कांग्रेसले जिते मात्रै मधेसको मुद्दा सम्बोधन हुन्छः प्रधानमन्त्री देउवा
बुधबार, २८ भदौ २०७४
कांग्रेसले जिते मात्रै मधेसको मुद्दा सम्बोधन हुन्छः प्रधानमन्त्री देउवा

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँगे्रसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गर्नुभएको छ ।

जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेस पार्टी मधेसी जनताको भावनाको कदर र मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन चाहेको धारणा राख्नु भयो । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेसी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेका छन् त्यसैले हामीले जित्यौं भने मात्रै मधेसी मुद्दाको सम्बोधन हुने धारणा राख्नु भयो ।

मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उहाँले उल्लेख गर्नुभयो र नेपालीमाझ एक आपसमा सौहार्दता बनाइराख्न काँगे्रसलाई अग्रस्थान दिलाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जाँदा भारतद्वारा निर्माण गरिएका बाँधका कारण मधेशमा बाढी र डुबानको समस्या हुने गरेको विषयमा ध्यानाकर्षण गराएको स्मरण गराउँदै मधेशमा बाढी र डुबानको समस्या सदाका लागि अन्त्य हुने किसिमले प्राधिकरण बनाउने पहल भइरहेको जानकारी दिनुभयो ।

२०७४ भदौ २८ गते १९:५१ मा प्रकाशित
72 पटक पढिएको

प्रतिक्रिया दिनुहोस