काठमाडौं । जिल्ला अदालत काठमाडौंले अवैध रुपमा संचालित अस्पताल मालिक र चिकित्सक (१७जना) लाई ७ दिन थुनामा राखी अनुसन्धान थाल्न प्रहरीलाई अनुमति दिएको छ । न्यायधीश राजेन्द्र नेपालको इजलाशले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न बुधबार अनुमति दिएको छ ।
नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा काठमाडौंका विभिन्न अस्पतालमा आफुलाई डाक्टर बताएर अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार पक्राउ गरेको थियो ।
राजधानीमा रहेका एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका संचालक र चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलियन नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्वीन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन् ।
सिआइबी र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो । अनुमति नै नलिई बिरामीको परिक्षण गरेको पाइएकाले उनीहरुलाई ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिएको हो ।