प्रिमेश शिवाकोटीरौतहट । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आर्थिक बर्षको अन्त्य सम्ममा ३५ जना घरेलु मदिरा बिक्रेता तथा उत्पादनकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले करदाता कार्यालय गौरमा लगेर जरिवाना गराएर छाडेको थियो । चन्द्रनिगाहपुर क्षेत्रमा उत्पादन भएको घरेलु मदिरा जिल्लाका विभिन्न स्थानमा ठुलो मात्रामा खपत हुन थालेपछि प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान नै थालेको थियो ।
प्रहरीको यो अभियानबाट घरेलु मदिरा उत्पादन तथा बिक्रि वितरण पूर्ण रुपमा बन्द नभएको भएपनि केही हदसम्म नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोईरालाले जानकारी दिनुभयो । घरेलु मदिरा सेवनकै कारण समाजमा बिभिन्न खालका समस्या आउन थालेपछि प्रहरीले मदिरा बिक्रेता तथा उत्पादनकार्तालाई पक्राउ गरेर राजश्व कार्यालयमा बुझाउने कामको थालनी गरेको डिएसपी कोईरालाको भनाइ रहेको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आफु आएको ६ महिना भित्र १३ सय लिटर घरेलु मदिरा र ६ सय लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको डिएसपी कोईरालाले बताउनुभयो । बितेको ६ महिनामा चन्द्रपुर नगरपालिका क्षेत्रमा मदिरा उत्पादन गर्ने तथा बिक्रि वितरण गर्नेबाट करदाता सेवा कार्यालय गौरले एक लाख ५७ हजार रुपैया राजश्व समेत असुल गरेको छ ।
पक्राउ परेकाहरुलाई अबका दिन देखि घरेलु मदिरा बिक्रि वितरण नगर्ने सर्तमा कागज गराएर छाडिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घरेलु मदिरा पुर्ण रुपमा नियन्त्रणका लागि प्रहरीको मात्र एक्लो प्रयासले नहुने बताउँदै डिएसपी कोईरालाले समाजका सबै तहले यसमा सहयोग गरे चन्द्रपुर नगरपालिकालाई घरेलु मदिरा मुक्त नगर बनाउने दाबी गर्नुभयो ।
अखाद्य बस्तुको प्रयोग गरेर बनाएको घरेलु मदिराका कारण सेवनकर्ताको स्वास्थ्यमा समेत गम्भीर असर परेका कारणले प्रहरीले घरेलु मदिरा नियन्त्रणको प्रयास गरेको प्रहरीको भनाई रहेको छ ।
चन्द्रपुर नगरपालिकाको विभिन्न वडामा उत्पादन हुने घरेलु मदिरा रौतहट जिल्लाको सदरमुकाम गौरलगायतका स्थानमा खपत हुने गरेको छ । यसको नियन्त्रणका लागि समेत प्रहरीले आफ्नो सक्रियता बढाएको हो । घरेलु मदिरा सेवन गरेर हुने घर झगडाका घटना न्यूनीकरणका लागि समेत आफुले घरेलु मदिरा विरुद्धको अभियान चलाएको र यसलाई जारी राख्ने डिएसपी कोईरालाको भनाइ छ ।