बुटवलको अपराजित यात्रामा विराटनगरकाे झड्का

लक्ष्मण शर्मा
कास्की । मोहम्मद जाइद आलमको लगातार दोस्रो खेलमा अर्धशतकिय पारी । सन्दीप लामिछाने र किशोर महतोको महत्वपूर्ण बलिङको मद्वतमा विराटनगर टाइटन्सले पीपीएल क्रिकेटमा पहिलो जित निकालेको छ ।
लगातार तीन खेलमा पराजित हुँदै अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनाएको विराटनगरले निकै बलियो प्रतिद्वन्दी बुटवललाई १२ रनले पराजित गर्यो । विराटनगरका किशोर महतोले टिमको लागि निकै किफायती बलिङ गरे । ४ ओभर बलिङ गरेका महतोले १ ओभर मेडन राख्दै १२ रन खर्चेर महत्वपूर्ण २ विकेट हात पारे । ४ ओभर नै बलिङ गरेका सन्दीपले २४ रन खर्चेर २ विकेट लिए । साहब आलम र सुनिल धमलाले समान एक एक विकेट हात पारे ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको बुटवलका लागि भिम सार्कीले अर्धशतकिय पारी खेले । ४२ बल खेलेका सार्कीले १ छक्का र ४ चौका हान्दै ५० रन बनाउँदा रन आउट हुन पुगे । बुटवलका सिद्वान्त लोहनी पनि १५ रन बनाउँदा रन आउट हुन पुगे । सागर पुनले २९ र शंकर रानाले २३ रन बनाए ।
पहिला ब्याटिङ गरेको विराटनगरका लागि मोहम्मद जाइदले ७२ र प्रदीप ऐरीले ४१ रनको योगदान दिए । मोहम्मद जाइदको यो लगातार दोस्रो अर्धशतक हो । निर्धारित २० ओभरमा १ सय ४० रन बनाउन ७ विकेट गुमाएको विराटनगरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बुटवलका ललितसिंह भण्डारीले २, विपिन खत्री, संसद सेख र सागर पुनले समान एक एक विकेट लिए । मोहम्मद जाइद आलम प्रतियोगिताको प्लेयर अफ द म्याच घोषित भए ।
यसअघि आजै भएको खेलमा अघिल्लो चरण प्रवेशका लागि जीत्नै पर्ने खेलमा चितवन राइनोजले एक्स्पर्ट धनगढीलाई १ सय २६ रनको ठूलो अन्तरले पराजित गरेको छ । १ सय ९४ रनको चुनौतीका साथ मैदान उत्रेको धनगढी १६.२ ओभरमा ६७ रनमात्र बनाउन सक्यो । धनगढीका लागि पीडि ट्रेगोले २७ र योगेन्द्रसिंह कार्कीले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन ।
धनगढीका ओपनिङ ब्याटसम्यान दिलिप नाथ र दन लोयर्सल शुन्य रनमा आउट भए । धनगढीका दिपेन्द्रसिंह ऐरी १ रनमा पेभिलियन फर्किदा, सन्दीप जोराले ८ रनमात्र बनाउन सके । सन्दीप सुनार १, सौरभ खनाल ८ रन बनाएर आउट भए । मंजित श्रेष्ठले २ रन बनाउँदा रविन क्षेत्री शुन्य रनमा आउट भए कमलसिंह ऐरि शुन्य रनमा नट आउट रहे ।
चितवनका सन्नी पटेलले सर्वाधिक ४ विकेट लिए । स्मिथ पटेल र भुवन कार्कीले दुई दुई विकेट लिदा शक्ति गौचन र करन केसीले समान एक एक विकेट लिए । टस हारेर ब्याटिङ गरेको चितवनका लागि ओपनिङ ब्याटसम्यान हरिशंकर शाह र अनिल शाहले महत्वपुर्ण पारी खेले । हरिशंकरले ३३ बलमा ५३ तथा अनिलले ३४ बलमा ३३ रन हाने । १० ओभरमा एक सय रन पुरा गरेको चितवनका लागि आरिफ सेखले रन बनाउन सकेनन । उनी रन आउट हुन पुगे ।
पारश खडकाले ९ बलमा १९ रनको योगदान गर्दा स्मिथ पटेलले १७ बलमा २४ रन बनाए । सन्नी पटेल २६ रन र करन केसी ११ रनमा नटआउट रहे । धनगढीका लागि कप्तान दिपेन्द्रसिंह ऐरी, योगेन्द्रसिंह कार्की, डन लोयर्सल र मंजित श्रेष्ठले समान एक एक विकेट लिए । चितवनका सन्नी पटेल प्रतियोगिताको प्लेयर अफ द म्याच घोषित भए । पीपीएल क्रिकेटको उपाधि दाबेदार चितवन टाइगर्स यसअघि पोखरा पल्टनसँग ५ विकेटले र बुटवल ब्लास्र्टससँग ७० रनले हारेको थियो ।