प्रचण्ड भन्छन्ः बालबालिका प्रयोग गर्छौँ, आयोगलाई के को टेन्सन
बुधबार, २८ भदौ २०७४
प्रचण्ड भन्छन्ः बालबालिका प्रयोग गर्छौँ, आयोगलाई के को टेन्सन

अर्जुन थपलिया
सिरहा । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग गर्दा आचारसंहिता नहुने बताउनुभएको छ ।

सिरहाको धनगढीमाई नगरपालिकामा बुधबार चुनावी सभालाई संवोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो । ‘आज मलाई निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले फोन गरेर निर्वाचनमा बालबालिकाको प्रयोग भयो, यसलाई रोक्न पर्यो भन्नुभयो’, प्रचण्डले भन्नुभयो, ‘मैले उहाँलाई भने, जहाँ सम्पूर्ण मधेस नै उत्सव र चाडकोरुपमा निर्वाचनमा सहभागी हुंदैछ, त्यँहा के को आचारसंहिता उलंघन ? बालक, वृद्ध, युवायुवती सबै निर्वाचनमा सहभागी छन् । यसमा निर्वाचन आयोगले किन टेन्सन लिनु ? मैले जवाफ दिएँ ।’

उहाँले मधेसलाई हेप्ने राष्ट्रवाद बेकारको सामन्ती राष्ट्रवाद भन्दै मधेसलाई अलग गर्न खोज्ने पनि पाखण्डी राष्ट्रवाद भएको बताउनुभयो । ‘मधेस र पहाडका श्रमजीवीलाई मिलाउन खोज्ने मात्र प्रगतिशील राष्ट्रवाद हो’, उहाँले भन्नुभयो, ‘मेरो सपना पनि हिमाल, पहाड र तराई मिलाउनु हो । त्यसकारण परिवर्तनकारी शक्तिलाई मधेसको जनताले मतदान गर्नुपर्छ ।’

यता बुधबारै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले लहानमा एक पत्रकार सम्मेलन गरी निर्वाचनमा बालबालिकाको प्रयोगप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई आचारसंहिताको ठाडो उलंघन भएको बताउनुभएको थियो । 

२०७४ भदौ २८ गते २०:५२ मा प्रकाशित
618 पटक पढिएको

प्रतिक्रिया दिनुहोस