–प्राज्ञ गोपीरमण उपाध्यायप्रस्तोता, दर्शन दिग्दर्शन, जनता टेलिभिजन
‘सन १९६७ को कुरा हो, वनारसमा थिएँ, साथीहरुले मैदागिन चोक जाउँ भने,’ ७३ वर्षीय प्राज्ञ गोपीरमण उपाध्यायले सुनाउनु भयाे, ‘अचेल मैदागिन चोकमा बाकसमा मान्छ नाच्छ, १ रुप्पे आइसी तिरेर हेर्नेको भिड छ ।’
उपाध्याय अचम्ममा पर्नु भयो । बाकसमा मान्छे कसरी नाच्छ ? साथीभाइले जाउँ भनेपछि त्यतै लाग्नु भयो । त्यहाँ एउटा बाकसमा साँच्चै मान्छे नाचिरहेको थियो । एक रुपैयाँ भारतीय (आइसी) तिरेर मान्छे बाकसमा नाचिरहेको हेरिरहेका थिए । त्यो बाकस अर्थात् उपाध्यायले पहिलोपटक टेलिभिजन भारतको बनारसमा देख्नु भएको थियो । श्यामश्वेत (ब्लाक एण्ड ह्वाइट) टेलिभिजन हेर्नेको त्यस्तै भिड थियो पैसा तिरेर ।
आश्चर्य लाग्योउपाध्यायलाई टेलिभिजन देख्दा अचम्म लाग्यो । प्रविधिको विकासले सहज बनाएका माध्यम थियो । सन १९७० मै दिल्लीमा साथीकहाँ जाने अवसर जुट्यो । साथीकहाँ जाँदा त्यहाँ पनि टेलिभिजन थियो । एन्टेना राखेर च्यानल हेर्ने क्रम शुरु भएको थियो । यो बिल्कुल नौलो थियो । अचम्मको विषय थियो ।
टेलिभिजनमा विश्वकपभारतमा १९६७ मै बाकसमा मान्छे नाचेको हेरेको अनुभव भए पनि नेपालमा टेलिभिजन आउन समय लाग्यो । उपाध्याय सम्झनु हुन्छ, ‘सन १९८६ मा भैरहवामा दैनिक निर्णयमा हुँदा हामीले टेलिभिजनमा विश्वकप हेरेका थियौँ । प्रतापकुमार भट्टचनको घरमा ब्लाक एन्ड ह्वाइट टेलिभिजनमा विश्वकप हेरेका थियौँ । म्याराडोनाले हातले गोल गरेको त्यही विश्वकप थियो ।’ पछि भैरहवाकै बर्मेली टोलमा रंगीन भिडियो देखाउन शुरु भयो । ५ रुपैयाँ तिरेर भिडियो देखाउन थालिएको थियो ।
पहिलो रंगीन टेलिभिजन२०४४ सालतिरको कुरा हो, भैरहवाकै गाउँमा थियौँ । गाउँका पुष्पराजजीले टेलिभिजन किन्नु भयो । रंगीत टिभिी थियो त्यो । उहाँले टिभी ल्याउनु भएपछि गाउँभरिका मान्छे टिभी हेर्न आउँथे । घर त फिल्म हलजस्तै खचाखच हुन्थ्यो । रंगीन टिभीको पहिलो अनुभव त्यही थियो ।
किनिएको पहिलो टेलिभिजनअरुकहाँ टिभी देखेको हेरेको भए पनि घरमै चैँ टिभी थिएन । पछि काठमाडौं आएपछि किसान नेता केशवलाल श्रेष्ठले तपाईंजतिको मान्छे टिभी राख्नुस् भनेर एउटा ब्लाक एण्ड ह्वाइट टिभी किनिदिनु भयो । त्यो टिभी घर भित्रिएको पहिलो टिभी थियो । २०५५ सालतिर छोराछोरीले टिभी किने, त्यो रंगीन टिभी थियो ।
पहिलोपटक टिभीमा बोलेको‘बाकसमा मान्छे नाचेको, बोलेको, विश्वकप त हेरियो तर आफूलाई चैँ टिभीमा बोल्ने आँट पनि थिएन, जानकारी पनि थिएन,’ उपाध्यायले भन्नु भयो, ‘कसरी बोल्ने, के बोल्ने थाहै थिएन, आँट पनि आएन, डर पो लाग्थ्यो ।’ घरघरमा टिभी मात्र होइन, अब त गाउँमै टेलिभिजन स्टेसन पनि खुल्न थालेका थिए । उपाध्यायले भन्नुभयो, ‘भैरहवाकै लुम्बिनी टेलिभिजनमा बोल्नु प¥यो भनेर खबर आयो, सिद्धिचरण भट्टराई र दिनेश पाण्डेले पटकपटक बोलाउनु भयो, शुरुमा त गइनँ, पछि गएर बोलेँ, सजिलै हुँदोरहेछ ।’ भन्नुभयो, ‘मलाइ टेलिभिजनमा बोल्न दिने श्रेय सिद्धिजी र दिनेशजीलाई जान्छ ।’ पछि त अरु टिभीमा पनि बोल्न थालियो ।
टेलिभिजन खोल्ने कुरा‘कहाँ पाएर टिभी खोल्ने कुरा हुनु ?’ उपाध्यायले भन्नुभयो, ‘२०६८ मा शिक्षकबाट अवकाश लिएपछि काठमाडौंमै बस्न थालियो । यहीक्रममा प्रज्ञा प्रतिष्ठानमा एउटा अनुसन्धानको प्रस्ताव पारित भयो, त्यो अनुसन्धान लामो भएछ, केही भाग प्रज्ञाबाट प्रकाशन भयो, बाँकी भाग माइलस्टोनबाट प्रकाशित भयो । यही क्रममा माइलस्टोनबाटै पछि टेलिभिजनसम्म चलाउने कुरा भयो । रुपन्देहीमा पार्टी काममा लाग्दा मेरो जिल्ला सचिव नै हुनु भएका डा. विजय पौडेलले यो कुरा सुनाउनु भयो । हामी लाग्यौँ पनि । यो मेरो कल्पनाको कुरा थिएन तर अहिले जनता टेलिभिजन प्रसारणमा छ ।
दर्शन दिग्दर्शन शोजनता टेलिभिजनमा हरेक बिहान ६ः३० मा प्रसारण भएको कार्यक्रम दर्शन दिग्दर्शनमा ७३ वर्षीय गोपीरमण उपाध्याय प्रस्तोता हुनुहुन्छ । यो कार्यक्रमको नाम नै राहुल सांस्कृत्यायनको कृतिसँग मिल्छ । ‘मलाइ लाग्छ, यो कार्यक्रम मेरै लागि टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलजीले डिजाइन गर्नु भएको हो,’ उपाध्यायले भन्नुभयो, ‘मेरो कार्यक्रममा भाग्वाद, अन्धविश्वास, महिलाको अपमान, पुर्पुरोमा विश्वास, परमेश्वरको कृपा, राजाको स्तुति, परलोक, पुनर्जन्मबारे चर्चा हुँदैन । गर्दिनँ पनि ।’
https://www.youtube.com/watch?v=gBq-9L9nui0&t=17s
कार्यक्रम हेरेर प्रतिक्रिया आइरहेका छन् । बिहान उठेर इन्सुलिन लिनु पर्छ । ६५ वर्षकी पत्नी टुकुमारीको अगाध साथ र सहयोग छ । परिवारले उस्तै सहयोग गरेका छन् । ‘सकुन्जेल यो कार्यक्रम चलाउँछु, मपछि चलाउनेले पनि यही मर्ममा चलाउँछन् भन्ने विश्वास छ,’ उपाध्यायले भन्नुभयो, ‘प्राच्य विद्या विज्ञानको पुराना र सकारात्मक कुरा, अनुसन्धान, दर्शन, नीतिशास्त्र, मानव जातिको इतिहासको कुरा कार्यक्रमका विषयबस्तु हुन् । पुरेत्याइँ र रुढिवाद हटाउनु पनि छ ।’
(नेपाली टेलिभिजन इतिहासमा ७३ वर्षमा पनि दैनिक कार्यक्रम चलाइरहनु भएका सक्रिय अध्येता, ज्ञाता, विज्ञ, प्राज्ञ गोपीरमण उपाध्याय जनता टेलिभिजनका सञ्चालक सदस्य पनि हुनुहुन्छ । उपाध्यायको टेलिभिजन अनुभवको सामग्री प्रस्तुत ग¥यौँ । उहाँले जनता समाचार डटकमका सम्पादक रामकुमार एलनसँग आफ्ना भोगाइका धेरै अन्तरकुन्तर व्यक्त गर्नु भएको छ । नेकपा एमालेको प्रमुख विभाग मानिने पार्टी स्कुल विभागमा २०५२ देखि लगातार सदस्य रहनु भएका उपाध्यायले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसँग केन्द्रीय कार्यालयमा सहायक भएर काम गर्नु भएको हो । उहाँले पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, सिपी मैनाली, जीवराज आश्रित, झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओलीसँग काम गर्नु भयो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलेसमेत ‘गोपी गुरू’ भनेर सम्बोधन गर्नु हुने उपाध्यायका सम्झनाहरु क्रमशः प्रकाशित गर्दै जानेछौँ । –सम्पादक)