आयोगको चेतावनीपछि सूची सच्याउँदै राजपा

काठमाडौं । निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ । आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । कान्तिपुरमा समाचार छ ।

‘आइतबार कार्यालय खुल्नासाथ आयोगले भनेअनुसार नै सूची बुझाउनेछौं,’ यादवले भने । आयोगले सूची नसच्याए राजपाको परिणाम रोक्ने चेतावनी दिएको थियो । चेतावनीपछि राजपाका नेता शुक्रबार आयोगका अधिकारीलाई भेट्न पुगेका थिए ।

भेटपछि राजपाले आयोगसँग सूची सच्याउन केही दिन पर्खन आग्रह गरेको थियो । यसअघि आयोगले सूची सच्याउन बारम्बार आग्रह गरे पनि राजपाले अटेर गर्दै आएको थियो । समानुपातिकबाट राजपाले प्रदेश २ मा १० सिट पाएको छ ।

निर्वाचनअघि बुझाइएको सूचीमा पनि राजपाले क्लस्टर मिलाएको थिएन । आयोगले त्यतिबेलै आपत्ति जनाए पनि राजपाले सूची नसच्याई चुनावमा होमियो । राजपाले अहिले वरीयता सूची पनि आयोगले भने जसरी बुझाउन आनाकानी गर्दै आएको थियो । समानुपातिकको बन्दसूचीमा भएको ‘क्रम’ अनुसार नै प्रतिनिधि छनोट गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, राजपाले १० सिटमध्ये पहिलो ६ जनाको बन्दसूचीअनुसार छानेको थियो भने त्यसपछिका चार जनाका लागि क्रम मिचेको थियो । त्यसप्रति निर्वाचन आयोगले आपत्ति जनाएको हो ।

उम्मेदवारी दर्ता गराउँदा बुझाएको बन्दसूचीमा महिलाको संख्या पुर्‍याइए पनि अल्पसंख्यक तथा अन्यको थिएन । राजपाले प्रदेश २ का लागि समानुपातिकको बन्दसूचीमा ४२ वटै नाम मधेसी समूहबाट राखेको थियो । समावेशीको ‘क्लस्टर’ उल्लंघन गरेको राजपाले मधेसी समुदायको नाममा पनि क्रम मिचेपछि आयोगले त्यसो नगर्न सचेत गराएको थियो । त्यसले राजपाभित्रै व्यापक असन्तुष्टि सिर्जना गरेको थियो । ‘केही असन्तुष्टि थियो, साथीहरूमा त्यो सबै सम्बोधन भइसकेको छ,’ यादवले प्रस्ट पारे ।

आयोगले राजपासँग मधेसी ५, दलित २, आदिवासी जनजाति १, थारू १ र मुस्लिम १ जनाको नाम माग गरेको थियो । त्यसमा ७ जना महिला, ३ जना अल्पसंख्यक समुदायबाट नाम पठाउनुपर्छ । महिलाको संख्या पुर्‍याइए पनि अल्पसंख्यक भने पुगेको थिएन । यसअघि पठाइएको ७ जना महिलाको नाममा पनि क्रम मिचिएको थियो ।

प्रदेश २ मा राजपाले पाउने १० सिटमा पठाइएको नाममा बन्दसूचीको क्रम संख्या ६ सम्म क्रमअनुसार नै नाम पठाइए पनि त्यसबाहेक अन्य चार जनाको नाममा भने क्रम मिचिएको थियो । २२ नम्बरको विभा ठाकुर, २७ क्रमसूचीमा रहेको रामप्रवेश बैठा, २९ क्रमसूचीमा रहेको लैला खातुन र बन्दसूचीको ३४ नम्बरमा रहेको पुनम यादवको नाम क्रम मिचेर पठाइएको थियो ।

अब आयोगले भनेअनुसार नै सच्याउँदा बबिता कुमारी, नीलमदेवी भूमिहारिन, अञ्जुकुमारी, डा.डिम्पल कुमारी झा, नीराकुमारी साह, अलका कुमारी झा, रीना यादव, रामनरेश राय, जानकीशरण साह र नेत्रविक्रम शाहनाम सूचीमा अटाउने सम्भावना छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…