आपूति मन्त्री भन्छन्ः आयल निगममा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न सक्दिन
मङ्गलबार, २७ भदौ २०७४
आपूति मन्त्री भन्छन्ः आयल निगममा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न सक्दिन

काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ ।

मन्त्री मण्डलले निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएपनि त्यसलाई कारबाही गर्न मन्त्रीपरिषद, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भएको दाबी गर्नुभयो ।

उहाँले जग्गा खरिद प्रकरणमा कैफियत देखिएकै कारण आफूले मन्त्रालयको तर्फबाट तयार पारिएको अनुसन्धान रिर्पोट आगामी मन्त्रीपरिषद बैठकमा पेश गर्ने जानकारी गराउनु भयो । मन्त्री मण्डलले जग्गा खरिद प्रकरणमा अनियमितता गर्ने सबैलाई कारबाही गर्ने काम मन्त्रीपरिषद, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भएको प्रष्ट पार्नु भयो ।

मन्त्री मण्डलले निगमको जग्गा खरिदमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुने अडान कायमै राख्नु भयो । आपूर्ति मन्त्रालयले जग्गा खरिदका सम्बन्धमा तयार पारेको प्रतिवेदन सोमबार नै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बुझाएको छ । मन्त्री मण्डलले त्यो प्रस्ताव मन्त्रीपरिषद बैठकमा पेश हुने र दोषिमाथि आवश्यक कारबाही प्रक्रिया सुरु हुने स्पष्ट पार्नु भयो ।

पेट्रोलियम पदार्थ भण्डारणका लागि निगमले झापा, चितवन, सर्लाही र भैरहवामा जग्गा खरिद गर्दा आर्थिक अनियमितता गरेको पाइएको संसदीय समितिको ठहर छ । संसदीय समितिहरुले स्थलगत अनुगमन गरी निगमले जग्गा खरिद गर्दा ऐन, कानुन उल्लघन गरेको खुलासा भएको छ ।

२०७४ भदौ २७ गते १९:२१ मा प्रकाशित
239 पटक पढिएको

प्रतिक्रिया दिनुहोस