न्यूयोर्क । प्रधानमन्त्री केपी ओलीले शान्ति र सुरक्षालाई अन्तर्राष्ट्रिय रुपमै बलियो बनाउनुपर्ने बताउनु भएको छ । ‘‘नेपाल सधै शान्तिको पक्षमा छ, संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कार्य’ एक्सन फर पिसकिपिङको उच्चस्तरीय बैठकमा उहाँले भन्नुभयाे, ‘विश्वका अन्य मुलुक पनि शान्तिकाे पक्षमा हुनुपर्छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि सबै मुलुक बलियो भएर उभिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न उत्तर आवश्यक हुने बताउनु भयो । ‘‘द्वन्द्वको राजनीतिक समाधान खोजिनुपर्छ’ उहाँले भन्नुभयो, ‘ द्वन्द्वको राजनीतिक समाधानले दिगो शान्ति दिनसक्छ भन्ने नेपालले स्पष्टसँग प्रदर्शन गरेकाे छ ।’ प्रधानमन्त्री ओलीले नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना गर्ने ४५ अभियानमा एक लाख ३६ हजार सैनिक परिचालन गरेको जानकारी दिनुभयो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलेको ‘शान्ति स्थापनार्थ कार्य’ एक्सन फर पिसकिपिङको प्रयास यसै वर्ष मार्च २८ मा आरम्भ भएको हो । शान्ति स्थापनाका प्राप्ति तथा भोगिएका चुनौतीका विषयमा समझदारी साझेदारी गर्नु तथा स्थगलगत रूपमा शान्ति स्थापना गर्ने कार्यलाई बलियो बनाउन सदस्य मुलुकको राष्ट्रगत तथा सामूहिक वचनबद्धता नवीकरण गर्नु एक्सन फर पिसकिपिङको उद्देश्य छ ।
‘संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति साझेदारीयुक्त बचनबद्धताको घोषणापत्र’ महासचिव गुटेरेसको पहलको एक भाग हो । उहाँले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति राजनीतिक समर्थन नवीकरण गर्न प्रयास गरिरहनुभएको छ । घोषणापत्रले शान्ति स्थापनार्थ कार्यको राजनीतिक प्रभाव विस्तार गर्न र यसले दिने सुरक्षालाई बलियो बनाउन विशेष वचनबद्धता प्रकट गर्छ ।
घोषणापत्र तयार गर्न सदस्य मुलुक तथा सम्बन्धित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाबाट परामर्श लिइएको छ । शान्ति स्थापनार्थ कार्यमा सुरक्षा परिषद्का सदस्य, सेना, प्रहरी तथा शान्ति स्थापना गर्न वित्तीय सहयोग गर्ने दाता, यस्तो कार्य गराउने मुलुकका सरकार तथा क्षेत्रीय तथा उपक्षेत्रीय संस्थाको प्रतिवद्धता घोषणापत्रमा समेटिएको छ ।
शिखरबैठक कक्षमा नेपाली टोलीको रूपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी उपस्थित हुनुहुन्थ्यो । रासस