नारायण भण्डारी
महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै सारभूत सन्दर्भहरु छन् । गृष्मको प्रचण्ड ताप छेक्तै असारमा आकाशै ढाकेर बादल उठ्छ । बादलमै बसेर मनसून समुद्रको सौगात लिएर आउँछ । तापले धपक्क बल्ला जस्तो भूमिमा वर्षा गराउँछ । जलवर्षा जगतवासीको हर्षवृष्टि बन्छ । पानी पर्दै र वर्षा बढ्दै गएपछि खेतकुनामा जलमूल फुट्छन् । कुला चल्छन् । खोला सुसाउँछन् । बर्खा लाग्छ । घर वरिपरि झयापझयाप्ती झार र घाँस पलाउँछ ,भ्यागुता झयाउँकीरी कराउँछन् । खेतबारीमा मेला गर्न गएका मानिस साँझ घर फर्कन्छन् ।
ब्याडको बीउ बढेपछि खेतमा धान रोपाञी शुरु हुन्छ । नेपाली भूमिमा रोपञी त रोमाञ्चक पर्व बन्छ । सिमेभूमेको पूजा गर्ने, भकारी राखेर असारे गीत गाउँदै माटाको टीका लगाउने खेतधनीलाई शिरमा बीउ सिउरिदिने, हिलाले हानेर हर्षबढाइ गर्ने,बालीमा शुभ शक्ति प्राप्त होस भनेर पञ्चैबाजा बजाउने चलनले धान रोपाञी हाम्रो कृषि उत्सव बन्छ । किसानको पर्व बन्छ । कठिन कामलाई सहज बनाउने कस्तो विज्ञान ।
कामको बोझ होला तर मेला पसेका नरनारीमा रमाइलो गर्ने बानीले थकान बिर्साएको छ । गीत गाएको छ ,कसैले भित्रभित्रै माया लाएको छ । हिलो छयाप्दा माया बढ्ने मौका आएको छ ।
आपसी आकर्षणले ऊर्जा दिन्छ जाँगर दिन्छ । कोही असारे गीतमा नाच्तैछन् । कोही काम गर्दा गर्दै छड्के नजरले हेर्दै छन् । यसले बालीबिरुवामा शुभ शब्दप्राण सञ्चारण गर्दछ ।
घाम घर्केपछि रोपाञीको मेलो अलि छिमलेर आलीमा टक्र्याकटुक्रुक बसी खाने अर्नी नास्ता खाजाको स्वाद क्या हृदयस्पर्शी छ । थाकेर भोकाएर भोजन गर्दाको अनुभव र ओजन बेग्लै हुन्छ । घर घरको खान्कीमा फरकफरक आस्वाद, । खाजा पुवा सेलरोटी चना चिउरा आलु अम्चूरको अचार,चटनी र आहारमा क्या प्राण छ । गाउँ छाडेर शहर परदेश पुग्दा पनि यसकै मिठासले वर्षौसम्म ज्यान रसिन्छ । त्यसकै झल्को आइरहन्छ । त्यो दिनको गीत गाइरहन्छ । क्या दीर्घपोषण,क्या उच्च खजाना, यो खुराकको कस्तो खुबी, देहलाई मात्र होइन दिललाई पनि केही दिइरहेको छ । शहर पसेका मानिसले आज पनि रोपञीमा खाने खाजाको त्यो रस सम्झेर आनन्दित हुन्छन्।
रोपाञीको खास पर्व असार पन्ध्र हो । नेपाली समाजमा यस दिनलाई वर्षको सबैभन्दा लामो दिन मानिन्छ । असार पन्ध्रमा धान रोपाञी गरी दही र चिउरा खाने चलन छ । रोपाञीको दवदवे हिलो आपसमा छ्यापेर हिलो खेली रमाउनु रोपाञीको अर्को आकर्षण हो । यसो गर्नाले माटोप्रति माया जाग्छ भने खेतीकिसानी उत्तम कर्म हो भन्ने देखिन्छ । यसले आपसमा माया र सद्भाव पनि जगाउँछ ।
आजभोलि त झन रोपाञीलाई पर्व बनाई पर्यटन प्रवद्र्धनको उत्पादन बनाइएको छ । शहरमा चिटिक्क परेर हिड्ने पनि पन्ध्र असारमा हिलो खेल्न खेतमा पुग्छन् । सरकारले अहिले असार १५ लाई धान दिवसको रुपमा पनि मनाइँदै आएको छ । सयौं थरीका स्थानीय प्रजातिका धान पाइने हाम्रो देशमा वास्नादार, औषधीय गुण भएका अनेक हावापानीमा सदिर्यौंदेखि फल्दै आएका रैथाने जातका धानहरु हराउँदे गएकोमा ती धानलाई राष्ट्रिय बाली र सम्पति मानेर संरक्षण गर्नु आवश्यक छ । यसमा कृषि मन्त्रालय सचेत हुनुछ । धान दिवसको नाममा पर्यटक बनी खेत गई रमाइलो मात्र गरेर यो दायित्व पूरा हुँदैन । मुलुकको शष्य सम्पत्ति जोगाउनु आजको कर्तव्य हो ।
यो कृषिसभ्यताको महत्व र सभ्यता बुझ्ने बुझाउने दिन पनि हो । असारलाई त मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ । यति बेला किसानहरु धान रोपाञीमा व्यस्त रहन्छन् । असारमा बाली लगाएर मंसिरमा अन्नदाना स्याहारी सहसमृद्धि भित्र्याउने सुन्दर सपना साँचेर किसानहरु झरी बादल वर्षा,भोकप्यास नभनी खेतबारमै कृषिकार्यमा धुरिन्छन् ।साँस्कृतिक हिसाबले पनि असार उत्तिकै समृद्ध छ । असारमै भूमिपूजा गर्ने परम्परा छ । असारे ठूली एकादशी भनिने हरिशयनी एकादशीमा भगवान विष्णुको विशेष पूजाआजा गरी चतुर्मास थालिन्छ । यसै एकादशीदेखि चार महिना भगवान नारायण हिमालयपर्वतको हिमवती गुफामा शयनगर्ने भएकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिएको शास्त्रीय कथन छ ।
हरिशयनी एकादशीका नदी दोभान, त्रिवेणी संगमहरुमा स्नान गरी उपवास बस्ने चलन छ । यसै दिन घरघरमा तुलसी रोपिन्छ । घरआगनको छेउमा मठ बनाई बहुउपयोगी तुलसी रोपेमा घरपसिरमा प्रशसत अक्सिजन प्राप्त हुनुका साथै रोगव्याधीका कीटाणु नाश हुने आयुर्वेदमा उल्लेख छ । वृन्दा भनिने वनस्पति तुलसी धार्मिक साँस्कृति तथा आयुर्वेदिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
आषाढ पूर्णिमामा आफूलाई विद्यादान गरी अज्ञानताको अन्धकारबाट मुक्ति दिने गुरुको पूजा गरिन्छ । यसैले यस पूर्णिमालाई गुरुपूर्णिमा भनेर सम्बोधन गरिन्छ । यस दिन गुरुका रुपमा वेदव्यासको पूजा गर्ने परम्परा छ । उहाँले विश्वको सबैभन्दा जेठो र मूलग्रन्थ वेदका विषयवस्तु अनुसार चारवेदमा विभक्त गनुृभएकाले उहाँलाई वेदव्यास भनिइएको हो । वेदव्यासले वेदको विन्यास गर्नुका साथै,विश्वकै विशाल महाकाव्य महाभारत,अठार पुराण,वेदान्त दर्शनलगायतका ग्रन्थहरुको रचना गर्नुृभएको छ । सेती र मादीको संगम तनहुँको दमौलीमा उहाँको जन्म भएको विद्वानहरुको भनाइ छ ।
गुरु पूर्णिमाका दिन आफूलाई शिक्षा दिने दीक्षा दिने तथा प्रशिक्षण गर्ने गुरुको श्रद्धापूर्वक पूजन गरी फूलमाला लगाइदिएर कोशेली दिनुका साथै मिष्ठान्न भोजन गराएर सम्मान गर्ने चलन छ । आषाढ पूर्णिमामा बादलभित्र लुकेका चन्द्रमा देखिएझै गुरु पनि अध्यारो हटाई जगतमा छाउने चित्रण गरिएको छ । यस दिन देशका विभिन्न विद्यालय, विश्वविद्यालय,प्रशिक्षण केन्द्र प्रतिष्ठानमा शिष्यहरुले बडो भक्तिपूर्वक गुरुको पूजा गदर्छन् । यसो गरेमा गुरुको कृपा प्राप्त भई मुक्तिसम्मको यात्रा सम्भव हुने पूर्वीय शास्त्रहरुमा उल्लेख छ । मोक्षमूलम् गुर्रोकृपा ।
संस्कृतका महाकवि कालिदासको काव्ययात्रा मेघदूतको थालनी आषाढको पहिलो दिनदेखि शुरु भएको छ । आषाढस्य प्रथम दिवसे..,महकविले आफ्नो महाकाव्य मेघदूतमा समुद्रबाट उठेको घनघटालाई दूत बनाई हिमालयतर्फ पठाउँछन् । उहाँले यसको शुरुवात असारको प्रथम दिनदेखि गर्नुभएको छ । आषाढमा मेघदूतको यो उत्तरी यात्रा अर्थपूर्ण चित्रण मानिन्छ ।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती असारकै अन्तिममा पर्छ । हरेक वर्ष असार २९ गते राष्ट्रिय सम्मानका साथ आदिकवि आचार्यको जन्मजयन्ती मनाई उहाँको भाषिक योगदानबारे चर्चा गरिन्छ । नेपाली भाषामा ठूला र गहकिला ग्रन्थ नभएको बेलामा भानुभक्तको रामायण पाएर नेपाली भाषा समृद्ध बन्यो ।
यही रामायणका माध्यमबाट नेपाली भाषा नेपालीको घरघरमा पुग्यो । यो ग्रन्थ त राष्ट्रिय एकताको आधार बन्यो । नेपाली जातिको भाषामा महान् काव्य सम्पदा प्राप्त भयो । नेपाली भाषामा पनि काव्य महाकाव्य रचना गर्न सकिन्छ भन्ने सिद्ध भयो । नेपाली भाषा विश्वका अन्य भाषाझै विकसित देखियो । उनले भानुभक्तको रामायणका साथै बधूशिक्षा, भक्तमाला,रामगीता लगायतका पुस्तकको लेखेर नेपाली साहित्यलाई धनी बनाए ।