कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा विभिन्न सामग्री खरिद गर्नका लागि स्वास्थ्य मन्त्रालय मार्फत आएको २ करोड २५ लाखको बजेट फ्रिज हुने भएको छ ।
अस्पताल विकास समिति र कर्मचारीहरुको कमिसनको लोभमा पुरानो प्रकृयामा गएको टेण्डर रद्ध गरेर नयाँ बार्गेनिङ्मा लागेपछि टेण्डर नै नभइ समय सकिने अवस्था सृजना भएको अस्पताल श्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न मेडिकल उपकरण खरिद गर्नका लागि महाकाली अञ्चल अस्पताललाई २ करोड २५ लाख निकासा गरेको थियो ।
महाकाली अस्पतालले २ लाखमा कल्सल्टेण्ट हायर गरेर टेण्डरको स्टमेट बनाएको थियो । अञ्चल अस्पतालले माघ ८ गते टेण्डर आह्वान गरेको थियो । फागुन ८ मा टेण्डर खुल्नुपर्नेमा त्यसको ५ दिन पुर्व नै बिनाकारण अस्पताल प्रशासनले टेण्डर रद्द गरेको थियो । टेण्डर आह्वान पश्चात ७ जना व्यवसायीहरुले टेण्डर खरिद गरिसकेको अवस्थामा अचानक टेण्डर रद्द गरिएको थियो ।
अस्पताल समिति र केही कर्मचारीहरुको मिलेमतोमा केही साना व्यापारीहरुसँग कमिसन लिने उद्देश्यले टेण्डर रद्द गरिएको नाम नबताउने सर्तमा अस्पतालका एक कर्मचारीले बताउनुभयो । सो बारे बुझ्न खोज्दा मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीकृष्ण भट्टले टेण्डर प्रक्रिया पूर्व मेडिकल सुपरिटेण्डेन्टले गरेको र यसबारे आफुलाई केहि थाहा नभएको प्रतिक्रिया दिनुभयो ।
महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले टेण्डर आह्वान गर्दा एक व्यवसायीलाई मात्र टेण्डर पर्ने देखिएकोले अन्य व्यवसायीहरुले निवेदन दिएको आधारमा विभागको सल्लाह अनुसार नै रद्द गरिएको बताउनुभयो ।
आर्थिक वर्ष सिद्धिनै लाग्दा पुनः टेण्डर आह्वान हुने संकेत समेत नदेखिएकोले रकम फ्रिज हुने निश्चित देखिएको छ । महाकाली अञ्चल अस्पतालमा औषधिको समेत अभाव रहेको छ । अस्पतालले विभिन्न खाले विरामीहरुलाई निशुल्क रुपमा उपलब्ध गराउदै आएको औषधि नपाएको सेवाग्राहीरुले गुनासो गरेका छन् ।
टेण्डर आह्वान गर्दा ३० दिने सूचना प्रकाशित गर्नुपर्ने र प्रक्रियामा जाँदा अझै थप समय लाग्ने भएकाले चैत्र मसान्त भित्र टेण्डर आह्वान गर्न नसके यस क्षेत्रका आमजनता प्रभावकारी स्वाथ्य सेवाबाट बञ्चित हुने निश्चित देखिएको छ ।