२०१४ सालतिर त्रिचन्द्र कलेजका समकक्षी रुपचन्द्र बिष्टसँग पद्यरत्न तुलाधारको धार र लय बहुदलकालीन समयमा पनि मिल्दोजुल्दो नै रह्यो । तर, बिष्ट भन्दा तुलाधारको स्वभाव र शैली अरू फरक थियो । दुवै जनपक्षीय उम्मेद्वारका रुपमा राष्ट्रिय पञ्चायतमा निर्वाचित भए ।
[caption id="attachment_74352" align="alignright" width="150"]
–सइन्द्र राई[/caption]
कुनै दिन– पञ्चायत चल्दै थियो, तुलाधार रुन थाले । अनि, रुदाने अर्थात् रुपचन्द्र बिष्ट बोल्न थाले– लेख्न खोज्दा यो व्यवस्था हात समात्छ अनि बोल्न खोजे मुख थुनिदिन्छ । अब, मान्छे नरोएर के गर्छ ? थाहा चाहियो !
अर्थात्, रुदाने भन्दा तुलाधार धेरै नै कोमल स्वभावका थिए । सार्वजनिक मञ्च र भाषणहरुमै तुलाधार भावुक बन्थे अनि रोइहाल्थे । तर, संकल्पमा जुन दृढता थियो, तुलाधारले जीवनको उतरार्धसम्म पनि त्यागेनन् ।
बहुदलअघि, पञ्चायतसँग लडे । वाम र कांग्रेसको संयुक्त मोर्चा बनाएर २०४६ को जनआन्दोलन सफल पार्न अग्रमोर्चा उभिए । बहुदल स्थापनापछि तुलाधारको परिचयमा भाषिक आन्दोलनकर्ताबाट वामको रंग देखियो ।
पञ्चायतले आफूलाई दिएको सूर्य निर्वाचन चिन्ह एमालेले संस्थागत ग¥यो, २०४८ र २०५१ मा सूर्य चिन्ह लिएरै तुलाधारले निर्वाचन जिते ।
धेरैको मनमस्तिस्कमा छाप बनाएको नौमहिने मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारमा तुलाधार श्रम तथा स्वास्थ्यमन्त्री बने । तर, तुलाधार एमाले बनेनन् र टाढा पनि रहेनन् । २०५४ मा एमाले विभाजित भइरहँदा वाम आन्दोलन कमजोर बन्ने आँकलन गर्दै यसलाई रोक्न तुलाधारले थुप्रै पहल गरे पनि सफल भएनन् ।
यसपछि सशस्त्र आन्दोलन गरिरहेको माओवादी भएको आरोप खेपेका तुलाधार युगान्तकारी परिवर्तन गर्ने २०६२/०६३ को जनआन्दोलनमा पनि अग्रमोर्चामै रहे । १२ बुँदे सम्झौतामार्फत् राजतन्त्र अन्त्य गर्ने सफल पहलकदमी लिएका तुलाधार फेरि पनि माओवादी चाँही बनेनन् ।
तुलाधार आफूलाई रेडिकल मान्थे र जो तुलनात्मक बढी रेडिकल लाग्थ्यो । तुलाधार उतैतिर उभिन्थे । उनको रेडिकलनेस कुन हदसम्म थियो भन्ने प्रमाण त ‘तुलाधारले गरेको भाषण ब्ल्याकमा बिक्री हुन्थ्यो’ भन्नैबाटै प्रस्ट हुन्छ ।
पहिलो पुस्ताकै कम्युनिस्टदेखि वर्तमान नेताहरुसम्मको संगत र सहकार्य गरेका तुलाधार पछिल्लो समय समानुपातिक र समावेशी आन्दोलनको नेतृत्व गरिरहेका थिए ।
र, उनकै निष्कर्षमा यो आन्दोलनले गति लिन चाँही सकेको थिएन । तर, सत्तासँग आजीवन संघर्ष गरेका तुलाधार अब लौकिक दुनियाँबाट सदाका लागि बिदा भएका छन् । उनकै भाषामा रेडिकल सलाम, पद्मरत्न तुलाधारलाई । तस्बिरः नेपालखबरबाट साभार ।