सुशील खड्का
सुर्खेत । सुर्खेतमा भएका छुट्टा छुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पश्चिम सुर्खेतको बावियाचौरमा अटोरिक्सा दुर्घटनाहुँदा ३ जना र चिंगाडमा चट्याङ्ग लागेर दुई जनागरी पाँच जनाको मृत्यु भएको हो ।
पञ्चपुरी नगरपालिका– ५ मुरमुरेमा भे १ ह २१३५ नम्बरको अटोरिक्सा दुर्घटनामा पञ्चपुरी नगरपालिका–५ का २४ वर्षीय विनिता शाही, उनका ९ महिनाका छोरी प्रतीक्षा शाही र पञ्चपुरी नगरपालिकाका– ५ का अटोरिक्सा चालक ३६ वर्षीय अशोक रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अटोरिक्सा दुर्घटनामा तीन जना घाइते भएका छन् । पञ्चपुरी नगरपालिका– ५ की २४ वर्षीय भुमीसरा रावल, ४२ वर्षीय बिर्ख नेपाली र ३८ वर्षीय लक्ष्मी नेपाली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य चौकी सालकोटमा सामान्य उपचार पछि वीरेन्द्रनगर ल्याइएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको शव पोष्टमाटमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा ल्याइएको छ । अटो सडकबाट करिब १ सय किलोमिटर तल खसेको प्रहरीको भनाई छ ।
यता, वीरेन्द्रनगरदेखी उत्तर पूर्वमा पर्ने चिंगाड गाउँपालिकामा आईतबार दिउँसो चट्याङ्ग पर्दा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । मटेलास्थित धनपानी प्राथमिक विद्यायमा अध्ययनरत चिंगाड गाउँपालिका–४ का निर्मला चन्द र अमर चन्द छन् । स्कूल नजिक सल्लाको रुखमा चट्याङ्ग पर्दा उनीहरुको मृत्यु भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।
चट्याङ्ग लागेर सोही विद्यालयका ५ जना विद्यार्थीहरु घाईते भएका छन् । घाईते हुनेमा चिङ्गाडकै दुर्पता चन्द, निरुता चन्द, लक्ष्मी चन्द, तारा कुमारी चन्द र सुरेश चन्द छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।