‘घरेलु तथा साना उद्योग सरकारको प्राथमिकतामा पर्न सकेन'
बुधबार, २८ भदौ २०७४
‘घरेलु तथा साना उद्योग सरकारको प्राथमिकतामा पर्न सकेन'

भक्तपुर । लघु, घरेलु तथा साना उद्योगहरू सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै सरोकारवालाहरूले गुनासो गरेका छन् ।

भक्तपुर घरेलु तथा साना उद्योग संघको सचिवालय भवनको शिलान्यास कार्यक्रममा वक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।

भवनको शिलान्यास गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम भएर पनि सरकारले घरेलु तथा साना उद्योगको विकासमा ध्यान नदिएको बताउनुभयो ।

घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिंदै उहाँले विदेशमा यसले नेपालको पहिचान र गौरव प्रस्तुत गर्न सकिने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले वित्तीय र प्रविधि पहुँच नै लघु, घरेलु तथा साना उद्योगहरूका मुख्य चुनौतिको रूपमा रहेको भन्दै भन्नुभयो,‘मुलुकका वाणिज्य तथा विकास बैंकहरूले ठूला लगानीमा रूचि देखाउँछन्, ग्रामीण क्षेत्रमा सञ्चालित लघुवित्तहरूले गरिबी निवारणका लागि सघाउँदै आएका छन् लघु, घरेलु तथा साना उद्योगलाई सम्बोधन हुन सकेन ।’

संख्यात्मक हिसाबले कमहँुदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त वित्तीय र प्रविधि पहुँच भएकोमा जोड दिंदै उहाँले भन्नुभयो,  ‘कृषिमा धेरै प्रोजेक्टले अनुदान दिन्छन तर यो क्षेत्रमा न कुनै इन्सेन्टिभ छ नत सहज वित्तीय पहँच नै छ ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सुन्दरबस्तीमा बन्न लागेको सो भवन शिलान्यासकै क्रममा एक लाखभन्दा बढी आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष वीरेन्द्र जतीले बताउनुभयो ।

जग्गा खरिद गरेको करिब १५ वर्षपछि भवन शिलान्यास भएको भवन आगामी  दुई वर्षभित्र निर्माण कार्य पूरा गरी संघको सचिवालय सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

२०७४ भदौ २८ गते १९:२९ मा प्रकाशित
64 पटक पढिएको

प्रतिक्रिया दिनुहोस