्छ ?

भारतले नेपाललाई गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्छ । भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालीको मनोविज्ञानमा कति चोट पुगेको होला? नाकाबन्दीले तराई, पहाडका छोराछोरीले पढ्न पाएनन् । सबै कुरा अवरुद्ध भयो, नेपालीको जनजीवन अस्तव्यस्त भयो । यस्तो नराम्रो कुरालाई कुन् विश्व समुदायले स्वीकार्छ ? नेपालको संविधानमा समस्या भएमा नेपालले संशोधन गर्छ, भारतले किन टाउको दुखाउने ? भारतले नेपाललाई सानो भनेर नहेपोस, हामी भारतलाई ठुलो भनेर पनि धारेहात लाउँदैनौँ ।

अन्तर्वार्ता यहाँ हेर्नुहोस्

२०७४ भदौ २६ गते १८:५१ मा प्रकाशित
6490 पटक पढिएको

प्रतिक्रिया दिनुहोस