वीर गोर्खालीका नातिहरू

हरिप्रसाद भण्डारी

मानिस र गाडीको नियमित आवत–जावतले गर्दा बानेश्वरचोकमा प्रायः घुइँचो भइनै रहन्छ । त्यस्तो घुइँचोमा पनि उसले सकी–नसकी बाटो काट्यो र टक्–टक् बैसाखी बजाउँदै बायाँ किनारै–किनार उत्तरतिर लाग्यो । खुट्टाको अपाङ्ग भए पनि बैसाखीको सहाराले ऊ तीव्र गतिमा अगाडि बढिरहेको थियो । प्रतीत हुन्थ्यो— ऊ कुनै लक्ष्यप्राप्तिका लागि प्रतिस्पर्धा गरिरहेको छ ।

मङ्सिरको महिना, दिन छिप्पिसकेको थियो तापनि आकाशमा लागेको कालो बादल र वरिपरि छरिएको हुस्सु नहटिसकेको हुनाले वातावरण निरस, ठण्डा र विषाक्त प्रतीत हुन्थ्यो । बहुसंख्यक मानिसहरू जाडाले कठ्याङ्ग्रिएर स्यू–स्यू गर्दै न्यानो र उज्यालोको खोजीमा पूर्वतिर ताकिरहेका देखिन्थे ।

त्यो नौलो यात्री केही कदम मात्र अगाडि बढिरहेको थियो, त्यस्तैमा चार–पाँचजना युवाहरू एउटा सानो गल्लीतिरबाट निस्किए र मूल बाटोमा मिसिए । उनीहरू कुनै नौलो चलचित्रको बारेमा बहस गर्दै थिए ।

हिँड्दाहिँड्दै उनीहरू त्यही अपाङ्ग यात्रीका नजिक आइपुगे । गफको तालमा उनीहरूको ध्यान अन्तै पुगेको थियो । त्यस्तैमा तिनीहरूमध्ये एकजना व्यक्ति एक्कासि गएर अपाङ्गको बैसाखीमा अल्झियो र हुत्तिँदै गई जमिनमा पछारियो । बिचरा त्यो अपाङ्ग यात्री उनीहरूबाट तर्किन त खोजेको थियो तैपनि ती युवकहरूको उत्ताउलो र बेसुरको हिँडाइको कारण ऊ तर्कन भ्याएन । झण्डै ऊ आफू पनि लड्नबाट जोगियो र प्रयत्न गरेर सम्हालियो ।

“तेरा आँखा छैनन् ? साले बाटामा हिँड्नेलाई बैसाखीले अखल्टाएर लडाउने ?” लडेको युवकले उठ्दै भन्यो ।

ऊ केही बोल्नै भ्याएको थिएन अर्को युवकले थप्यो— “साला लङ्गडाको खुट्टा त छैन छैन आँखा पनि रहेनछ ।”

उसको कुरा सुनेर अरू युवकहरू गलल्ल हाँसे ।

तिनीहरूको बेसुरको हिँडाइ, आफूप्रतिको कटुवचन र व्यङ्ग्यहाँसोले उसको मुटु पीरो भयो । रिसले उसको अनुहार रातो भयो अनि प्रतिकार गर्दै भन्यो— “आफै बाटो नहेरी हिँड्छौ अनि अर्कालाई दोष……….।”

“बर्ता नबोल् है लङ्गडा, नत्र खालास् झापु ।” अपाङ्गको वाक्य पूरा हुन नपाउँदै तेस्रो युवकले हाँक दियो ।

“के यहाँ तिमीहरूको मात्र राज छ र ? अन्यायमा पनि पर्नुपर्ने अनि झापड पनि खानुपर्ने ?” उसले यत्ति मात्र के भन्न भ्याएको थियो ‘ठोक सालेलाई बडो बर्ता पो हुँदोरहेछ ।’ भन्दै दोस्रो युवकले तेस्रो युवकलाई आँटदियो ।

“के शान्तिसुरक्षा र मानवअधिकारसमेतलाई तिमीहरूले दबाउन खोजेको ?” अपाङ्ग यात्रुले हिम्मत नहारी भन्यो ।

“शान्तिसुरक्षा ?” तेस्रो युवकले व्यङ्ग्यपूर्ण शब्द उच्चारण गर्दै र “ला तेरो शान्तिसुरक्षा” भन्दै एकलात दिएर उक्त अपाङ्गको एउटा बैसाखीलाई पर हुत्याइदियो । उसको त्यो बहादुरी देखेर एकपटक पाँचैजना युवकहरू हाँसे । हाँस्ने क्रम रोकिएको थिएन । अर्को युवकले पनि “ला तेरो मानवअधिकार” भन्दै अर्को बैसाखीलाई पनि लात्ताले हानेर झन् पर पु¥याइदियो । दुवै बैसाखी नहुँदा ऊ सम्हालिन सकेन र ढनमनिदै सडकमा पछारियो ।

ऊ त्यसरी पछारिएको देखेर पाँचजना तन्नेरीहरू शरीर मर्काउँदै निकै जोडले हाँसे । हाँस्दा–हाँस्दै तिनैमध्ये एउटाले भन्यो— “वीर गोर्खालीका नातिहरू हौँ हामी, के हुतिहारा सम्झेकोे तैँले हामीलाई ?” उसको कुरा सुनेर हाँसो पुनः थपियो ।

यो सबै घटना क्षणभरमै भएको थियो । त्यहाँ थुप्रै दर्शकहरू जम्मा भइसकेका थिए । तर छिरलिएको शक्ति र दबिएको मानसिकताले गर्दा ती ‘वीरहरूको’ प्रतिकार गर्न कसैले सकेन । उता अग्लो डाँडामा बसेका स्वयम्भूका दुईटा आँखाले पनि न्याय अन्याय छुट्याएनन् ।

बिचरो अपाङ्ग यात्रु सकिनसकी उठ्यो र एउटा खुट्टाको सहाराले उभिँदै बिस्तारै भन्यो— “वीर गोर्खालीका नातिहरू ! तपार्इँ पाँचजना वीरहरू मिलेर म एकजना अपाङ्गलाई पछार्न सक्नुभएकोमा तपाईंहरूलाई धेरेै धेरै धन्यवाद छ । म आफूले आफैलाई धिक्कार दिन्छु किनकि जनआन्दोलनमा प्रहरीको गोलीद्वारा एउटा खुट्टा गुमाएर पनि मैले आफूलाई वीर बनेर उभ्याउन सकिनँ ।”

उसका कुरा सुनेर त्यहाँ वरिपरि झुम्मिएका दर्शकहरूको मुटु चसक्क चस्कियो र शरीरमा जिरिङ्ग काँडा उठे । त्यत्ति बेलासम्म वीर गोर्खालीका नातिहरू पर पुगिसकेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…