काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले विपद् व्यवस्थापनमा नेपाली सेनाको भुमिकालाई प्रभावकारी बनाउने बताउनुभएको छ ।
रक्षा मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको बुधबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिदै उहाँले विपत व्यवस्थापनको क्षेत्रमा नेपाली सेनाको भुमिकालाई थप प्रभावकारी बनाउने बताउनुभएको हो । नेपाली सेनाले बाहय सुरक्षा, आन्तरिक सुरक्षा, विपत व्यवस्थापन, विकास निर्माण, प्रकृति संरक्षण, महत्वपुर्ण संरचना तथा अति विशिष्ठ तथा विशिष्ठ व्यक्तिको सुरक्षा तथा विभिन्न देशमा शान्ति स्थापना लगायत क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले विपत व्यवस्थापनमा सेनालाई थप उपकरणयुक्त बनाईने बताउनुभएको हो ।
विपत व्यवस्थापनमा आवश्यक पर्ने उपकरण र सामाग्री उपलब्ध गराउने योजनामा सरकार रहेको भन्दै उहाँले विपत व्यवस्थापनको काम प्रभावकारी बनाउन एक मिडियम र दुई लाईट हेलिकप्टरको खरिद प्रक्रिया सुरु गरि सकिएको जानकारी दिनुभयो ।
उहाँले नेपाली सेनालाई आवश्यक पर्ने हातहतियार तथा सैन्य उपकरण प्रचलित आर्थिक कार्यविधि अनुरुप सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम खरिद गर्ने गरिएको स्पष्ट पार्नुभयो । सो क्रममा भारत इजरायल, बेलायत,अमेरिका लगायत देशबाट आवश्यक उपकरण लिने गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
कानुन बमोजिम विकास निर्माण तथा विपत व्यवस्थापनको साथै राष्ट्रिय महत्वका आयोजना निर्माणमा नेपाली सेनाको संलनता बढाउदै लगिएको भन्दै उहाँले अहिले सम्म सेनाले १ हजार ६५ दशमलब १७ किलोमिटरका २७ वटा सडक निर्माण आयोजना र ३० वटा पुल निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
नेपाली सेना हालको दिनमा काठमाण्डौ तराई दु्रतमार्ग, कर्णाली करिडोर, जाजरकोट डोल्पा दुनै लगायत सडक निर्माणमा संलग्न रहेको जानकारी दिनुभयो । उहाँले काठमाण्डौ तराई द्रुत मार्ग निर्माण गर्न नेपाली सेना सक्षम र काम प्रति प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।