काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिस विधि तयार पारेको छ ।
पार्टी कार्यालयमा बसेको बैठकले संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएकामध्येबाट भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवारी चयन गर्ने निर्णय गरेको छ ।
आगामी माघ २४ गते हुने सभाको निर्वाचनका लागि एमालेले नेकपा माओवादी केन्द्रसँग तालमेल गर्नेछ ।
स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई प्राथमिकता दिइने भएको छ ।
उम्मेदवारी सिफारिशका लागि प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदण्डअनुसारको नाम सिफारिश गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले केही दिनयता तराई–मधेसमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जलि दिँदैतत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
केही दिनयता फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा कैयौँ व्यक्तिको ज्यान गएको र धेरै गम्भीर बिरामी परेकोप्रति दुःख व्यक्त गरेको छ । शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीका तर्फबाट राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीलाई तत्काल परिचालित हुन पनि निर्देशित गरेको छ ।