तेहरान । बिश्व ट्रेड युनियन महासंघ डब्लुएफटियुले विश्वभरका श्रमिकको पक्षमा ‘एक्सन’ लिने भएको छ ।
डब्लुएफटियुकाे इरानको तेहरानमा सम्पन्न ४६ सदस्यीय केन्द्रीय कमिटी प्रेसिडेन्सियल काउन्सिल बैठकले त्यस्तो निर्णय गरेको हो ।फेब्रुअरी २७ र २८ मा भएको वार्षिक बैठकमा विश्वभर विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरुले भोग्नु परेको समस्या बारे गहन छलफल गरिएको थियो ।
बैठकमा अमेरिकाको नेतृत्वमा सिरीया, अफगानिस्तान, पेलेस्टाईन, लेबनान, इराक, लगायतका देशहरुमा भएको हिंसात्मक गतिविधि , शरणार्थीले भोगीरहेको कहाली लाग्दो स्थिति बारे पनि समीक्षा गरिएको थियो । काउन्सिलका महासचिव जर्ज म्याभीकोजले त्यस सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
महासचिव म्याभीकोजकोे प्रतिवेदनमा पुजीवादी आर्थिक संकटबाट श्रमिकहरुले भोगिरहेकम समस्या , बिश्वब्यापी रुपमा भएका श्रमिक आन्दोलन, श्रमिकले भोगिरहेका समस्या र उक्त महासंघले संचालन गरेका गतिविधि समेटिएको छ । बैठकले उहाँको प्रतिवेदनमा समीक्षा गर्दै सन २०१८का लागि वार्षिक कार्यक्रम समेत पारित गरेको छ।
अक्टोबर ३ तारिख महासंघ स्थापनाको अवसरमा बिश्वब्यापी रुपमा सबै देशहरूमा सबैका लागि सामाजिक सुरक्षा र निशुल्क स्वास्थ्य उपचार भन्ने मुलनाराका साथ गोष्ठी, भेला, श्रमिक प्रदर्शन र्याली,कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ ।
श्रमिकहरुलाई सबै महादेशका मुख्य केन्द्रहरुमा सघन ढंगले ट्रेड युनियन शिक्षा बिषयमा प्रशिक्षण प्रदान गर्ने , गार्भेन्ट क्षेत्र र ब्यापार क्षेत्रमा कार्यरत श्रमिकहरुको हक हितको लागि नयाँ अन्तरास्ट्रिय ट्रेड युनियन केन्द्र स्थापना गर्न बंगलादेश र लेबनानमा अन्तरास्ट्रिय श्रमिक भेला आयोजना गर्ने योजना बनेको छ । बैठकले सोभियत रुसको मस्कोमा युरो (एशिया सम्पर्क कार्यालय स्थापना गर्ने र आउँदो बैठक एथेन्समा गर्ने निर्णय भएको छ ।
बैठकमा नेपालका ८ वटा ट्रेड युनियन महासंघको तर्फबाट पेशागत महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा डब्लुएफटियुको प्रेसिडेन्सियल काउन्सिल सदस्य प्रेमलकुमार खनालले भाग लिनु भएको थियो ।
सन १९४५मा स्थापना भएको यो महासंघमा बिश्वका १२६ देशका १० करोड श्रमिकहरु आबद्ध रहेका छन। बिश्व ट्रेड युनियन आन्दोलनमा यो महासंघले मुलधारको रुपमा नेतृत्व गर्दै आएको छ।
वामपंथीहरुको बर्चस्व रहेको भन्दै पुंजीवादी, सोसल डेमोक्रेटहरुले छुट्टै अन्तर्राष्ट्रिय केन्द्रको रुपमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ आईसिएफटियु हाल आईटियुसी सन १९४८मा बनाएका छन।