लक्ष्मण शर्माकास्की । घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशी भएको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको उपाधि पोखरा पल्टनले हात पारेको छ ।
फाइनलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा पल्टनले उपाधि हात पारेको हो । घरेलु टोली पोखरालाई जीत दिलाउने क्रममा भारतीय खेलाडी रविन्द्रसिंह नायक बने । सिंहले ५८ बलमा १३ चौका र ३ छक्काको मद्धथले ९० रन बनाए । जितका लागि १ सय ६१ रनको लक्ष्य लिएर मैदानमा उत्रेको पोखराले अन्तिम समयमा गएर केही लय बिगारेको थियो ।
पोखराका लागि कुशल भुर्तेलले ४, आसिफ सेख १२, मोहम्मद नाभी २५, शरद भेषावकर २२ रनमा आउट भए । बिनोद भण्डारी ५ रनमा नटआउट रहे । चितवनका लागि भुवन कार्कीले २, करन केसी, पारस खडका र सन्नी पटेलले समान एक एक विकेट लिए । यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १६० रन जोड्न सक्यो ।
चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । कप्तान पारसले ३७ बलमा ९ चौकासहित ५१ रन जोडे । रन आउट हुनुअघि पारसले दोस्रो विकेटका लागि अनिल कुमार साहसंग ७६ रनको साझेदारी गरे । अनिल ३७ रनमा आउट भए । सन्नी पटेलले ४३ रन जोड्दा आरिफ शेखले १४ रन बनाए । पोखराका लागि कृष्ण कार्कीले २ विकेट लिदा मोहमद नाभिद र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।
विजेता पोखराले २७ लाख प्राप्त गर्नेछ भने उपविजेता चितवनले १० लाखमा चित्त बुझाउनेछ ।प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन । कात्तिक ९ गतेबाट शुरु भएको प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो ।