‘हामी बनाउँदैछौँ नेपाललाई’

डा. भीम खतिवडा

कति मीठा तिम्रा शब्द, बिम्ब र भाका
कति सुन्दर कला,
तिख्खर विचारको गुदी,
पढिरहूँ, सुनिरहूँ लाग्ने
गोधुलि साँझजस्तै
शान्त तर सघन,
जूनजस्तै उज्याला दृश्यहरू,
बिहानको आकाशजस्तै निर्मल,
मनको घाम झलमल्ल बनाउने,
तिम्रा सिर्जनाहरू, अहा !

फूलका कुरा गरेनौ हो,
ओठका कुरा गरेनौ हो,
पसिनाका मोतीको गीत बनायौ,
आमाका आँखाको सपना सजायौ,
किन बेचिन्छन् चेलीहरू,
किन मारिन्छन् बिरामीहरू,
लाखौँ पाखुराहरू दूर बगरमा,
तीसौँ तलाको निर्माणमा,
वर्षौँदेखि हेलिएका छन्,
सिमानाका जङ्गेखम्बाहरू,
चल्मलाइरहन्छन् रातबिरात,
मेची र काली, हिमाल र बुद्ध
बोकेपछि सत्ताका काँध गल्छन्,
छातीको कित्ताका साँध गल्छन्
थर्थराउँछन् खुट्टा स्वाभिमानका
भन्थ्यौ शब्दशब्दमा तिमी,
पाखुराहरूको कसम,
पसिना रोप्ने अवसर देशमै हुनेछ,
खुसी खोज्न आफ्नो र आफन्तको
बाआमाले छोराछोरीलाई
पर्खिरहेकै पल
बाकसमा भेट्नुपर्ने छैन भन्थ्यौ,
अहा, तिम्रा शब्दशब्दमा
आँखा जोतेर हामी,
हिमाल बनाउँथ्यौ छातीमा,
तिमी हाकाहाकी लेखिरहन्थ्यौ
यो देश हामीले बनाउने हो,
हामी आफ्ना बलशाली काँधप्रति गर्व गर्थ्यौं,

कविजी ! आठमहिनादेखि,
कुइन्टलौँ सुनजस्तै हरायौ,
निर्मलाको न्यायजस्तै बेपत्ता भयौ,
हजुरबाआमाका आशाजस्तै गायब भयौ,
कोटमा नोट टल्केको देख्दा,
बारीमा हात्ती पल्केको देख्दा,
तिमी याद आइरहेछौ,
सहिदपत्नी विधवा आमाहरू,
युद्धाहत तनमन बाबाहरू,
बलात्कृत नानीहरू,
बलात्कृत स्वाभिमानहरू,
असरल्ल बिस्कुन लागेका छन्
विसङ्गत बनिरहेछ वर्तमान
करको करकर छ,
तावाबाट सपनाहरू हावातिर सरिरहेछन्,
काका र बडाबाहरू कराइरहेछन्
तिनका भाकाहरू हराइरहेछन्
करोडका गाडीसँगै,
घुँडे सलाम र आशीर्वाद छ,
बैठक छन्, निर्णय र भत्ता छ,
जनताबाहेक सबैसँग सत्ता छ,
एकता भएको छ नेताहरूमा,
बेपत्ता भएको छ सिलसिला,
मुस्कुराउनेहरू गाडीमा छन्,
सुँक्सुँकाउनेहरू झाडीमा छन्,
सबै छन्, तथापि फगत्
कतै तिमीलाई नदेख्दा
अचम्मित छौँ हामी हिजोआज,
ए कवि, तिमी हराएका हौ कि
तिम्रो जिब्रो र हात हराएको हो,
झन्डामा बेरिएर तिमी
बिलायौ किन यसरी ?

प्रिय साथी !
तिम्रा कुरा सत्य हुन्
म देश बनाउने तयारीमा छु,
म तिम्रा सपना सजाउने तयारीमा छु,
म बोल्न भ्याउँदिन अहिले सुन,
सुकर्मका योजनामा तल्लीन छु,
पर्ख तिमी पनि किनकि,
अहिले मेरै सरकार छ,
त्यसैले,
मैले बनाउनु छ नेपाल,
हामीले बनाउनु छ नेपाल,
तर,
मैलेभन्दा छिटोछिटो
मारुती सिमेन्ट भनिरहेछ,
‘हामी बनाउँदैछौँ नेपाललाई’
मलाई त मौकै दिँदैन कि कसो !

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…