नारायण भण्डारी
शिवपुरी पर्वत काठमाडौ उपत्यकाको उत्तरमा ठिङ्ग उभिएकाे छ । वनैवनले ढाकिएको पर्वत उपत्यकाको पर्यावरणका लागि भगवान शिव नै हो । वस्तीमा वाग्मती पठाएर शिवपुरीले काठमाडौ खाल्डोमा सृष्टिको सिर्जना सम्भव बनाएका छन् । शैवत्व खोज्नेलाई शिवपुरी पर्वतराजले आफनो धुरीबाट धर्मधाम देखाएका छन् । तल उपत्यकातलमा बस्नेहरुले खोज्ने उत्थानको सोपान शिवपुरी नै हो ।
स्वास्थ्यका लागि आहार जत्तिकै आवश्यक छ विहार । हिडडुल,घुमफिर, यात्रा विहारका विभिन्न रुप हुन् । दिनभर बसेर काम गर्नेहरुका लागि विहार झन जरुरी छ । शहरी शैलीलाई पनि बेला बेलामा वनप्रवेशको दरकार पर्दछ ।विहार नदी किनारको राम्रो, ताल छेउको रमाइलो कृषिका बीचको विहार पनि मनोहारी अझ वन विहार भयो भने त उत्तम । किनकि वनको वायु परिशुद्ध । वनस्पतिको वास्ना प्राकृत,जल निर्मल, वन्यपन्छीको गान वेदपाठ जस्तै, वन्यजन्तुसंगको भेट देवताको दर्शन जस्तै, वनमा विकृति छैन कुण्ठा रहँदैन अनुर्वरता छैन । सन्तान नहुनेले पनि वनमा गएपछि सन्तान पाएका प्रसंग छन् ।
अरण्य नै अन्तिम आरोग्यशाला, भैषज्य भूमि । पूर्वको वन जंगल होइन, बर्बरता होइन असभ्यता होइन । हिमाली काखको देश नेपालको वन त ज्ञानको मूभि,शान्तिको निकुञ्ज, सिर्जनाको विपिन,शीतलताको चौतारी धर्मको धाम यायावरीको तीर्थस्थली । सनातनमा वनवास बाध्यता होइन
अरण्य नै अन्तिम आरोग्यशाला, भैषज्य भूमि । पूर्वको वन जंगल होइन, बर्बरता होइन असभ्यता होइन । हिमाली काखको देश नेपालको वन त ज्ञानको मूभि,शान्तिको निकुञ्ज, सिर्जनाको विपिन,शीतलताको चौतारी धर्मको धाम यायावरीको तीर्थस्थली । सनातनमा वनवास बाध्यता होइन आवश्यकता हो । वन पसेको व्यक्तिमा नै जीवन हुन्छ । वन बसेको जनमा नै जागृति हुन्छ । वन त ऋषिजन रमाउने र वेदवेदान्त पलाउने क्षेत्र हो बेला बेलामा वन पसौं वनविहार गरौं,आरोग्यको तीर्थ गरौं । आज भाषामा देशाटन गरौं पर्यटन गरौं ।
काठमाडौ उपत्यका वरिपरि छोटो दूरीको पदयात्रा पर्यटन, हाइकिङको राम्रो सम्भावना रहेको पाइन्छ । राजधानीका वासिन्दालाई समेत आकर्षित गर्ने गरी नुवाकोटको ककनीदेखि सूर्यचौरसम्म नयाँ हाइकिङ रुटको खोजी गरिएको छ । ३९ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा त्यो रुट सञ्चालनमा ल्याइएको हो । त्यो रुटमा ककनीबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वनखण्ड हुँदै विहार गरिन्छ ।
वनेलु बाटो हरियालीको साथ, शुरुमा केही घरवस्ती र खेतपातीका खण्ड अनि घना वन । निकुञ्जको रक्षार्थ सेनाको पोष्ट । बडा रुखको मुन्तिर छहारी जस्तो बाटामा हिड्दा वनस्पत्तिको स्पर्श, बाटो कतै खोंचमा घुसेको छ,कतै ठाडो उकालो चढेर फुत्त माथि डिस्कामा निस्केको छ । कतै पारिपारिका डाँडा देखिन्छन् । कतै अध्यारो खोपीमा पसे जस्तो त्यसमाथि कुहिराले आकाशै मेरो भनेर नजरमा नाकाबन्दी गरिदिन्छ । प्राकृतिक प्राप्ति र परिवर्तन जे होस यात्री अनवरत हिडिरहेको छ,अरोक्य छ । अवरोधमा अडकिएको छैन लस्कर लाएर वन छिचोल्दै छ ।
एक्ले दुक्लै जान नसकिने दुरुह दुर्गमा युद्ध जितेझै जनता वनको झाडीबाट चौरमा आयो अरण्य काण्ड पार भयो । झिण्डै तीन घण्टा पदयात्रा गरी नुवाकोटकै सूर्यचौर ऊ अवतरित भयो । चौरमा ऊ रमाउनसम्म रमायो । खुशीमा कसैले बाजा बजाए, नाच देखाए,माला लगाए,टीका सजाए कसैले माइक समाए,नेताले जानेको काम भाषण सुनाए । चौरलाई पर्यटनको चौतारी बनाउने दाम कमाइको घट्ट नै चलाउनेसम्मको शब्द प्रसारण भो एफएम बजेझै योजनाका कल्पना कहियो । अन्तमा विहार पछिको आवश्यकता आहारको भाँडो खुल्यो जनताले सपनाको शब्द भुल्यो ।
अन्तमा विहारपछिको आवश्यकता आहारको भाँडो खुल्यो, जनताले सपनाको शब्द भुल्यो
घर फर्कंदा उसले पर्यटन विकासका सम्भावनाबारे सोचियो । काठमाडौको केन्द्रबाट १३ किलोमिटर उत्तरमा पर्ने सूर्यचौर खुला गन्तव्य आकाश र हिमालय हेर्ने उपयुक्त थलो । राजधानी नजिकको निकुञ्ज । अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वमै सर्वाधिक नजिकको निकुञ्ज, यसमा कतिको पाइलै पुगेको छैन । राजधनीमै बसेर पनि शिपुरी नपुग्ने कति छन् कति । नजिकको तीर्थ हेलामा भने झै चितवन बर्दिया, खप्तड निकुञ्ज जान निस्कने नगरवासी शिवपुरी जाने कहिले ? वाग्मतीको माइतीघर चिन्न जाने कहिले ? शिवपुरीको शिरमा पुगेर शान्ति पाउने कहिले ? आजै साइत सार्रौ । स्वास्थ्यका लागि नजिकको निकुञ्जमा पुगौं ।
विश्व पर्यटन दिवस मनाउँदा नेपालको पर्यटन प्रचारको पनि प्रयास गरिएको छ । देशमा विश्वजन बोलाउने विविध उपाय गरिएको छ ।नेपालमा हाइकिङको प्रचुर सम्भावना रहेको र त्यस्ता रुटको खोजी गरी पर्यटक आकर्षित गरिने योजना अघि सारिएको छ । यस्ता पदमार्गको यात्राले पनि देशमा पर्यटकको आगमन बढाउन सकिने पर्यटनकर्मीहरुको विश्वास छ ।
वनले पानी दिन्छ,औषधि दिन्छ,सुन्दरता दिन्छ , आशा दिन्छ , सुखशान्ति दिन्छ, देशलाई समृद्धि दिन्छ
पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संगठन, ट्रेकिङ एजेन्सिज अशोसियशन अफ नेपालले यस्ता रुटको प्रवर्धनमा प्रयास गर्ने भएको छ ।सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने योजना अघि सारेको सन्दर्भमा नयाँ नयाँ गन्तव्य र उत्पादनको खोजीले यसलाई सफल बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । यो हाइकिङ रुट छोटो समय नेपाल घुम्न चाहने पर्यटकलाई बेच्न सकिने प्यकेज बन्नेमा व्यवसायीहरु विश्वस्त छ । यो बाटा पर्यटनका लागि मात्र होइन सिर्जनाको सुन्दर काव्यस्थली नै हो । लेखन, छायाँकन, सुन्दर कल्पनाका लागि पनि ककनीको यात्रा प्रेरणादायी बन्न सक्छ । उपवनमा फुलेका वनकुसुमले मनमा भावनाको जमरा उमार्न सक्छ ।जगतमा जसले जे खोज्छ त्यो उसले वनबाटै पाउँछ ।
वन त प्रत्यक्ष वरदान दिने सम्पदाको मन्दिर । वनले पानी दिन्छ,औषधि दिन्छ,सुन्दरता दिन्छ , आशा दिन्छ , सुखशान्ति दिन्छ, देशलाई समृद्धि दिन्छ । राष्ट्रको जिउँदो धन पलाइरहेने सम्पन्नता र सधैं सधैंका सन्तान दरसन्तानलाई आरोग्य दिने र पुर्खाले सन्ततिलाई उपहार दिने महान् सम्पदा, नित्य निधि वन पसेर यसको वास्तविकता आत्मसात् गरौं र वनविहारमा मन लगाऔं ।