जब सिआईएको इशारामा गिरिजाप्रसादले आफ्नै सरकार ढाले
सोमबार, २६ भदौ २०७४
जब सिआईएको इशारामा गिरिजाप्रसादले आफ्नै सरकार ढाले

काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता डा. युवराज संग्रौला नेपालको न्याय क्षेत्रको एक चर्चित नाम हो । नेपालको कानुनी क्षेत्रमा उहाँले गरेका वकालत धेरै चर्चित छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेपछि परेको रिटमा १२ दिनसम्म भएको बहसमा सहभागी अधिवक्तामध्ये एकजना उहाँ पनि हुनुहन्थ्यो ।

भर्खरै मात्र ‘निशंकोच अभिव्यक्ति’ पुस्तक लेख्नुभएका उहाँले त्यसमार्फत नेपालको न्यायक्षेत्रका धेरै विकृति उधिन्नु भएको छ । नेपालका नेताहरुमार्फत सर्वोच्च अदालत र समग्र न्याय प्रणाली कसरी विकृत पारियो भन्ने कुरा यो पुस्तकमा विस्तृतमा पढ्न पाइन्छ । धेरैजनाको पोल खोल्न सक्ने यो पुस्तकबारे उहाँले भन्नुभएको छ, ‘अब मेरा छोराराछोरी कमाएर खान सक्ने भए, मेरी पत्नी पनि आफैँ कमाउने भएकी छन् । यदि म तलमाथि भए पनि उनीहरुलाई समस्या हुने छैन । त्यसैले ढिलो गरी निकाले पनि डर नमानी यो पुस्तक लेखेको छु। मलाई केही भइहालेमा परिवार र छोराछोरीकाे चिन्ता छैन ।'

‘निशंकोच अभिव्यक्ति’ पुस्तक र न्यायक्षेत्रको विकृतिबारेमा जनता टेलिभिजनमा अशेष घिमिरेसँग कार्यक्रम ‘किताबका कुरा’मार्फत उहाँले धेरै रहस्यका पर्दा खोलिदिनुभएको छ ।

जब राष्ट्रपति कार्यालय पुगेँ

मलाई लाग्छ अभिव्यक्ति निशंकोच गर्नुपर्छ, यसो गर्न सकिए दिमागमा झुटो कुरा आउँदैन । मलाई एक दिन राष्ट्रपति कार्यालयबाट बोलाव भयो । महाराजगन्जस्थित राष्ट्रपति कार्यालयमा पुग्दा मलाई भित्र पस्न नै दिइएन । मैले त्यहाँ सुरक्षाकर्मीलाई राष्ट्रपतिबाट समय उपलब्ध गराइएको र आफू प्रोफेसर रहेको बताउँदा वास्ता गरेनन् । तर मैले पूर्वमहान्याधीवक्ता हुँ भनेर परिचय दिएपछि बुट बर्जादै त्यहाँ उभिएका सिपाहीँले स्यालुट ठोकेर भित्र पठाए । त्यसपछि मलाई लाग्यो, ‘साला यो देशमा ज्ञानको मतलब छैन, पोजिसनको मात्रै मतलब छ ।’

राष्ट्रपतिको कार्यालयमा जाँदा जस्तो व्यवहार गरे पनि मलाई प्राध्यापक भन्दा गौरव लाग्छ । प्राध्यापक युवराज संग्रौला भन्दा आत्मविभोर हुन्छ । महान्याधीवक्ता हुँदा नक्कली परिचय दिएजस्तो लाग्छ, पद पाऊँ भन्ने मलाई लागेन । न्यायाधीश र प्रधानन्यायाधीश बन्छु भन्ने लोभ थिएन । महान्यायाधीवक्ता हुन्छु भन्ने कल्पना पनि गरेको थिइन । अरु वरिष्ठ वकीलहरु भएका बेला म केटौले मान्छे महान्यायाधीवक्ता बन्छु जस्तो लागेकै थिएन ।

यसरी विकृत भयो नेपालको न्यायालय

नेपालमा राजनीतिक दलले च्यापेका राजकुमार राजकुमारीहरुलाई जब न्यायप्रणालीमा ल्याइयो तब न्यायप्रणाली विकृत भयो । न्यायप्रणाली विकृत हुन थालेको २०४७ सालबाट हो । पोखराको कास्कीकोटमा पञ्चायतकालमै दुर्गा आचार्यलाई १२ जना गुन्डाले बलात्कार गरे । त्यो बेला मालेकी कार्यकर्ता रहेकी उनको पक्षमा क्षेत्रीय अदालतका न्यायाधीश केदारनाथ उपाध्याय र ओमदत्त मिश्रले फैसला गरेका थिए । त्यो बेला मालेकी भूमिगत कार्यकर्ताको पक्षमा पनि अदालतले फैसला गरेको थियो ।  

२०४७ सालपछि पहिलो पटक न्यायाधीश नियुक्त गरिँदा एउटै परिवारका धेरैलाई प्रवेश गराइयो । ट्राभल एजेन्सी चलाइरहेका केही व्यक्ति पनि न्यायाधीश बने । नियुक्ति प्रक्रियाबाट न्यायप्रणाली भत्काइयो । २०४९ सालमा रामचन्द्र पौडेल सभामुख भएका बेला सर्वोच्च अदालतको फैसला सभामुखको कोठा बाट आयो । सर्वोच्चले फैसला गर्नु ५ दिनअघि नै त्यो फैसला सभामुखको कार्यकक्षबाट फोटोकपी गर्न ल्याएको बेला मैले पनि हेर्न पाएको थिएँ । त्यो फैसला गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेपछि परेको रिटबारे थियो । संसदको कार्यालयमा बसिरहेका बेला एउटा कागज फोटोकपी गर्न ल्याइएको थियो । जब मैले पनि हेरेँ, फैसला सुनाउन त चारपाँच दिन बाँकी छ, आज नै निर्णयको प्रतिलिपि कसरी आयो ? हाम्रो मनमा प्रश्न उठ्यो । सभामुखको कोठाबाट बाहिरिएको त्यो फैसलाको प्रतिमा प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले मात्रै हस्ताक्षर गरेका थिए, अरु न्यायाधीशको थिएन ।

मैले पूर्वमहान्याधीवक्ता हुँ भनेर परिचय दिएपछि बुट बर्जादै त्यहाँ उभिएका सिपाहीँले स्यालुट ठोकेर भित्र पठाए । त्यसपछि मलाई लाग्यो, ‘साला यो देशमा ज्ञानको मतलब छैन, पोजिसनको मात्रै मतलब छ ।’

त्यो बेला संविधान विपरीत रहेको हुनाले संसद पुनस्र्थापित हुन्छ भन्ने धेरैको विश्वास थियो । २०४७ सालपछिको पहिलो संसद व्यवस्थापिका होइन । पहिलो संसद ३० वर्षको पञ्चायत ढालेर ल्याइएको थियो । त्यो बेला एमाले प्रतिपक्षमा थियो, कांग्रेस सत्तामा । एमालेले १० १५ वर्ष कांग्रेसले सरकार चलाओस भन्ने चाहेको थियो तर गिरिजाप्रसादको सनकमा संसद विघटन गरियो । अहिले लोकतन्त्रको यो हरिबिजोगको प्रमुख कारण गिरिजाप्रसाद कोइरालाले गरेको संसद विघटन र त्यसलाई विश्वनाथ नेतृत्वको सर्वोच्चले वैधानिकताको जलप लगाउँदा भएको हो । त्यही कारण नेपाली जनताको आजको भाग्य खोसिएको छ ।

अदालतलाई गिरिजाप्रसादले चलाउँथे

अदालत त्यतिबेलै स्वतन्त्र थिएन । गिरिजाप्रसाद नेतृत्वको राजनीतिले अदालत चलाउँथ्यो । गिरिजालाई संसद विघटन गराउनुको उद्धेश्य पश्चिमी नवउदारबाद लाद्नु थियो । त्यो बेला गिरिजालाई पनि बहुमत आउँछ भनेर कसैले भनिदियो । त्यसका लागि गणेशमान, कृष्णप्रसाद र एमालेहरु बाधक थिए । संसद विघटनविरुद्ध परेको मुद्दामा १२ दिनसम्म बहस चल्यो । यही बहसले मलाई अधिवक्ताका रुपमा स्थापित गर्यो । विश्वनाथले लोकतन्त्रको बचाऊ गर्छन् भन्ने हामीले ठान्यौँ । तर, संसद पुनःस्थापित भएन, यहीँबाट नेपालमा लोकतन्त्र सकियो । लोकतन्त्रका लागि संसद पुनस्थापना हुनुपर्नेथियो । त्यसैले पत्रिका र बजारमा पनि संसद फर्किन्छ भन्ने चर्चा थियो । दमननाथ ढुंगानाले पनि संसद पुनःस्थापना हुन्छ भन्नुभयो । हामी त्यसपछि गणेशमान सिंहलाई भेट्न गयौँ । जुन बेला उनी कुर्सीबाट लडेर बिरामी थिए । हाम्रो काम देखेर उनी पनि खुसी थिए, म त बाँच्छु जस्तो लाग्यो भने । तर, सर्वोच्चको फैसला उल्टो आयो, त्यही दिनबाट नेपालमा न्याय मर्यो ।

गिरिजाप्रसादलाई पश्चिमी विश्लेषक तथा अमेरिकन जासुस एजेन्सी सिआईएले संसद विघटन गरेमा कांग्रेसको बहुमत आउँछ भनेको थियो । त्यही कुरामा गिरिजा आफ्नो पार्टीमा पडक बनाउन र एमालेलाई ठेगान लाउन उचालिएका थिए । चुनाव भएमा सिआईएको विश्लेषणले कांग्रेसको बहुमत आउने निचोड निकालेको थियो । उनीहरु अर्थ मन्त्रालय भित्र कोठा लिएर बसेका थिए ।

तर, सिआईएले भने जस्तो भएन । कांग्रेस हारेर हारेर नेकपा एमालेको सरकार बन्यो । मनमोहन अधिकारी नेतृत्वको नौ महिनामा एउटा ज्यान मरेको थिएन, चोरले मारेको भए बेग्लै कुरा । कहीँ हड्ताल पनि भएन । गाउँमा बजेट थान थाल्यो । गाउँ विकास समितिमा जाने पाँच लाखले नेपालको धर्ती नै परिवर्तन भयो । तर त्यसलाई उल्ट्याउन अविश्वासको प्रस्ताव हालियो ।

त्यहीबेला हेलिकोप्टरबाट लडेर प्रधानमन्त्री मनमोहन अधिकारी अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्री अधिकारीलाई भेट्न म अस्पतालमा गएँ । उहाँले राजीनामा दिने नदिनेबारे सोध्नुभयो, मैले राजीनामा नदिनु भनेँ । प्रधानमन्त्रीलाई स्ट्रेक्चरमा लगेर संसदमा अविश्वासको प्रस्ताव फेस गराइयो । यो भन्दा ठुलो राजनीतिक पाप र अनैतिकता नेपालको राजनीतिक इतिहासमा छँदैछैन । सर्वोच्च अदालत पनि त्यतिबेलै गिरिजाप्रसादको राजनीतिक निर्देशनबाट चल्थ्यो । गिरिजाप्रसादले जसरी नै अधिकारीले विघटन गरेको संसद भने राजनीतिक मुद्दामा प्रवेश गरेर अदालतले विघटन गर्न दिएन ।  त्यसपछि अदालतको साख ध्वस्त भयो ।  राजनीतिज्ञहरुले फटाही गर्छन्, तर  अदालतले विवेकमा चुक्नु हुँदैन भन्ने मान्यता पनि समाप्त भयो ।

यसरी भित्रियो पश्चिमाको विष

धेरै ढोंगी मान्छेहरु कम्युनिष्ट बनेका छन् । कतिपय ढोंगी मान्छेहरु कम्युनिष्ट भए । जो कोहीले बोल्दैनन् । मैले ढिलै भए पनि बोल्ने हिम्मत गरेँ । किन भने अब मेरा छोराछोरी पनि हुर्के र पत्नी पनि आफैँ कमाउन सक्ने भएकाले मैले यो किताब लेख्ने आँट गरेँ ।

अदालत त्यतिबेलै स्वतन्त्र थिएन । गिरिजाप्रसाद नेतृत्वको राजनीतिले अदालत चलाउँथ्यो । गिरिजालाई संसद विघटन गराउनुको उद्धेश्य पश्चिमी नवउदारबाद लाद्नु थियो ।  

हाम्रो संस्कृतिमा पश्चिमाहरूबाट सुरुमा शिक्षामा आक्रमण गरियो । २०२८ मा अमेरिकनको लहैलहैमा शिक्षानीति बदल्दा यो विकृति आयो । अमेरिकनले नेपालको शिक्षा समाप्त पारे । अहिलेका छोरा छोरी आमाले भात खान्छ, दिदी जान्छ भन्न थालेका छन् । भाषा समाप्त भएपछि दूध बेचेर कोक खाने जमाना आयो ।

अब देशभक्तिलाई विकाससँग जोड्नुपर्छ । मेरो कलेजमा अहिले पनि मही मात्रै खाने व्यवस्था छ, कोकाकोला पाइँदैन । दिनमा ५ सय विद्यार्थीले मही खाँदा गाई पालकलाई फाइदा भइरहेको छ । डेरी पनि चलेका छन्, यसरी विकाससँग जोड्नुपर्छ देशभक्तिलाई ।

पुरा अन्तर्वार्ता यहाँ हेर्नुहोस्

२०७४ भदौ २६ गते १९:२२ मा प्रकाशित
666 पटक पढिएको

प्रतिक्रिया दिनुहोस