पीपीएलः रोचक प्रतिस्पर्धा, ढुकढुकी अन्तिम ओभरसम्म..

लक्ष्मण शर्मा
कास्की । शनिबारको दिन, लिग चरणका अन्तिम खेल अनि जुन सुकै टिम पनि अघिल्लो चरण जान सक्ने सम्भावना । यसै त प्रकृतिले ठाटिएको पोखरा रंगशाला, त्यसमाथि क्रिकेटको यो रोचक प्रतिस्पर्धा । दर्शकले भरिएको रंगशाला, खेलाडीलाई जीत्नै पर्ने दवाब । पीपीएल क्रिकेट अन्र्तगत लिग चरणको अन्तिम खेल चलिरहँदा अवस्ता यस्तै थियो । अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्नका लागि खेल जीतेर मात्र होइन अन्य टिमको नतिजाले पनि प्रभाव पार्ने भएपछि प्रतिस्पर्धा झनै रोचक बनेको थियो ।
यस्तो प्रतिस्पर्धाबाट पोखरा पल्टन र चितवन राइनोज भाग्यमानि साबित भए । अनुकुल नतिजा निकाल्न सकेको पोखरा पीपीएलको फाइनलमा प्रवेश गर्यो । पोखरा रंगशालामा टस जीतेर फिल्डिङ राजेको पोखराले काठमाडौंविरुद्व पाँच विकेटको जीत हात पार्यो । यदि आजको खेलमा पोखरा काठमाडौंसाग हारेको भए काठमाडौं सिधै फाइनलमा प्रवेश गर्ने थियो र अन्य सबै टिमको अघिल्लो चरण प्रवशेको सम्भावना कायम रहने थियो । यस्तोमा विराटनगर टाइटन्स पनि रनरेटको आधारमा अघिल्लो चरणमा पुग्न सक्यो तर त्यसो भएन् । पोखरा पल्टनसँगको खेल पूर्व तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौं अन्तिम खेलमा हार्न पुग्दा सिधै फाइनल प्रवेश गर्ने मौकाबाट बञ्चित भयो ।
खराब प्रदर्शनबाट प्रतियोगिताको शुरुवात गरेका चितवन राइनोज र विराटनगरको खेल पनि हेर्न लायक बन्यो । राष्ट्रिय टोलीका कप्तानको नेतृत्वमा रहेको चितवन र लेग स्पिनर सन्दीप लामिछानेको नेतृत्वमा मैदान उत्रेको विराटनगरको खेलले धनगढीलाई पनि असर पार्ने भएपछि यो खेल निकै रोचक बन्यो । सन्दीप चम्केको खेलमा चितवनका सन्नी पटेल आक्रामक रुपमा प्रस्तुत भएपछि अन्तिम ओभरमा विराटनगर चितवनसँग स्तब्ध भयो । चितवनको जीतेसँगै धनगढीको अघिल्लो चरण जाने सम्भावना सकियो । लगभग आश मारेको खेलबाट अघिल्लो चरण प्रवेश गर्न पाउँदा चितवन भने निकै उत्साहित देखिएको थियो । प्रतियोगितामा निकै उत्कृष्ट शुरुवात गरेको सोमपाल कामी नेतृत्वको बुटवल ब्लास्र्टस पनि अन्तिम तीन खेलमा पराजय भोगेसँगै प्रतियोगिताबाट बाहिरियो ।
अनुभवको बर्चस्व
पीपीएल क्रिकेटमा लिग चरणका खेल सकिदा अनुभवी कप्तानको प्रभाव स्पष्ट देखिएको छ । राष्ट्रि टोलीका कप्तान पारश खड्का , उपकप्तान ज्ञानेन्द्र मल्ल र अनुभवी खेलाडी तथा राष्ट्रिय प्रतियोगिताका सफ कप्तान शरद भेषावकरको नै राम्रो प्रभाव रह्यो । राष्ट्रिय प्रतियोगितामा पहिलो पटक कप्तानी गरेका सन्दीप लामिछाने प्रतियोगिताका सबैभन्दा कमजोर कप्तान सावित भए । जब उनमा कप्तानसीपको अनुभव बढ्यो उनको टिमले अनुकुल नतिजा निकाल्न सफल भएको थियो । सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले नेतृत्व गरेका टिम पनि यो प्रतियोगिताबाट बाहिरिए । तर यो लिगले नेपाली क्रिकेटमा भावी कप्तानको रुपमा केही प्रतिभा भने जन्माएको छ ।