‘म्यानपावर व्यवसायी नाङ्ले पसले जस्ता, धरौटी अब एक करोड’
मङ्गलबार, २७ भदौ २०७४
‘म्यानपावर व्यवसायी नाङ्ले पसले जस्ता, धरौटी अब एक करोड’

काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वप्रकाश पाण्डेले म्यानपावर व्यवसायी नाङ्लो पसलेजस्तै भएका बताउनुभएको छ । विभागका महानिर्देशक पाण्डेले थोरै धरौटी भएका नाङ्लो व्यवसायीजस्तो भएका कारण उनीहरूलाई व्यवस्थित बनाउन धरौटी बढाउनुपर्ने बताउनुभयो ।

‘पछिल्लो समयमा वैदेशिक रोजगारीको नाममा ठगी निकै बढ्दै गएको छ’, महानिर्देशक पाण्डेले भन्नुभयो, ‘आर्थिक वर्ष २०७३–०७४ व्यक्तिगत नौ सय ३१ र संस्थागत उजुरी दुई हजार तीन सय ८३ परेको छ, यो भनेको संस्थागत उजुरी तीन गुणा बढी हो ।’

१० हजार रुपैयाँ मात्र सेवा शुल्क लिने नियम भए पनि मलेसियाका लागि व्यवासायीहरुले १ लाख २० हजार रुपैयाँसम्म लिएको उजुरी परेको बताउनुयभो । ‘यो ठगी रोक्न आवश्यक छ, यो अपराध रोक्न मैले अनुमगन बढाएको छु ।’ विभागमा भएको व्यवसायी र कर्मचारीको छलफलमा व्यवसायीलाई मर्यादित भएर व्यवसाय गर्न उहाँले आग्रह गर्नुभयो ।

गरिब कामदारलाई लाखौँ रुपैयाँ ठग्ने व्यवसायीले विभागको अनुगमन रोक्न दबाब दिनु निकै लज्जास्पद भएको भन्दै यस्ता निर्लज्ज काम नगर्न व्यवसायीहरुलाई उहाँले आग्रह गर्नुभयो । महानिर्देशक पाण्डेले व्यवसायीहरुलाई गरिब कामदारलाई ठगेर रातारात मालामाल बन्नु भन्दा पनि दीर्घकालीन समयमा लागि सोचेर व्यवसाय गर्न र धेरै नठग्न पनि सुझाव दिनुभयो ।

पाण्डेले ९० प्रतिशत पुरानै कुरा राखेर वैदेशिक रोजगार ऐन २०६४ संशोधनको क्रममा रहेको जानकारी दिँदै १० प्रतिशत मात्र नयाँ थपिने  बताउनुभयो । महानिर्देशक पाण्डेले संशोधनको क्रममा रहेको ऐनमा एजेन्ट जिम्मेवार बनाउन र सम्बन्धति जिल्लाको जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने र ऐनले कामदारलाई जिम्मेवार र मर्यादित बनाउने विषय समावेश भएको जानकारी गराउनु भयो ।

धरौटी बढाउने विषयमा विभागले केही गर्न नसक्ने भन्दै पहिलो चरणमा भएको छलफलमा धरौटी एक करोड रुपैयाँ पुर्याउने प्रस्ताव मात्र गरेको जानकारी गराउनुभयो ।

यता वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले व्यवसायीले एक करोड धरौटी कुनै पनि हालतमा राख्न नसकिने बताउनुभयो । ‘विभागले अध्ययन नै नगरी नयाँ दुई सय व्यवसायीलाई लाइसेन्स दियो’, गुरुङले भन्नुभयो, ‘अहिले ठगी न्यूनीकरण गर्न भन्दै धरौटी बढाउन लागिको छ, सङ्घले यो निर्णय कुनै हालतमा मान्दैन ।’

धरौटी एक करोड रुपैयाँ पुर्याइएमा आन्दोलनमा जान बाध्य हुने उहाँको धारणा छ । उहाँले सरकारले नै दक्षिण कोरिया र इजरायलमा पैसा लिएर कामदार पठाउने गरेकाले व्यवसायीले कुनै हालतमा निःशुल्क भिसा, टिकटमा कामदार पठाउन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले सरकारले नै ती देशमा निःशुल्क कामदार पठाउन आग्रह गर्नुभयो । ‘व्यवसायीलाई कामदार निःशुल्क भिसा, टिकटमा पठा भन्ने सरकाले नै दुई देशमा कामदार पठाउने गरेको छ, पहिले सरकारले कामदार निःशुल्क पठाओस’, गुरुङले थप्नुभयो, ‘ती देशमा पनि कामदार निःशुल्क पठाउनु पर्‍यो होइन भने व्यवसायीलाई मात्र निःशुल्क भिसा टिकटमा कामदार पठाउन दबाब दिनुहुँदैन, यसको कुनै अर्थ छैन ।’

 

२०७४ भदौ २७ गते १५:०६ मा प्रकाशित
2615 पटक पढिएको

प्रतिक्रिया दिनुहोस