चितवनको यात्रामा पोखराको धक्का

लक्ष्मण शर्मा
कास्की । पीपीएल क्रिकेटको उपाधि दाबेदार चितवन टाइगर्स पोखरा पल्टनसँग ५ विकेटले हारेको छ ।
टस जीतेर ब्याटिङ गरेको चितवनले दिएको १ सय ४१ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको पोखराले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । पोखराको जीतमा रविन्द्रसिंहले ६५ रनको योगदान दिए । खराब सुरुवात गरेको पोखराको पारी रोहित पौडेल र रविन्द्रसिंहले सम्हालेका थिए ।
पहिलो ओभरको दोस्रो बलमा नै विकेट गुमाएको पोखराको दोस्रो ओभरमा पनि लगातार विकेट गएको थियो । दुई विकेट गुमाउँदासम्म कुनै रन जोडन नसकेको पोखराको पारीलाई रविन्द्र र रोहितले जीतको दिशा दिलाए । पोखराको जीतमा कप्तान शरद भेषवाकरले ३७ रनको बिस्फोटक पारी खेले । रोहित पौडेल १९ रनमा आउँट हुँदा बिनोद भण्डारी ४ र मेहबुव आलम ७ रनमा नटआउट रहे ।
चितवनका करन केसीले ३ र सन्नी पटेलले १ विकेट लिए । चितवनको यो लगातार दोस्रो हार हो । चितवन पहिलो खेलमा बुटवलसँग हारेको थियो । अब चितवनलाई उपाधि होडमा कायम रहँन बाँकी खेल जीत्नै पर्ने दवाब रहेको छ ।
यसअघि ब्याटिङ गरेको चितवनले पारस खडकाको ४४ र सन्नी पटेलको ४६ रन मद्दतमा चितवन टाइगर्सले पोखरा पल्टनसामू १ सय ४१ रनको लक्ष्य पेश गरेको थियो । चितवनका लागि ओपनर ब्याट्सम्यान हरिशंकर साहको प्रदर्शन सम्झना लायक भएन् । १२ बलको सामना गरेका साह ३ रनमा आउँट भए । अर्का ओपनर अनिल साह १८ बल खेल्दै १६ रन बनाएर आउट भए । सोनु तामाङले २१ रन बनाउँदा करन केसी शून्य रनमा पेभिलियन फर्किए । सन्नी पटेल ४६ र स्मिथ पटेल १ रनमा नटआउट रहे ।
पोखराका बिक्रम भूषालले २ विकेट हात पारे । ३ ओभर बलिङ गरेका भूषालले ३३ रन खर्चिए । ४ ओभर बलिङ गरेका मेहबुब आलमले १ विकेट हात पार्न ४३ रन खर्चे । पोखराका लागि मोहम्मद नाभिद निकै किफायती बलर साबित भए । ४ ओभर बलिङ गरेका नाभिदले १ विकेट लिएर १७ रन दिए । १ ओभर बलिङ गरेका कप्तान शरद भेषवाकरले १ विकेट लिएर मेडन ओभर फाले । यसअघि आजै भएको खेलमा काठमाडौंले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो ।