राजधानीमा अचाक्ली धुलोधुँवा, थलिँदै बालबालिका
बुधबार, २८ भदौ २०७४
राजधानीमा अचाक्ली धुलोधुँवा, थलिँदै बालबालिका

काठमाडौं । अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ । खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक(पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ ।

चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको नभएपछि मन्दिराले मंगलबार बिहान उनलाई कान्ति बाल अस्पतालको ओपीडीमा र्पुयाएकी थिइन् । चिकित्सकले जाँचेलगत्तै रिदमलाई अक्सिजन दिन थालिएको थियोे । रिदमपछि अक्सिजन लिन १९ जना बच्चा लामबद्ध थिए । रुँदा, चिच्चाउँदा र झिँझो मान्दा शिशु सम्हाल्न आमाहरू सकसमा देखिन्थे ।

ओपीडीको अर्को कोठामा अस्पतालका निर्देशक डा.गणेशकुमार राई थानकोटकी सात वर्षीया अनुसा न्यौपानेलाई धुवाँधुलोबाट बच्न सल्लाह दिँदै थिए । आमा शिलाले चिकित्सकको सल्लाह ध्यानपूर्वक सुन्दै थिइन् । तर, उनीहरूलाई कुर्ने धैर्यता छेउतिर ठेलमठेल गर्दै उभिएका अन्य बच्चाका अभिभावकमा थिएन । डा.राई नजिकै बसेका अर्का चिकित्सकलाई कुपण्डोलका रोशन घिमिरेले आफूलाई घाँटी दुख्ने र सुख्खा खोकी लाग्ने गुनासो गर्दै थिए । रोशनकी फुपू निसाले भनिन्, ‘अचेल उसलाई थकाइ धेरै लाग्छ, झिँझो मान्छ । तनाव लिएजस्तो देखिन्छ ।’

धापासीकी निर्मला सुवेदी भीडमा छोरा सच्चन रुन थालेपछि कोठाबाट बाहिरिइन् । सच्चनलाई अचानक लगातार सुख्खा खोकी लागेपछि उनको पनि होसहवास उडेको थियो । मन्दिरा, शिला, निसा, निर्मलाजस्ता सयौं आमा अस्पतालको ओपीडीमा आफ्ना नानीलाई जँचाउन पालो कुर्दै थिए । कोठाको उकुसमुकुस भीडमा बिरामी बच्चाले असहज मानिरहेको प्रस्ट देखिन्थ्यो । यस्ता दृश्य अहिले हरेक सरकारी अस्पतालमा देखिन थालेको छ ।

‘बिरामीको संख्या ह्वात्तै बढ्यो । जाँच गर्न हामीलाई हम्मेहम्मे परेको छ’, भीडबाट फुत्किएपछि डा.राईले अन्नपूर्णसँग भने, ‘यसको मुख्य कारण धुवाँधुलो नै हो । यसले बच्चामा भयानक रोग देखिन थालेको छ ।’ विश्वकै प्रदूषितमध्येको सहर मानिने काठमाडौंमा धुवाँधुलोले कलिला बच्चालाई रोग बोकाउन थालेको छ ।

श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति

बालबालिकाको उपचार गरिने मुलुककै एक मात्र सरकारी बाल अस्पताल कान्तिको तथ्यांक डरलाग्दो छ । डा.राईका अनुसार गत वर्ष हरेक दिन सरदर पाँच सय बच्चा ओपीडीमा आउने गर्थे । यो वर्ष त्यो संख्या हजारसम्म पुगेको छ । तीमध्ये अधिकांश धुवाँधुलोका कारण श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेका बच्चा छन् ।

 

२०७४ भदौ २८ गते ०६:५८ मा प्रकाशित
44 पटक पढिएको

प्रतिक्रिया दिनुहोस