नाकको अप्रेशन गर्दा महिलाको मृत्यु, ओम अस्पताल तनावग्रस्त
बुधबार, २८ भदौ २०७४
नाकको अप्रेशन गर्दा महिलाको मृत्यु, ओम अस्पताल तनावग्रस्त

काठमाडौँ । नाकको शल्यक्रिया गर्ने क्रममा 'इन्फेक्सन' भएर महिलाको मृत्यु भएपछि चाबहिलस्थित ओम अस्पताल परिसर तनावग्रस्त भएको छ ।  नाकको अपरेशनका क्रममा बिरामी महिलाको ज्यान गएपछि उनका आफन्तले नाराबाजी गर्दा अवस्था तनावग्रस्त भएको हो ।

बुटवलकी ४० वर्षीया कमला भट्टराई उपचारका लागि चार चार दिन अघि अस्पताल भर्ना भएकी थिइन् । नाकको हड्डी सोझ्याउन गरिएको अपरेशनका क्रममा उनको ज्यान गएको हो । सामान्य उपचारका क्रममा महिलाको ज्यान गएपछि डाक्टरले लापरवाही गरेको भन्दै आफन्त आन्दोलित भएका हुन् ।

सामान्य उपचारका क्रममा महिलाको ज्यान गएपछि विरोधमा उत्रिएका आफन्तहरूमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जपछि अस्पताल परिसर झनै तनावग्रस्त भएको छ ।

यो अप्रेशनपछि बिरामी महिलाको नाकबाट रगत बगेको थियो । अप्रेशनका क्रममा डाक्टरहरूले बिरामीलार्इ ग्यास्ट्रिक भएको भन्दै औषधि दिएका थिए । त्यसपछि उनको हृदयघात भएर ज्यान गएको बताइएको छ ।

घटनाको विरोधमा उत्रेकाहरूमाथि प्रहरी सहायक निरीक्षक डिबी अर्यालसहितले लाठी बर्साउँदा धेरैजन घाइते भएका छन् । ‘अप्रेशनका क्रममा लगातार रगत जाँदा डेढ लाखको औषधि किन्नु भने, धेरै  औषधि दिएकैले मृगौला फेल भयो भनेका थिए,’ मृतकका आफन्तले भनेका छन्, 'अप्रेशनपछि डाक्टरले विभिन्न फरक फरक रिपोर्ट दिइरहेका छन् । हृदयघात भए मृत्यु भएको खबर गरेका छन् ।'

शल्यक्रिया भइसकेपछि पत्नी बेहोसीमा रहेको बताउँदै मृतकका पति वसन्तले भने मृत्युको स्पष्ट कारण दिन माग गरेका छन् । उनले चित्त बुझ्दो जवाफ नदिने कानुनी उपचारमा जाने बताए ।

आफन्तहरूले बिरामीको मृत्युबारे छानबिन, अस्पतालले लापरबाही स्वीकारेर माफी माग्नुसहितका माग गरेका छन् । माग सम्बोधन नभए आन्दोलन चर्काउने उनीहरूको भनाइ छ ।

अस्पतालले कमलाको उपचारमा डाक्टरको लापरवाही नभएको दाबी गरेको छ ।  अस्पतालका प्रशासन प्रमुख विनय प्याकुरेलले नाकको पनि जटिल शल्यक्रिया हुने र यसो गर्दा संक्रमणको सम्भावना धेरै हुने भएकाले विरामी ज्यान जाने गरेको स्पष्टिकरण दिएका छन् ।

२०७४ भदौ २८ गते १८:२० मा प्रकाशित
313 पटक पढिएको

प्रतिक्रिया दिनुहोस