आमाको नाममा नागरिकता : सहज छैन, कठिन हैन !

–इच्छा गुरुङ
यी पङ्तीहरु लेख्न शुरु गर्दा मनमा अनेकन भावहरु उठिरहे । आफ्ना भोगाईलाई कुन माध्यमबाट व्यक्त गरुँ भन्ने लाग्यो । एक सामान्य नागरिक, भिक्टीम, संचारकर्मी वा एक आमाको हैसियतले कसरी व्यक्त गरुँ? उल्लेख गरिएका सबै पात्र म आफैं हूँ, तर जे भावना अभिव्यक्त गर्न यी शब्दहरु पोखिरहेको छु । त्यसका लागि सबैभन्दा सही चिनारी एक आमाको रुपमा नै हुन सक्छ । किनभने जुन भोगाई विगत केही महिनायता भोगं,े त्यो कुनै प्रसव पीडा भन्दा कम थिएनन् । फरक मात्र यति थियो कि प्रसव वेदनाकाबेलाको पीडा शारीरिक थियो भने पछिल्लो पीडा मानसिक,त्यहीमाथि चरमोत्कर्षको । एउटा यस्तो मानसिक पीडा, जसको मर्म एक आमाकै कलमले मात्र अनुभुत गर्न सक्छ ।

हरेक आमा ममतामयी, जिम्मेवार र कर्तब्यनिष्ठ हुन्छन् । म पनि एउटी आमा, कसरी अपवाद हुन सक्छु र ? त्यसमाथि पनि एकल आमाको सम्पूर्ण जिम्मेवारी निभाउदै सन्तानका लागि जीवन नै सुम्पिइन्छ, तब शायद आफूभन्दा पहिले उही सन्तान नै आउँछ हर प्राथमिकतामा । हो, श्रीमानसँग सम्बन्ध विच्छेदपछि एकल महिलाको रुपमा मेरो नयाँ परिचय बन्यो । तर म एकल थिइनँ, सानी छोरीको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा लिने हिम्मत गरेकी थिएँ । एउटा सन्तानको लागि बुवा आमा दुवैको उत्तिकै महत्व हुन्छ र दुवैको माया पाउनु उसको अधिकार पनि हो । तर मेरी सानी छोरीको लागि म नै सबै थिएँ । त्यसैले पनि एक चित्त भएर बुबा र आमाको जिम्मेवारी आफैले निभाउदै असल संस्कार दिंदै लालनपालन, शिक्षामा उसलाई कुनै कमी नहोस् भन्ने मात्र मेरो ध्येय रह्यो । आज पनि उसको जीवनको सहजता नै मेरो पहिलो प्राथमिकता हो । म छोरीमै आफ्नो सपना देख्दछु, उनीसँगै रमाउँछु । सानैदेखि मेरो संघर्ष देख्दै हुर्किएकी मेरी छोरी पनि मलाई बुझ्दछे भन्ने महसुस गर्छु । ऊ हुर्कदै गएपछि छोरीभन्दा बढी साथी बन्दै गई । कर्मको लेखा जे लेखिएको छ त्यो हुन्छनै । बाँकी जीवनयात्रामा एक सहयात्री भेट भयो । पारिवारिक सहमतिमा मैलै पुनः बिबाह गरें । नयां परिवार र श्रीमान यति सहयोगी छन् कि म आफुलाई साह्रै भाग्यमानी ठान्दछु। बुबा छोरीको सुमधुर नयां सम्बन्ध देख्दा सुख अनुभूत हुन्छ । समय बित्दै गए र यसै वर्ष उनले एसइइ सकेर ११ मा पढ्न थालेकी छे । अर्थात अब उ मेरी छोरी मात्र होइन, १६ वर्षकी बालिग नागरिक बनिसकेकी छे । अब मेरो प्रमुख जिम्मेवारी छोरीलाई यो देशको नागरिक भएको पहिचानपत्र अर्थात नागरिकता दिलाउनु थियो । मैले एकल आमाको रुपमा निभाउनुपर्ने सम्पूर्ण जिम्मेवारी निभाएको कारण पनि म चाहन्थे मेरी छोरी मेरो पहिचानसँगै जोडियोस् आधिकारिक रुपमा नै । हुन त आमाबाबुको सम्बन्ध विच्छेद भएपनि छोराछोरीको सम्बन्ध आमाबाबुसँग रगतले नै जोडिदिएको हुन्छ । तर जब आमा वा बाबुको सम्बन्ध जन्माउनुसँग मात्रै सीमित रहन्छ भने त्यसले आधिकारिकताका लागि जबरजस्ती जोडिरहनुसँग के अर्थ राख्छ र ? यही साेंच मेरी छोरीको पनि थियो र उनी पनि चाहन्थिन्, उनको नाममा आधिकारिकता उसको आमाको नामसँग मात्र जोडियोस् । फेरि आमाको नाममा नागरिकता दिने प्रावधान संविधानमै उल्लेख भैसकेको सुन्दै आएकीले म पनि ढुक्क थिएँ ।

संचारक्षेत्रमा आएदेखि नै समाचारसँग विशेष चासो राख्दै आएकी मलाई नागरिकताका विषयमा हुने बहसले विशेष अर्थ राख्थ्यो । कारण म पनि ती हजारौं आमाहरु जस्तै सन्तानको नागरिकताको लागि एक्लै संघर्ष गर्नुपर्ने अवस्थामा थिएँ । तर मनमा विश्वास थियो कि मैले धेरै संघर्ष गर्नुपर्नेछैन । किनभने बुबा आमा नेपाली भएको हकमा जन्मिएको सन्तानले बालिग भएपछि स्वेच्छाले बुबा वा आमामध्ये एकको नामबाट नागरिकता लिन पाउने कुरा आखिर संविधानमै उल्लेख भैसकेको छ । यो विषय एकल आमाको भूमिकामा रहेकी मेरो लागि पनि गर्वको थियो ।

छोरीको चाहना अनुरुप मैलै स्कुलमा निवेदन गरी स्कुलको एसइइको शैक्षिक प्रमाणपत्रहरुमा आमाको नाम राखेकी थिएँ । त्यो समयमा स्कुलले पनि मलाई सहयोग गरेको हो । सबैतिरबाट विश्वस्त म आवश्यक प्रमाण र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी लिएर छोरी सहीत नागरिकता सिफारिसको लागि वडा कार्यलय पुगें। वडाध्यक्षले सबै कागजपत्र हेर्नुभयो र सही गरिदिनु भयो ।

“बुबाको नाम लेख्ने स्थानमा किन खाली” उहाँले पनि त्यही प्रश्न गर्नुभयो । “छोरीको बुबासँग मेरो सम्बन्ध बिच्छेद भएपछि छोरी सानैदेखि मेरो र मावलको संरक्षणमा हुर्किएको हो सर, आजसम्म बुबाले बुबाको कुनै पनि जिम्मेवारी बहन गरेन । मेरो छोरीको सबै म नै हूँ । त्यसैले छोरी मेरो नामबाट नागरिकता लिन चाहन्छे,त्यही भएर खाली छोडेको हूँ । फेरि मैले सबै प्रमाणहरु पेश गरेको छु । “सर संविधानले नेपाली बुबा आमाको सम्बन्ध बिच्छेद भएको हकमा सन्तानले स्वेच्छाले आमाको नामबाट नागरिकता लिन पाउँछ भन्ने कानुनी आधारमै मैले आफ्नो र छोरीको अधिकार मागेको हूँ”

त्यसपछि त्यही सिफारिस बोकेर आमा छोरी जिल्ला प्रशासन कार्यालय बबरमहल पुग्यौं । १०१ नम्बर कोठाको झ्यालमा गएर सबै कागजपत्र पेश गरे । शुरुमै “बुबाको नाम खै त” भन्ने प्रश्न तेर्सियो । “छोरीले मेरो नामबाट नागरिकता लिने इच्छा राखेकी छे । म पनि त्यही चाहन्छु । छोरीको बुबासँग मेरो सम्बन्ध बिच्छेद भईसकेको प्रमाण सहित अरु कागजपत्र पेश गरेकी छु सर” मैले जवाफ दिएँ ।सबै बेलिबिस्तार लगाएपछिती कर्मचारी पनि सकारात्मक देखिए र आवश्यक प्रक्रिया पूरा गरी सहीछाप गरेर १०३ नंम्बर कोठाको झ्यालमा जान भने । उनले भनेकै कोठा नम्बरमा पुगेर कागजपत्र पेश गरें । उहाँ सहायक सिडियो हुनुहुनुदोरहेछ । “बुबाको नाम लेख्ने स्थानमा किन खाली” उहाँले पनि त्यही प्रश्न गर्नुभयो । “छोरीको बुबासँग मेरो सम्बन्ध बिच्छेद भएपछि छोरी सानैदेखि मेरो र मावलको संरक्षणमा हुर्किएको हो सर, आजसम्म बुबाले बुबाको कुनै पनि जिम्मेवारी बहन गरेन । मेरो छोरीको सबै म नै हूँ । त्यसैले छोरी मेरो नामबाट नागरिकता लिन चाहन्छे,त्यही भएर खाली छोडेको हूँ । फेरि मैले सबै प्रमाणहरु पेश गरेको छु ।” मैले यति भनिनसक्दै उहाँले “हुँदैन” भनेर केही लेख्न थाल्नुभयो–फारमको पछाडि । “सर संविधानले नेपाली बुबा आमाको सम्बन्ध बिच्छेद भएको हकमा सन्तानले स्वेच्छाले आमाको नामबाट नागरिकता लिन पाउँछ भन्ने कानुनी आधारमै मैले आफ्नो र छोरीको अधिकार मागेको हूँ” मैले बुझाउन चाहें, तर सहायक सिडियो साबलाई त्यति धैर्य कहाँ? फारममा बुबाको नाम उल्लेख गरी नागरिकता दिनु भनेर सही गरेर फारम फिर्ता गर्नुभयो ।

उहाँको तोक आदेशले केही समय अघिको हाम्रो उत्साह एक्कासी चैते हुरीले उडाए झै भयो । रित्तो मन लिएर छोरीको हात समाएर एउटा कुनामा थचक्क बसें । कानूनमा ब्यवस्था भएको हक मैले किन पाउन सक्दिनँ ? कसले उत्तर दिने? एक मनले भन्यो–नामले के फरक पर्छ र किन तनाव लिनु ? जसरी दिनु भनेको छ,त्यसरी नागरिकता लिए टन्टै साफ ! फेरि अर्को मनले रोक्यो । छोरीको लागि अनि आफ्नै लागि पनि मैले अझै लडनुपर्छ भन्ने ढृढ संकल्पले छाती भरियो । संवैधानिक अधिकारले मलाई आत्मबल दिइरहेको थियो ।

एक जना वकिल साबलाई चिनेकी थिएँ । उहाँकै सल्लाहमा कानूनले कागजमा दिएको हक अब अनुभव गर्न पाउँ भन्दै हामीले जिल्ला प्रशासन बिरुद्व पाटन उच्च अदालतमा मुद्दा दायर गर्यौं ।

मुद्दा दर्ता त गरें, त्यसपछि शुरु भयो मनका तर्कनाहरु । ती दिनहरु झल्झली याद बनेर मुटुमा गाँठो पर्दथे । त्यो प्रसव वेदना, छोरीको आगमन, मातृ वात्सल्य सबै मनमा यस्तरी सोरिएर आउँथे कि हिक्क हिक्क हुन्थ्यो । कसैले देख्ला कि भनेर एकछिनपछि आफैं सम्हालिन्थें । जिन्दगी आफ्नो हिसाबले मात्र कहाँ चल्छ र ? अरुको लागि पनि हिसाब दिनुपर्छ यहाँ । सम्बन्धविच्छेदका निर्णय लिनु अघि र पछिका तमाम पीडा फेरि बल्झिएको अनुभूत भएको थियो तर मनलाई बलियो बनाएँ । जे गरें, सही गरें, छोरी र आफ्नो उज्जवल भबिष्यको लागि गरेको कठोर भन्दा कठोर निर्भिक निणर्यहरु मेरो जिन्दगीको सत्य हुन्,जसमा मलाई न पश्चताप छ न कहिले हुनेछ । तर शायद मेरो संघर्ष अझै सकिएको रहेनछ । त्यसैले अहिले फेरि कानूनी झन्झटकाबीच गुज्रिनुपरिरहेको थियो । त्योे विधिसम्वत थियो या पुरुषवादी सोंचको ? कारण जेसुकै भए पनि म पुनः शिकार भएकी थिएँ ?

यसैबीच, अदालतको पहिलो बहसमा उच्च अदालत पाटनले जिल्ला प्रशासन कार्यालय काठमाडौलाई १५ दिन भित्र कारण देखाउ पत्र जारी गर्यो । तर पत्रको जवाफ नफर्काएपछि उच्च अदालतले मेरो पक्षमा फैसला ग¥यो । अर्थात संविधानमा तोके बमोजिम मेरी छोरीले उसको इच्छा अनुसार आमाको नामबाट आफ्नो नागरिकता बनाउन सक्ने फैसला गर्दै आदेशको पत्र जारी गर्यो । फैसला पछि पत्र तयार हुन केही दिन लाग्यो । त्यो पत्र आफ्नो हातले छुन, हेर्न, पढ्न नपाउँदासम्म मनमा आँधिबेहरी चलिरहयो । छटपटीले दैनिक काममा नै असर गर्छ कि जस्तो भान हुन्थ्यो तर सम्हालिन्थें । हर दिन आफ्नो कर्म पूरा गर्न कमी भयो की भनेर सचेत हुन्थें । सबैसँग सामान्य झै कुराकानी गर्थें, हास्थें तर मनको पहिरो आफैलाई मात्र थाहा थियो । आमा जो थिएँ । सन्तानको खुशीको लागि बिष पनि हाँसी हाँसी पिउन सक्ने क्षमता राख्ने तिनै आमाहरु जस्तै त हूँ म पनि । बिभिन्न तर्कहरुले मन बिचलित हुन्थ्यो तर छोरीलाई सबै पीडा लुकाएर ढाढस दिईरहें, उसलाई भनिरहें, “छोरी तिमी नआतिनु है केही समय लाग्छ तर तिमीले मेरै नामबाट नागरिकता पाउछौ ।”

अदालतको फैसलापछि मेरो मनोबल उच्च भएको थियो । नागरिकताको लागि फेरि नयाँ सिफारिस बनाउनुपर्ने रहेछ । तसर्थ पुनः दोस्रो पटक वडा कार्यलय पुगें । पहिले बिना अबरोध सिफारिस दिएकोले मनमा केही द्धिविधा थिएन । कागजपत्र हेर्दै वडाध्यक्षको उही प्रश्न दोहोरियो, “बुबाको नाम खोई?” मैलै सबै बेलिबिस्तार लगाए । “सम्बन्धबिच्छेद भएपनि बुबाको नाम बिना नागरिकताको सिफारिस दिन मिल्दैन” वडाध्यक्षको जवाफले मेरो विश्वास फेरि क्षणभरमै टुक्रियो । तर हिम्मत जुटाउँदै फेरि विनम्र भएर भनें, “सर २ महिना अगाडि त हजुरले नै सिफारिस दिनु भएको हो । आज किन मिल्दैन?” उहाँले कडा हुँदै प्रश्न गर्नुभयो, “बुबा बिना सन्तान जन्मिन्छ र?” । उहाँको यो प्रश्नको जवाफ दिने हिम्मत जुटाएँ र भनें, सर सबै प्रमाण छ त के भएको हो र ?दुई महिनाअघि तपाईले यस्तो कुनै प्रश्न गर्नुभएको थिएन तर आज किन मेरो छोरीको लागि यो सब कुरा ?” मेरो प्रश्नमा अनुनय जरुर थियो तर हात भने जोडिनँ। किनकि मैले कानूनभित्रै रहेको मेरो र छोरीको अधिकार मागेकोमा म प्रष्ट थिएँ। तर मेरो अनुनयको जवाफमा कड्कँदै उहाँले भन्नुभयो, “यो अमेरिका हो?” त्यहाँ अरु सेवाग्राही पनि टन्नै थिए । वडा अध्यक्ष ठूलो स्वरमा बोलेको सुनेर सबै मुखामुख गर्न थाले । “सर, मैलै अमेरिकाको कानून अनुसार होइन नेपालकै कानून अनुसार आफ्नो अधिकार मागेकी हुँ । अहिलेको संविधानले यो हक दिएको छ नि” । बस् यति जवाफ दिने हिम्मत जुटेको मात्र थियो वडा अध्यक्षले बुबाको नामबाट नागरिकताको सिफारिस दिनु, कानूनमा यस्तो लेख्या छ भनेर माथिबाट पत्र आएको छैन भन्दै कर्मचारीलाई समेत बोलाएर मेरो फारम किन दर्ता गरेको भन्दै हकार्न थाले । त्यसपछि भने आफूसँग उच्च अदालतको फैसला र आदेश पनि भएको र त्यो लिएर भोली आउने कुरा राख्दै छोरी लिएर निस्कनुको विकल्प मसँग रहेन । म वडाध्यक्षको कार्यकक्षबाट त निस्किंदै थिएं तर त्यहाँ उपस्थित जति एकअर्कामा मुखामुख गर्दै मुसुमुसु हाँसिरहेको प्रष्ट देखिरहेको थिएँ । एउटी आमाको लाचारीपनामा सबैले गिज्याएको महसुस भयो मलाई । मलाई अति नै हीनताबोध भयो, अझ आफूसँगै रहेकी छोरीको कलिलो मस्तिस्कमा कस्तो प्रभाव पर्यो होला ? भनेर छाती पोल्यो । दिनभरी आफूलाई सम्हालें तर मनै त हो, साँझ घर पुगेपछि भने एक घन्टा बाथरुममा बसेर खुब रोएँ । आँसुले पीडा पखालेपछि मन हलुँगो भयो ।

सत्यपथमा अफ्ठ्यारा बाटोहरु अनगिन्ती हुन्छन् तर केही सज्जन साथीहरुको साथले त्यस्तो समयमा जीवनमा फेरि आशा संचार हुन्छ । मेरा त्यस्ता केही साथीहरु छन् जोे खुशीमा मात्र होइन दु:खमा पनि निःस्वार्थ सहयोग गर्छन् । भोलिपल्ट उच्च अदालतको पत्र लिएर म तेस्रोपटक वडा कार्यलय पुगें । साथमा छोरी र एकजना साथी थिए । मेरो साथीलाई देख्नसाथ वडा अध्यक्षले “ओहो आज मिडिया कसरी यहाँ?” भन्दै हार्दिकताका साथ प्रस्तुत हुनुभयो । उहाँले मेरो साथीलाई चिन्नुहँुदो रहेछ । वडा अध्यक्ष उक्त दिन पूरै नरम देखिनुभयो । मैले उच्च अदालतको पत्र सहित अघिल्लोदिनका अरु कागजपत्र पनि पेश गरें । उहाँले मसँग कुुनै सवालजवाफ गर्नुभएन बरु नम्र अनि शिष्ट शैलीमा तपाईको कारण अब मलाई पनि सजिलो भयो । बाबुको नाम खुलेको र सम्बन्धविच्छेद भएको प्रमाण पुगेको अवस्थामा आमाको नाममा नागरिकता दिन कुनै समस्या नहुनेरहेछ, म अरुलाई पनि खबर गर्छु भन्दै तुरुन्त सिफारिसपत्रमा सही गरीदिनुभयो । त्यसपछि अबको अन्तिम लक्ष्य अर्थात काठमाडौं जिल्ला प्रशासन कार्यालयतर्फ लाग्यौं ।

के आखिर पहुँचको रवाफबिना केही नहुने नै हो त मेरो देशमा ? संचारक्षेत्रमा काम गरिरहेको र अलिक बुझेको भन्ने ठान्ने मलाई त यति समस्या पर्यो भने आम नागरिक र ती आमाहरु जसकोलागि कालो अक्षर भैंसी बराबर छन्, तिनीहरुले कति अपमानित हुनुपरेको होला ?

बाटोभरि मनमा अनेक कुराहरुको बयेली खेलिरहे । म त साधारण आम नागरिक भएर स्थानीय निकायमा सेवा लिन गएको थिएँ तर मैलै अनेकन प्रश्नहरुको सामना गर्नुपर्यो । यदि पहिले नै आफ्नो पहुँच र कार्यरत कार्यक्षेत्रको धाक लगाएको भए शायद त्यति अपमानित हिजो हुनुपर्दैेन थियो कि ! के आखिर पहुँचको रवाफबिना केही नहुने नै हो त मेरो देशमा? संचारक्षेत्रमा काम गरिरहेको र अलिक बुझेको भन्ने ठान्ने मलाई त यति समस्या पर्यो भने आम नागरिक र ती आमाहरु जसकोलागि कालो अक्षर भैंसी बराबर छन्, तिनीहरुले कति अपमानित हुनुपरेको होला? यस्तै यस्तै तर्कनाहरु मनमा खेलाउँदै म जिल्ला प्रशासन कार्यालय पुगें । त्यहाँ वकिलले अब ढुक्क हुनुहोस् आज नागरिकता पाउनुहुन्छ भनेर मलाई आश्वस्त पारिरहनु भएको थियो । तर मलाई भने वडा कार्यलयको हिजो र आजको दुई फरक दृश्य आँखा अगाडि झल्झली नाचिरहेको थियो ।

उच्च अदालतको पत्र लिएर हामी सिधै सिडियो साबको कार्यकक्षमा पुग्यांै । उहाँ बाहिर जानुभएको रहेछ । त्यसैले सहायक सिडियोकक्षमा जानु भन्ने निर्देशनको आधारमा पुग्यांै उहि पहिलेकै १०३ नंम्बर कोठामा । सहायक सिडियोले पत्र हेर्नुभयो । उहाँले “फैसलाको पूर्णपाठ लिएर आउनुस्” भनेर कागजपत्र हामीतर्फ फ्यात्त हुत्याईदिनुभयो । हरे फेरि अर्को आपद ! हामीसँग फैसला र आदेशको पत्र मात्र थियो । फैसलाको पूर्णपाठ आउन सामन्यतया ४,५ महिना लाग्छ,अहिले त यो पत्रनै बलियो आधार हो भनेर वकिल साबले भन्नुभयो तर सहायक सिडियो साबले केही सुन्नु भएन । फैसला र आदेशको पत्र काटिसकेपछि पनि पूर्णपाठ खोज्नु नागरिकलाई अनावश्यक दुख दिन खोज्नु हो । एकपटक सिडियोलाई नैं भेटांै भनेर वकिल साबले भन्नु भएपछि हामी फेरि सिडियोको कक्ष अगाडि कुरेर बसिरह्यौ । आज पनि रित्तो हात फर्कनु पर्ने हो कि?भन्ने मनमा तर्कनाहरु खेलिरहेकै थियो । छोरीलाई हेरें,उ पनि निराश थिई । मैले फेरि उही साथीलाई सम्झिएँ । अनि फोन गरेर सिडियो कार्यालयको इतिवृतान्त सुनाएँ । केही समयपछि सिडियो साबसँग साथीको कुराकानी भएछ र उहाँले कागजपत्र हेरेर सकेको सहयोग गरुँला भन्नुभएको छ, नाम दिएको छु, गएर भेट भनिन् साथीले । तर सिडियोको कार्यकक्ष भित्र बाहिर गरिरहेका सेवाग्राहीहरु गन्दै आशा र निराशाको डोरी समाउदै अब फेरि कति प्रश्नको सामना गर्नुपर्ने हो भन्दै मनमा अनेकौं तर्कनाहरु आई नै रहे । यसैबीच करिब एक घन्टा पछि सहायक सिडियो हातमा पत्र लिएर बाहिर निस्कनुभयो र हामीलाई आफूसँगै आउन भन्नुभयो । अचम्म ! उहाँले केही समयअघि हुत्याउनु भएको त्यही कागजपत्रमा सही गरिदिनुभयो । यतिबेला भने उहाँले पूर्णपाठको कुरा विर्सिनुभयो वा नियमसंगत प्रक्रियामा पनि अनावश्यक अड्को थाप्न खोजेकोबारे भित्र सिडियो साबको ध्यानाकर्षण भैसकेकोले हो,केही प्रश्नबिना उहाँले सही गरिदिनुभयो । त्यसपछि अन्य प्रकृया पनि पूरा गर्यौं र अन्ततः मेरी छोरीले आमाको नाममा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न सफल भइन् । एक त मेरो ठूलो सपना पूरा भएको थियो अर्कोतर्फ लामो संघर्षपछि मेरै जीत भएको थियो । खुशीले मेरा आँखा भरिए । छोरीलाई हेरें । उ मुसुक्क हाँसिन् । मेरो त सम्पूर्ण दुःखै हरे जस्तो भयो । घना कालो बादल फाटेर सूर्यको उज्यालो प्रकाश फैलिए जस्तो भो ।

बेलुका घर पुगेर सब कुराको स्मरण गरें । मैले र छोरीले यसबीचमा भोगेका मानसिक तनाव सम्झिएँ । ममाथि थोपरिएका प्रश्नहरुको प्रहार सम्झिएं । पुरुषवादी सोंचको दबदबा सम्झिएँ । मलाई प्राप्त मेरो परिवार र साथीभाइको साथ सम्झिएँ ।

मेरो पीडायुक्त संघर्ष र त्यसपछि प्राप्त जीतको यो इतिवृत्तान्त लेखिरहँदा मैले यो पनि भन्नुपर्छ– सन्तानकालागि आमाबुबा दुवैको उत्तिकै महत्व छ । आमा वा बुवाको नाममा नागरिकता लिने छोराछोरीको अधिकार हो । आमाको मात्र पक्षपोषण गर्ने पक्षमा पनि म पटक्कै होइन । किनभने बाबुको महत्व र इज्जतको म सधैं सम्मान गर्छु । मेरो प्रश्न यति मात्र हो कि आमाको महत्वलाई समाजले अझै किन व्यवहारिक रुपमा स्वीकार्न सकेकोछैन ? अनि,संविधानको कोरा कागजमा लेखिदिदैमा राज्यको दायित्व सकिएको हो त?होइन भने संविधान प्रदत्त अधिकार दिनपनि किन स्वयम् राज्यका निकायहरु नै कञ्जुस्याइँ गर्छन् ?

एउटी आमाले सन्तानलाई जन्माएदेखि बालिग बनाउँदासम्म गर्ने त्याग र तपस्याको कुनै मूल्य छैन ? सन्तानकालागि बुबाको नाम नै सबथोक हो ? होइन भने किन आमाको नाम के हो भनेर सोधिदैन ? राज्यबाटै बुबा बिना हरकर्म रोकिन्छन् जस्तो किन ब्यबहार गरिन्छ ? म आफूलाई शिक्षित मान्छु, बोल्न सक्छु । गणतान्त्रिक मुलुकको केन्द्रीय राजधानीमा बस्छु । मैले समेत यति प्रतडना सहनुपर्यो भने जसको कोही छैन, जो बोल्न सक्दैनन्, जसले कानुनी व्यवस्थाबारे केही जानेका छैनन् होला, उनीहरुको अवस्था कति दयनीय होला?

यस्तो अवस्थामा मेरो अनुभव म जस्तै धेरै आमाहरुको लागिमात्र होइन कानून बुझ्न र हक खोज्न अरुकालागि एउटा बलियो नजीर बन्न सक्छ । मेरो हकमा हरेक संघर्षको निम्ति थप आत्मबल मिलेको छ । यसबाट मैले सत्यपथ कठिन छ तर लक्ष्य अवश्य सुखद् भन्ने पाठ पनि सिकेको छु ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…