सप्तरीको सुरक्षा व्यवस्थामा कडाइ
बुधबार, २८ भदौ २०७४
सप्तरीको सुरक्षा व्यवस्थामा कडाइ

सप्तरी । आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

सम्बन्धित मतदान केन्द्रमा समेत प्रहरी टोली पठाइसकेको जानकारी दिँदै कुनै घटना हुन नदिनको लागि विशेष तालीम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, लागुऔषध र विस्फोटक पदार्थको खोजी गर्ने विशेष तालीम प्राप्त जर्मन शेफर्ड नामक कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनका लागि सप्तरी जिल्लामा करिब चारहजार नेपाल प्रहरी र दुईहजार सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । सप्तरी जिल्लामा १८ वटै स्थानीय तहमा करिब २९५ वटा मतदानस्थल रहेका छन् जसमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील रहेको बताइएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्ने उद्देश्यकासाथ जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

२०७४ भदौ २८ गते १२:३० मा प्रकाशित
55 पटक पढिएको

प्रतिक्रिया दिनुहोस