आनन्द पोखरेल
चितवन । भरतपुर अस्पतालका दन्त चिकित्सक सरकारी अस्पतालको ड्युटी समयमा नै नीजि डेन्टल क्लिनिकमा फेला परेका छन् ।
अस्पताल आएका दाँतका दुई जना बिरामीलाई भरतपुर अस्पतालकै दन्त चिकित्सक विश्व सुवेदीले आफ्नो नीजि क्लिनिकमा लगेर उपचार गराएका हुन् । उनले भरतपुर अस्पतालबाट आफ्नो स्माइल डेन्टलमा लगेर उपचार गराएका भेटिएको हो ।
भरतपुर अस्पतालका अनुसार चिकित्सकहरु दिउँसो २ बजेसम्म अनिवार्य रुपमा अस्पतालमै बसेर उपचार गर्नुपर्ने हुन्छ । डा. सुवेदी भने दिउँसो १ बजे नै नीजि डेन्टलमा गएर बिरामी उपचार गरेका हुन् । डा. सुवेदीले निजीमा सुविधा हुन्छ भनेर आफ्नो डेन्टलमा बोलाएको भरतपुर–९ शरदपुरका दाँतका बिरामी चन्द्रकुमार उपाध्यायले बताए ।
भरतपुर अस्पतालमा दाँतको उपचार गर्न चार हजार पाँच सय रुपैयाँ लाग्छ आफुले त्यो भन्दा पनि सस्तो उपचार गरिदिने भन्दै आफूलाई निजी क्लिनिकमा लगेको उपाध्यायले बताए । डा. सुवेदीेले उपाध्यायलाई चार हजार रुपैंयामा नै उपचार गरिदिने भनि आफ्नो निजी डेन्टलमा लगेको बुझिएको छ ।
अस्पतालमा हाजिरै नगरी छिटो र सस्तो मुल्यमा दाँतको उपचार हुन्छ भनि नापी कार्यालय अगाडि रहेको स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रालिमा उपचारका लागि लगेको पाइएको हो । अस्पताल समयमा निजी डेन्टल जान नपाउने भएपनि अनुमति लिएर एकछिनका लागि मात्रै आएको डा.सुवेदीले बताए ।भरतपुर अस्पतालका डाक्टरहरु नीजि क्लिनिकमा काम गर्ने गरेको गुनासोको आधारमा छड्के चेकजाँचमा जाँदा आधा घण्टाका लागि मात्रै निजी डेन्टल आएको भन्दै सुवेदीले डेन्टल आएको एकैछिन भएको दाबी गरे ।
भरतपुर अस्पतालको इतिहासमा अहिलेसम्म त्यसरी अस्पताल समयमा आएका बिरामीहरु निजी अस्पताल वा मेडिकल कलेजहरुमा लगेको नभेटिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रप्रसाद मरासिनीले बताए । ड्युटीको समयमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कुनै पनि चिकित्सकले बाहिर गएर बिरामी हेर्न नपाउने भन्दै मरासिनीले त्यस्ता चिकित्सकलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।
अस्प्ताल समयमा निजी क्लिनिकमा गएर काम गरेको बारे दन्त चिकित्सक डा.सुवेदीलाई तत्काल स्पष्टिकरण सोधिने र चित्त बुझ्दो जवाफ नआए स्वास्थ्य सेवा नियमावली अनुसार कारबाही गर्ने मरासिनीले बताए ।
अस्पताल ड्युटीको समयमा नै नीजि डेन्टल गएको प्रमाण भएकाले त्यसलाई नै आधार मानेर कारबाही गरिने भरतपुर अस्पताल डेन्टल विभागकी विभागीय प्रमुख डा. सोनी सुबेदीले बताइन् । अस्पतालमा पहिलो पटक यस्तो त्रुटि भएको भन्दै उनले आगामी दिनहरुमा त्यसो हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन् ।
भरतपुर अस्पतालमा चिकित्सक हुँदा हुँदै पनि निजी डेन्टलमा जान लागेका बिरामीहरुको फलो गरेपछि डा. सुबेदीको रहस्य खुलेको हो । अस्पतालकै चिकित्सकले नीजि डेन्टल बोलाएको भनि बिरामीहरुले प्रतिक्रिया दिएपछि अनुसन्धान गरिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषालले वताए ।