–इच्छा गुरुङ
काठमाडौं । समाजसेवी मेनुका थापा सबैको लागि परिचित नाम बनिसकेको छ । यौनजन्य हिंसामा परेका युवतीहरुको उद्दार गरि उनीहरुको कानुनी हक र पुर्नस्थापनाको लागि १५ वर्षदेखि काम गरिरहेको संस्था रक्षा नेपालकी अध्यक्ष हुन्–थापा । सयौं युवतीहरुको उद्घार गरिसकेकी मेनुका पछिल्लो समय पूजा बोहराको इस्युको कारण बिबादमा तानिइन् ।
यौनजन्य हिंसाको काम साह्रै जोखिमपूर्ण रहेको बताउँछिन् अध्यक्ष थापा । उनले जनता टेलिभिजनको कार्यक्रम सेलिब्रटी किचेनमा आफ्नो अनुभव सुनाउने क्रममा केही दाताहरु नै स्वार्थले अनावश्यक शर्त राख्ने गरेको खुलासा गरिन् ।
रक्षा नेपाललाई सहयोग र साथ दिने धेरै सहयोगी साथहरु रहेको सगर्व सुनाउदै उनले केही समाजसेवीहरुले भने कुस्वार्थले सहयोग गरेको खुलासा गरेकी हुन् । केही सहयोग दिएर रक्षा नेपालमा आश्रित युवतीहरुलाई आफू कहाँ पठाइदेउ भन्नेसम्मका केही दाता रहेको उनले बताइन् । तर उनले नाम भने खुलाउन चाहिनन् । त्यस्ताको नकाव समयसँगै आफैं खोल्दै जाने थापाको विश्वास छ ।
'हामीले अहिले काम गरेको क्षेत्र आगोभित्र बसेर आगो खाएर आगो ओकल्नु पर्ने क्षेत्रको रुपमा रहेको छ',थापा थप्छिन्– 'हरेक पटक चुनौतिको सामना गर्नुपर्छ ।'
बिगत १५ बर्ष देखि यस क्षेत्रमा क्रियाशील थापाले दुख गरेर कमाएको नामलाई बदनाम बनाउन अनेक शक्तिहरु सक्रिय रहेको थापाको गुनासो छ ।
रक्षा नेपालले हाल ७० जना बालबालिका तथा युवतीहरुलाई संरक्षण दिइरहेको छ । यौन हिंसा मुक्त समाज बनाउन महिला पुरुष दुवैको समान सहभागिता हुनुपर्ने उनको अनुभव छ । यौनहिंसा जस्तो समाजसँग जोडिएको जटिल विषयमा पुरुषको पनि समान सहभागिता आवश्यक छ । महिलाले मात्र वकालत गरेर यो समस्या अन्त्य हुँदैन भन्नेमा उनी विश्वस्त छन् । उनको अनुभवले यही बताउँछ ।
https://www.youtube.com/watch?v=TphA7yJK_l8&t=321s