प्रदेश ३ः मन्त्रिपरिषदका ६ निर्णय

पुष्पराज अधिकारी
हेटौंडा । ३ नम्बर प्रदेशको मन्त्रिपरिषदको बैठक विहिबार साँझ बसेको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ६ वटा निर्णयहरु गरेको छ । सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र संचालन गर्न बनेको विधेयक २०७५, प्रदेश खेलकुद विकास गर्ने सम्बधमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक २०७५ स्विकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक (अवधारणा) स्विकृत सम्बन्धमा, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश सार्वजानिक खरिद सम्बन्धमा अन्तरिम कानुनी व्यवस्था गर्न बनेको कार्यविधि २०७५ को मस्यौदा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सैद्धान्तिक स्वीकृति दिने सम्बन्धमा निर्णय गरिएको प्रवक्ता ढुंगेलले जानकारी दिनुभयो ।
बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, सामाजिक विकास मन्त्री युवराज दुलाल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, उद्योग, पर्यटन, वन तथा वताबरण मन्त्री अरुण नेपाल र प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाललगायत सहभागि हुनुहुन्थ्यो ।