चुनाव भन्ने बित्तिकै डराउने लोकतन्त्रप्रति निष्ठावान् हुन सक्दैन :  माधव नेपाल ( भिडियो)
बुधबार, ११ फागुन २०७३
चुनाव भन्ने बित्तिकै डराउने लोकतन्त्रप्रति निष्ठावान् हुन सक्दैन :  माधव नेपाल ( भिडियो)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले विकास निर्माणका कार्यमा जनताको प्रत्यक्ष सहभागिताको अधिकारको रक्षा गरेको बताउनुभएको छ ।

समावेशिता तथा स्थानीय विकासका लागि खर्चिने रकमको चरम दुरुपयोग भएको संदर्भमा स्थानीय चुनावले त्यसको नियमनमा सहजता आउने उहाँले बताउनुभयो । जनता समाचारसँगको कुराकानीका क्रममा वरिष्ठ नेता नेपालले जनप्रतिनिधिको अभावका कारण देखिएको राजनीतिक शून्यतालाई चिर्न पनि स्थानीय निकायको चुनाव आवश्यक रहेकोमा जोड दिनुभयो । 

उहाँले प्रधानमन्त्रीबाट यसरी चुनावको घोषणा भैहाल्ने नसोचेको भएपनि अहिले देखिएको परिस्थितिका बावजूद चुनावको घोषणा गरिनु स्वागत योग्य भएको पनि बताउनुभयो । अब खुट्टा नकमाई सबै दलहरु चुनावको तयारीमा लाग्नुपर्ने उहाँको जिकिर थियो । चुनाव भन्ने बित्तिकै डराउनेहरु लोकतन्त्रप्रति निष्ठावान् तथा मुलुकलाई माया गर्ने नभएको उहाँको बुझाई छ ।

मधेसी दलहरुलाई चुनावमा जानका लागि सम्झाउने कोशिश छोड्न नहुने भन्दै उहाँले त्यसमा नेकपा एमालेको सरकारका लागि पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यद्यपी मधेशी दलको अहिलेको रवैया हेर्दा कुनैपनि सहमतिमा आउने उद्धेश्यको नभएको आशंका पनि उहाँले व्यक्त गर्नुभयो । 

२०७३ फागुन ११ गते २०:२७ मा प्रकाशित
2418 पटक पढिएको

प्रतिक्रिया दिनुहोस