शिव अधिकारी
काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलबीच चलिरहेको आन्तरिक छलफल शुक्रबार सकिएको छ ।
मंगलदिन देखि सुरू बैठक पार्टीको विधान निमार्ण गर्ने, तोकेको म्यादभित्र महाधिवेशन गर्ने र संसदीय दलको नेता चयन गर्ने बिषयमा बैठक केन्द्रित रहेको थियो ।
राजपाले मंगलबार पहिलो दिनको बैठकमा अहिलेसम्मको समसमायिक राजनीतिक अवस्था र भूमिका बारेमा छलफल गरेका थिए । साथै कल्पना पाण्डेलाई प्रदेश ५ प्रदेशसभा सदस्यमा नियुक्त गर्ने निर्णय पनि गरेको थियो ।
ज्यान मार्ने अभियोग अन्तर्गत जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद चौधरीलाई तत्काल रिहा गर्न बुधबार बसेको बैठकले सरकार सगं माग गरेको थियो । सांसद चौधरीलाई रिहा गरी सपथको व्यवस्था गर्न सरकारलाई पुनः दबाव दिएकाे छ।
शुक्रबार राजपाले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिजुलीको तारमा करेन्ट लागेर मृत्यु भएका राजपाका केन्द्रिय सचिव तेन्जिङ्ग लामा प्रति श्रद्वाञ्जली अर्पन गरेको थियो । त्यस्तै बाँकी बिषयमा सहमती जुटाइ असार ४ गते राजनितिक समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
मधेस आन्दोलन र टीकापुर घटनाको क्रममा आफ्ना कार्यकर्तामाथि लगाइएको आरोप र झुटा मुद्दा तत्काल फिर्ता गर्न पनि राजपाले सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । बैठकमा संविधान संशोधन कहिले गर्ने भनेर सरकारको आधिकारिक धारणा माग गरिएको थियो ।
यस्तै पार्टी गठन भएको एक वर्ष बितिसक्दा पनि राजपाले महाधिवेशन बारेमा पार्टीमा के आन्तरिक तयारी भइरहेको छ भन्ने बिषयमा आयोगलाई जानकारी गराउन भनेपछि राजपाकाे अध्यक्ष मण्डललाई अर्को समस्या थपिएको छ ।
राजपाले अहिले महाधिवेशनको लागि विधान निर्माण गर्ने कामलाई तिव्रता दिएको छ ।