कहाँ गयो प्रधानमन्त्रीबाट शिलान्यास महाकाली पुलको शिलालेख ?
बुधबार, २८ भदौ २०७४
कहाँ गयो प्रधानमन्त्रीबाट शिलान्यास महाकाली पुलको शिलालेख ?

महेन्द्रनगर । महाकाली नदीमाथि निर्माण गर्न लागिएको पक्की पुलको गत भदौ १५ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नु भयो । साढे ३ अर्बमा बन्ने पुलको शिलान्यास गरेको १५ दिन नबित्दै महाकाली किनारमा रहेको शिलालेख नै वेपत्ता पारिएको छ ।

४ लेनको पुल शिलान्यास गरिएको २ साता नहुँदै अनावरण गरिएको शिलालेख नै उप्काइएको हो । पुल निर्माणको ठेक्का लिएको कुमार सीएसइभी जेभी कम्पनी शिलालेख उप्काएर लगेको हो । प्रधानमन्त्री देउवाले कन्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीमा शिलान्यास गर्दा राखिएको शिलालेख हराउने भन्दै ठेकेदार कम्पनीले उप्काएर लगेको स्थानीयबासीको भनाइ  ।
उप्काइएको शिलालेख अहिले ठेकेदार कम्पनीले महेन्द्रनगर जानकीटोलस्थित कार्यालयमा लगेर राखेको  छ। ठेकेदार कम्पनीका कर्मचारीले  शिलालेख तोडफोड गरेर विगार्ने भएकाले उप्काइएको जनाएका छन् ।

यही सोमबार पुल बनाउने ठेक्का लिएको कम्पनीकै कामदारले शिलालेख उप्काएका हुन् । ठेकेदार कम्पनीका लेखापाल विक्रम थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरको निर्देशनमा शिलालेख उप्काइएको उल्लेख गरेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयसँग अनुमति लिएर शिलालेख उप्काइएको दाबी गरेका छन् ।

मार्बलबाट बनेको शिलालेख अहिले कुमार श्रेष्ठ निर्माण सेवाको महेन्द्रनगरस्थित कार्यालयको कोठामा राखिएको छ । कन्चनपुरको महाकालीमा ८ सय मिटर लामो र २३.८ मिटर चौडाइको ४ लेनको पुल बनाउने तयारी गरिएको छ । महाकाली नदीसँगै जोडेर यहाँ ७.८ किलोमिटर लामो ४ लेन सडक पनि बनाउने योजना छ । पुल बनाउन चालू आर्थिक वर्षमा सरकारले ९९ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ ।

त्यसमा १० करोड रुपैयाँ पुलसँगै बनाइने सडक बनाउन चाहिने जमिन लिन मुआब्जाका लागि बाँडिनेछ । तीन वर्षमा बनाउने भनिएको यो पुलका लागि ठेकेदार कम्पनीसँग ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँको निर्माण सम्झौता गरिएको छ ।

किन उप्काइयो त शिलालेख

यो शिलालेख नेपाली कांग्रेसभित्रको झगडाका कारण उप्काइएको बताइन्छ । शिलालेखमा प्रधानमन्त्री शेरबहादुर देउवा, भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायर र पूर्वमन्त्री रमेश लेखकको नाम पनि रहेको । कञ्चनपुर क्षेत्र नम्बर ४ का सांसद लेखकको नाम राखिएकैले  शिलालेख उप्काउनु परेको चर्चा कन्चनपुरमा चलेको छ ।

लेखकको नाम राखिएपछि कञ्चनपुरकै अर्का सांसद तथा कांग्रेस नेता एनपी सावदको समूह रिसाएको बताइन्छ । लेखकको नाम राखिनु तथा सावदको नाम नराखिएका कारण यो शिलालेख हटाउन प्रधानमन्त्री र मन्त्री बलायरलाई दबाब परेको थियो ।

शिलान्यास कार्यक्रममा अरु पूर्वमन्त्री पनि उपस्थित थिए । तर लेखकको नाम मात्रै राखिएपछि त्यहीँ विवाद भएको थियो । यही विवादका कारण महाकाली पुलको शिलालेख उखेलिएको हो ।  कांग्रेसमा असन्तुष्टि चर्किएपछि शिलालेखलार्इ सुरक्षाको कारण देखाए उप्काइएको हो । 

२०७४ भदौ २८ गते १५:०७ मा प्रकाशित
956 पटक पढिएको

प्रतिक्रिया दिनुहोस