नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदन अनुसार, ५ वर्ष मुनिका बालबालिकामध्ये ३६% वामपुड्के, १०% उचाइअनुसार दुब्लो (लुरे), २७% उमेरअनुसार कमतौल र २४% जन्मँदा कमतौल भएका, ६८% जति ६ महिनादेखि २३ महिनासम्मका बालबालिका र ५३% जति ५ वर्षमुनिका बालबालिकामा रक्तअल्पता पाइएको छ भने ४६% गर्भवतीमा रक्तअल्पता पाइएको छ । साथै, ६६% आमाहरुले मात्र आफ्ना शिशुलाई प्रचुर मात्रामा स्तनपान गराउने गरेका छन् ।
–गंगाराज अर्याल
हरेक वर्ष अगष्ट महिनाको १ देखि ७ तारिखसम्म विभिन्न नाराका साथ मनाइने स्तनपान सप्ताह एक हप्तासम्म नेपालमा पनि ‘स्तनपानः जीवनको आधार’ भन्ने नाराकासाथ विश्व स्तनपान सप्ताह मनाइँदै छ । विश्वभर शिशु तथा बालबालिकाको सुरक्षा, शारीरिक तथा मानसिक वृद्धि–विकास र स्वास्थ्य सुधारका लागि स्तनपान प्रवर्धनसम्बन्धी सहयोगका लागि विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोषलगायत अन्य संघसंगठनको आव्हानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।
स्तनपान के हो ?शिशुु तथा बालबालिकालाई आमाले आफ्नो दूध चुसाउने प्राकृतिक सामान्य तरिका नै स्तनपान हो । शिशु जन्मेको सकेसम्म छिटो १ घण्टाभित्रै शिशुुलाई आमाको नाङ्गो छातीमा टाँसेर पहिलो र पहेँलो बिघौती दूधसमेत खान पाउने गरी स्तनपान गराउने र शिशु तथा बालबालिकाले मागेअनुसार र नछोडेसम्म कम्तीमा २ वर्ष उमेरसम्म स्तन चुसाउनुलाई स्तनपान भनिन्छ । साथै, शिशुले मागेअनुसार २४ सै घण्टा तथा आमालाई दूध ख्वाउनुपर्ने महसुस वा चाहना भएसम्म कम्तीमा ६ महिनासम्म आमाको दूध मात्र ख्वाउनुलाई नै ‘प्रचुर मात्रामा स्तनपान’ भनिन्छ ।
स्तनपानबारे केही तथ्यः
सन् २०१६ को अध्ययन अनुसार, विश्वका १ सय ५५ करोड ५ वर्षमुनिका बालबालिका बामपुड्के (उमेर अनुसार होचो) भएको, ५२ करोड जति लुरे (उचाइअनुसार पातलो) र ४१ करोडजति कुपोषण (बढी तौल)भएको पाइएको थियो ।
कुपोषणका कारण विश्वका ४५% बालबालिकाको मृत्यु हुने गरेको छ ।
बालबालिकाको अधिकारसम्बन्धी सम्मेलनद्वारा गरिएको घोषणाअनुसार ‘असल पौष्टिक पदार्थ हरेक शिशु तथा बालबालिकाको अधिकार’ घोषणा गरिएको छ ।
विश्वका ६ महिनाका शिशुमध्ये करिब ४०% ले मात्र प्रचुर मात्रामा स्तनपान गरेका छन् ।
जन्मेदेखि २३ महिनासम्म सम्पूर्ण शिशुले स्तनपान गर्न पाएका खण्डमा विश्वभरका ५ वर्षमुनिका ८ लाख २० हजार बालबालिका बचाउन सकिन्छ ।
नेपालमा २०७३–७४ को प्रतिवेदन अनुसार, ६ महिनासम्मका जम्मा २५% र २३ महिनासम्मका जम्मा ६३% शिशुको मात्र वृद्धि अनुगमन गरिएको देखिन्छ । जुन अघिल्लो वर्ष भन्दा घटेको छ ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदन अनुसार, ५ वर्ष मुनिका बालबालिकामध्ये ३६% वामपुड्के, १०% उचाइअनुसार दुब्लो (लुरे), २७% उमेरअनुसार कमतौल र २४% जन्मँदा कमतौल भएका, ६८% जति ६ महिनादेखि २३ महिनासम्मका बालबालिका र ५३% जति ५ वर्षमुनिका बालबालिकामा रक्तअल्पता पाइएको छ भने ४६% गर्भवतीमा रक्तअल्पता पाइएको छ । साथै, ६६% आमाहरुले मात्र आफ्ना शिशुलाई प्रचुर मात्रामा स्तनपान गराउने गरेका छन् ।
स्तनपानप्रति अवधारणाशुरुमा स्तनपान गराउँदा दूध कम आउन सक्छ । तर दूध नआए पनि स्तन चुसाउनु पर्दछ । किनभने चुसाउँदै जाँदा दूध आउन थाल्छ । तर चेतना कमीले कम दूध आउँदैमा नचुसाई अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटकमात्र स्तनपान गराउने, एकातिरको स्तन मात्र चुसाउने, दूध कम आए बोतलको दूूध वा अन्य लेक्टोजिन, सेरेलेसजस्ता कृत्रिम तयारी दूग्ध पदार्थ ख्वाउने चलन धेरै छ । सुत्केरी भएपछि साल ननिस्केसम्म दूध चुसाउन नहुने, जन्मनासाथ शिशुलाई स्तनपानका सट्टा घिउ, मह, चिनी, सख्खर ख्वाउने प्रचलन छँदैछ । सौन्दर्य बिग्रने डरले सकेसम्म बोतलकै दूध ख्वाउन धेरै मन पराउने गलत धारणा छ ।
स्तनपानको महत्वगर्भावस्थाको अन्तिम महिनामा दूध उत्पादन हुन्छ । सुत्केरी हुनासाथ स्तनबाट पहिलो, पहेँलो, च्यापच्याप लाग्ने बाक्लो बिघौती दूध निस्कन्छ । यसमा शिशुलाई चौतर्फी वृद्घि–विकासका लागि चाहिने कार्बोहाइडे«ट, प्रोटिन, बोसो, भिटामिन तथा खनिज पौष्टिक पदार्थ सही मात्रामा पाइन्छ । तयारी अवस्थाका, सजिलै पाउन सकिने, शिशुले चाहे जुनसुकै बेला ख्वाउन सकिने आमाको दूध अत्यन्त पोषिलो अमृत पदार्थ हो ।
१. जन्मेपछि ६ महिनासम्मका शिशुलाई स्तनपान पहिलो खोप होः शिशुको अधिकतम वृद्धि–विकास जन्मेको ६ महिनासम्म हुन्छ । त्यसकारण शिशु जन्मनासाथ सकेसम्म छिटो १ घण्टाभित्र शुरु गरी ६ महिना नपुग्दासम्म लगातार स्तनपान गराए शिशुको सम्पूर्ण वृद्घि विकास हुन्छ । आमाको दूधमा पाइने कोलस्ट्रम (बिघौती) भित्रका तत्वले विभिन्न रोगसँग लड्नसक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र न्युमोनियाजस्ता घातक संक्रामक रोगले आक्रमणगर्न सक्दैनन् । त्यसैले ‘स्तनपान शिशुको पहिलो खोप’ हो ।
२. स्तनपानमा आमालाई फाइदाः शिशुलाई स्तनपान गराउने आमालाई गर्भान्तर गर्ने परिवार नियोजनका साधन प्रयोग गर्न पर्दैन । किनभने स्तनपान गराउँदाको पहिलो ६ महिनासम्म ९८% प्राकृतिक तवरले गर्भान्तर गर्ने सुनौलो अवसर प्राप्त हुन्छ । स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप २ र सुत्केरीपछि मनोरोग सम्भावना न्युन रहन्छ । आमा तथा शिशुबीच मायाममता र सम्बन्ध बढ्छ । सुत्केरी आमालाई काममा भन्दा शिशुसँगै सकेसम्म धेरै समय रहन दिनु पर्दछ । कामकाजी आमालाई सुत्केरी बिदा र शिशुसँगै राखेर काममा लगाउने व्यवस्था गर्नु पर्दछ । एचआइभी एड्स संक्रमित आमाका दूधबाट शिशुलाई एचआइभी सर्न सक्छ । तर एचआइभी एड्सबिरुद्ध औषधि सेवनसँगै स्तनपान गरेका खण्डमा शिशु, बालबालिकालाई एचआइभी संक्रमणको जोखिम कम हुन्छ ।
३. आमाको दूध प्रतिस्थापन गर्ने पदार्थ हानिकारकः नेपालमा आमाको दूधका सट्टामा बट्टाको दूध वा अन्य दुग्ध पदार्थ बिक्री वितरण गर्न नपाउने कानुन बनेको छ, तर त्यसको कार्यान्वयन हुन सकेको छैन । बजारिया दूध तथा दूधजन्य सेरेलेक, ल्याक्टोजिन जस्ता पदार्थ प्रदूषित, महंगा, तर कुपोषित हुने हुनाले शिशु, बालबालिकाका लागि हानिकारक हुन्छन् । कुपोषण, संक्रमण जोखिम मात्र बढ्ने हुँदा यस्ता पदार्थको बजारीकरण, नमुना वितरण, पुरस्कारलाई बिल्कुलै निरुत्साहित मात्र होइन, बन्द गरिनपर्छ ।
४. पास्नीपछि स्तनपानसँगै ठोस खानेकुराः ६ महिनासम्म प्रचुर मात्रामा स्तनपान र पास्नी गर्नासाथ जाउलो, दाल, भात, तरकारीको झोलजस्ता घरमै तयार गरिएका ठोस खानेकुरासमेत ख्वाउनु पर्दछ । तर कम्तीमा २ वर्षसम्म वा बालबालिकाले आफैँ नछाडेसम्म स्तनपान छुटाउनु हँदैन ।
स्तनपानगराउने सही तरीकाप्रायःजसो आमा अझ नवसुत्केरीले स्तनपान गराउने सही तरीका ख्यालै नगरी दूध चुसाइरहेको पाइन्छ । यसो गर्दा शिशुले पूर्णरुपमा र राम्ररी दूध खान पाउँदैन र अघाउँदैन ।
सर्वप्रथम गर्भवतीको स्तनको मुन्टो धसिएको, सानो हुन सक्छ । त्यसो भएमा आफैँ धसिएको मुन्टोलाई तेल लगाई मालिस गरे विस्तारै सामान्य अवस्थामा ल्याउन सकिन्छ । यति गर्दा नआए नजिकका स्वास्थ्यकर्मीलाई देखाउनु पर्दछ ।
स्तनपान गराउँदा आमाको स्तनको मुन्टो (निपल) वरिपरीको कालो भागसमेत शिशुको मुखभित्र पसेको हुनु पर्दछ । तबमात्र शिशुले अघाउञ्जेल दूध खान पाएको मान्न सकिन्छ ।
शिशुलाई सजिलोसँग स्तनपान गराउन आमाले आफ्नो हातका औँलाले दूधको मुण्टो थिची दिनुपर्दछ । किनभने दूधको भागले शिशुको नाक थिच्न सक्छ र राम्ररी दूध चुस्न नपाउने मात्र होइन, कहिलेकहीँ श्वास फेर्न नपाई मृत्युसमेत हुनसक्छ ।
आमाले आरामकासाथ बसेर मात्र दूध चुसाउनु पर्दछ । किनभने शुरुको पहिलो दूध पातलो हुन्छ । बाक्लो दूध आउन एकछिन समय लाग्छ । त्यसैले एकपटकमा कम्तीमा १५ मिनटसम्म पालैपालोसँग दूध चुसाउनु पर्दछ । किनभने आमाले काम वा लाजले गर्दा हतारमा केही मिनेट जति चुसाएर छोड्ने गरे आमाको पहिलो पातलो दूधमात्र चुस्न पाएको शिशुले बाक्लो दूध आउने बेला स्तन चुस्न नपाइ अघाउनै पाउँदैन । कम्तीमा १५ मिनट दूध चुसाएपछि घोप्टो पारी शिशुलाई टाँसेर पिठ्युँमा थमथमाए शिशुले डकार्छ । अनि शिशु अघाएको हुन्छ र बान्ता गर्ने डर पनि हुँदैन ।
स्तनपान गराउने आमाले जहाँ जसरी भए पनि टुसुक्क बसेर, सुतेर वा उठेरै स्तनपान गराई शिशुलाई सुुताई छाड्ने चलन पनि देखिन्छ । यसो गर्नु कदापि ठीक होइन । आमाले शिशुको कानमा दूध नपर्ने गरी स्तनपान गराउनु पर्दछ ।
स्तनपान प्रवर्धनमा सरकारी प्रयाससरकारले स्तनपान कार्यक्रमलाई प्राथमिकता दिई विभिन्न स्तनपान प्रवर्धन तथा शिक्षाका कार्यक्रम सञ्चालन गरेको देखिन्न । पोषण कार्यक्रममा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सुआहारा कार्यक्रम हाबी भएको छ । स्वास्थ्य सेवा विभागको पोषण शाखा निरीह र यिनै संस्थाका प्रस्ताव मञ्जुर गर्ने साछी बनेको छ । फलस्वरुप स्वास्थ्य सेवा विभागको २०७३-७४ को वार्षिक प्रतिवेदनअनुसार ६ महिनासम्म जम्मा ६३% शिशुको मात्र वृद्धि अनुगमन गरिएको, ३२ % आमाहरुले मात्र सही तरीकाले स्तनपान गराउने गरेको पाइएको छ ।
त्यसकारण सरकारले विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९० देखि हरेक वर्ष अगस्ट १ देखि ७ तारिकलाई विश्व स्तनपान सप्ताहका रुपमा मनाइँदै आएको छ । तर वर्षको एक हप्ताको कार्यक्रम भए पनि देशभर व्यापक गरिनु पर्नेमा युनिसेफ, युएसआइडि सुआहारा कार्यक्रमले काम गर्न थालेको वर्षौँ बितिसक्दा पनि आव २०७२–७३ भन्दा गतवर्षमा पोषण कार्यक्रमका हरेक सूचकाङ्क घटेका छन् । केवल शहरी क्षेत्रमा मात्र पोषण कार्यक्रम केन्द्रित भएको अनुभव तथा प्रतिवेदनले देखाएका छन् । तर पोषण कार्यक्रम अनुगमन तथा मूल्याङ्कन हुनसकेको छैन ।
स्तनपान सप्ताह प्रवर्धन कसरी गर्ने ?१.स्तनपान प्रवर्धन कार्यक्रमः राज्यका हरेक तहका सम्बन्धित स्वास्थ्य संस्थामार्फत समुदाय, गाउँपालिका, नगरपालिका, उप–महानगरपालिकास्तरसम्म व्यापकरुपमा सही किसिमको स्तनपान प्रवर्धन कार्यक्रमबारे अन्तरक्रिया जस्ता प्रत्यक्ष फाइदाजनक कार्यक्रम सञ्चालन गरिए अधिकतम सुत्केरी आमाले गलत ज्ञान र अवधारणा हटाई सही स्तनपान गराउने बानी बसाल्न सक्थे । गर्भवती समेतलाई स्तनपान शिक्षा प्रदान गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुने झण्डै ६० प्रतिशत आमालाई घर पठाउँदा शिशुलाई स्तनपान महत्वबारे शिक्षा प्रदान गर्नु पर्दछ ।
२. स्तनपान सप्ताहः वर्षमा केवल एकपटक अगष्ट महिनामा मात्र स्तनपान सप्ताह मनाइने, त्यो पनि शहरी क्षेत्रमा मात्र छोटो कार्यक्रम गरी मनाएजस्तो गरेर बजेट सिध्याएर पुग्दैन । सकेसम्म अधिकांस आमाले सही तरीकाले, सही मात्रामा आफ्नै स्तनपान गराउनेगरी राज्यका हरेक तहका समुदायस्तरसम्म शैक्षिक तथा जानकारीमूलक अन्तरक्रियासहितको विशेष स्तनपान सप्ताह कम्तीमा वर्षमा चारपटक मनाउनुपर्दछ ।
३. स्तनपान गराउने आमाको पोषणः किशोरावस्थादेखि नै महिलाको स्वास्थ्य बलियो र निरोगी भए पछि गर्भवती हुँदा स्वस्थ हुन्छ । यस्ता गर्भवतीबाटपछि जन्मने शिशु स्वस्थ तथा निरोगी जन्मन्छ । किनभने पोषिलो खाना नै बलियो र निरोगिताको आधार हो । त्यसकारण किशोरावस्थादेखि गर्भावस्थामा पोषिलो खानेकुरा खान बढी जोड दिनु पर्दछ । घरमा बनाइने दाल, भात, गेडागुडीको रस, हरियो तरकारी/सागपात र मौसमअनुसारका फलफूल तथा भएसम्म दूध, अण्डा, माछामासु खाए पुग्छ । सुत्केरी भएपछि पोषिलो खानेकुराः ज्वानोको झोल, गेडागुडीको रस, हरियो तरकारी, सागपात, दूध–दही, मौसमअनुसार पाइने फलफूल र पाएसम्म माछामासु खान सकिन्छ ।
आमाले आरामकासाथ बसेर मात्र दूध चुसाउनु पर्दछ । किनभने शुरुको पहिलो दूध पातलो हुन्छ । बाक्लो दूध आउन एकछिन समय लाग्छ । त्यसैले एकपटकमा कम्तीमा १५ मिनटसम्म पालैपालोसँग दूध चुसाउनु पर्दछ ।